इलाम २ उपनिर्वाचन : मत माग्दै घरघर पुगे उम्मेदवार

नेपालभ्युज

इलाम २ उपनिर्वाचन : मत माग्दै घरघर पुगे उम्मेदवार

काठमाडौं । उपनिर्वाचन नजिकिँदै जाँदा इलाम चुनावमय बनेको छ । उम्मेदवार अहिले मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलोमा पुगिरहेका छन् । प्रतिनिधिसभा सदस्य तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि यो क्षेत्रमा १५ वैशाखमा उपनिर्वाचन हुन लागेको हो ।

उम्मेदवारबीच समर्थकसहित घरदैलो र भेटघाटमा होड चलेपछि सर्वसाधारणलाई चुनावले छोएको छ । इलाम क्षत्र नम्बर २ का गाउँ, सहर र टोलमा दल आफ्ना झन्डा र समर्थकसहित घरदैलो अभियानमा छन् ।

इलाम २ को उपनिर्वाचनमा २० जनाले उम्मेदवारी दर्ता गराएकामा एकजनाले उम्मेदवारी फिर्ता गरेका छन् ।  १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । एमालेले सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट डम्बरबहादुर खड्का उम्मेदवार छन् । यसअघि पनि उनी ०७९ को निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । पहिचानवादी बाहुल्य रहेको यस क्षेत्रमा जनता समाजवादी पार्टी, धरानका मेयर हर्कराज राईलगायतको समर्थनमा डकेन्द्रसिंह लिम्बू चुनावी मैदानमा छन् ।

उनीहरूले चुनावी प्रचार तीव्र बनाएपछि चोक, चियापसल र चौरमा सीमित चुनावी रौनक घरघर पुगेको छ । कार्यकर्ताहरू बिहानै आफ्नोदेखि आफ्नो पक्षका उम्मेदवारको प्रचारमा जुट्ने गर्छन् । उम्मेदवारले प्रचार तीव्र बनाएका छन् ।

एउटै टोलमा दिनभर फरक दलका घरदैलो सञ्चालन हुन्छन् । निर्वाचनको मिति नजिकिएपछि शीर्षस्थ नेता प्रचारमा आइरहेका छन् । एमाले अध्यक्ष ओली बुधबार इलाम पुगेका थिए ।

कांग्रेस महामन्त्री गगन थापा मंगलबार इलामा पुगेका थिए । रास्वपा सभापति रवि लामिछाने पनि इलाम पुगेर फर्किसकेका छन् ।
यसरी इलाम २ मा शीर्ष नेताहरु सर्वसाधारणको मन जित्न तँछाडमछाड छ ।

टोलैपिच्छे फरकफरक पार्टीका कार्यकर्ताको झुन्ड भेटिन्छ । सबै दल निर्वाचन अभियानमा व्यस्त छन् । आफना पक्षमा मतदाता रिझाउन लागिपरेका हुन् ।

इलाम २ मा ६ वटा स्थानीय तह छन् । इलाम नगरपालिकाको १२ मध्ये ११ वटा वडा, माई नगरपालिकाको तीन वटा वडा, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र चुलाचुली गाउँपालिका छन् ।

पहाडी जिल्ला भएका कारण उम्मेदवारलाई मतदाताको घरघरमा पुग्न निकै मुस्किल परेको छ । यद्यपि, उम्मेदवारहरू मतदाता रिझाउन घरघरसम्म पुगिरहेका छन् । मतदाताले उम्मेदवारसँग भौतिक पूर्वाधारकै कुरा उठाइरहेका छन् ।

इलाम २ मा विगतमा एमालेको वर्चस्व देखिन्छ । ०४८ यताका सात संसदीय निर्वाचनमा ६ वटा निर्वाचन एमाले जितेको छ । ०५१ मा कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले जितेका थिए ।

०४८ मा एमालेका मणिकुमार लिम्बूले निर्वाचन जितेका थिए । ०५६ यता ०७९ सम्मको पाँच संसदीय निर्वाचनमा यस क्षेत्रबाट लगातार सुवासचन्द्र नेम्वाङले जितेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved