औद्योगिक क्षेत्रको जग्गामा अतिक्रमण बढेपछि निषेधाज्ञा

बुटवल १७ र १८ मा पर्ने औद्योगिक करिडोरको नाममा रहेको जग्गा कब्जा गरेर संरचना निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको जनाएको छ।

नेपालभ्युज

औद्योगिक क्षेत्रको जग्गामा अतिक्रमण बढेपछि निषेधाज्ञा

बुटवल। रूपन्देहीको बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ।

बुटवल १७ र १८ मा पर्ने औद्योगिक करिडोरको नाममा रहेको जग्गा कब्जा गरेर संरचना निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग निषेधित क्षेत्र घोषणा गरेको छ।

निषेधित क्षेत्र पूर्व तिनाउ नदी (बुटवल उपमहानगरपालिका वडा नंं १७ शिवनगर देखि वडा नं १८ सौरहिया पुल सम्म), पश्चिम हरिहरपुरको खोतियोग्य जमिन, बुटवल उपमहानगरपालिका वडा नं १७, उत्तरतर्फ शिवनगर रानीगाउ बस्ती बुटवल उपमहानगरपालिका वडा नं १७, दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहिया सम्म) तोकिएको छ।

बुटवल-१७ का वडाध्यक्ष सन्तबहादुर रानाले सुकुमबासीका नाममा ओद्योगिक क्षेत्रको जग्गा अघिल्ला वर्षहरूदेखि नै अतिक्रमण भइरहेको जनाए। “रातिमा प्रशासनले गस्ती गरेर साध्य नै नहुने अवस्थामा पुगेको थियो। तिनाउदेखि पश्चिमका उकास क्षेत्रमा बाहिरी मानिसहरू आएर जग्गा कब्जा गरिरहेका थिए,” उनले भने, “जग्गा मिलाइदिने भनेर पैसा उठाउने गिरोह नै यहाँ सक्रिय छन्।”

केही दिनअघि जग्गा मिलाइदिने भन्दै स्थानीयसँग पैसा असुल गरिरहेका गिरोहलाई प्रहरीले पक्राउ गरेको थियो। ‘उजीरसिंह नगर नयाँ बस्ती विकास परिषद्, बुटवल रुपन्देही’को नाममा फर्जी बिल बनाएर स्थानीयसँग दुई-दुई सय रुपैयाँ उठाउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।

प्रवक्ता थापाका अनुसार स्याङ्जाका सोनु थापा, रुरु-१ गुल्मीका गोविन्द विक, मदाने गुल्मीका भूपाल सिंह घर्ती र मदानेकै कमला पन्थीलाई पक्राउ गरिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले औद्योगिक क्षेत्रको जग्गामा अवैध रूपमा अतिक्रमण हुने जोखिम बढेकाले निषेधाज्ञा जारी गरिएको बताए। ‘निषेधित क्षेत्रभित्र निषेध गरिएका क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुन्छ,” उनले भने। जग्गामा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले भने विरोध गर्दै आएका छन्।

मोतिपुरको ९ सय ४६ विगाह क्षेत्रफलमा फैलिएको जग्गामा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ओद्योगिक क्षेत्र निर्माणको काम बढाएको छ। स्थानीयको विरोध र ढुंगामुढाबीच एमाले नेता विष्णु पौडेलले गत फागुन २१ गते औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved