एजेन्सी। इंलिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको चेल्सी र तेस्रो स्थानको लिभरपुलले २–२ गोलको बराबरी खेलेका छन्। यसको प्रत्यक्ष फाइदा शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई मिलेको छ।
घरेलु मैदान स्ट्याम्फ्रडब्रिजमा २–० ले पछि परेको अवस्था उल्ट्याउँदै चेल्सीले खेल बराबरी गरेको हो। सेडियु मानेले नवौं मिनेट र मोहम्मद सलाहले २६ औं मिनेटमा गोल गरेर लिभरपुललाई बलियो अवस्थामा पुर्याएका थिए।
तर, पहिलो हाफमै चेल्सीले दुई गोल फर्कायो। माटियु कोभाकिकले ४२ औं र क्रिष्ट्रियन पुलिसिकले ४५ प्लस एक मिनेट (पहिलो हाफको इन्जुरी समय) मा गोल फर्काए। दोस्रो हाफमा दुबै टिमबाट कुनै गोल हुन सकेन।
प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको २१ खेलबाट ५३ अंक छ। यस बराबरीसँगै दोस्रो स्थानको चेल्सीले समान खेलबाट ४३ अंक बटुलेको छ। एक खेल कम खेलेको लिभरपुल ४२ अंकसहित तेस्रोमा छ।
२० खेलबाट ३५ अंक बटुल्दै आर्सनल चौथो स्थानमा छ।
Facebook Comment
Comment