संसदको विषयगत समितिमा आदिवासी महिला अधिकारबारे छलफल

नेपालभ्युज

संसदको विषयगत समितिमा आदिवासी महिला अधिकारबारे छलफल

काठमाडौं । प्रतिनिधिसभाको विषयगत समिति अन्तरगत महिला तथा सामाजिक मामिला समितिमा मंगलबार आदिवासी जनजाति महिला तथा किशोरीहरूको अधिकारबारे छलफल भयो ।

सुझाब एवम् छलफलका लागि समितिले बोलाइएकोमा मंगलबार राष्ट्रिय आदिवासी महिला मञ्च (निफ) का अध्यक्ष सुनी लामाको नेतृत्वमा प्रतिनिधि मण्डल सिंहदरवार पुगेको हो ।

समितिका सभापति किरण कुमार शाहको अध्यक्षतामा मंगलबार बसेको छलफलमा निफका तर्फबाट उपाध्यक्ष यसोकान्ति भट्टचनले महिला विरुद्ध सबै प्रकारका भेदभाव उन्मुलन सम्बन्धमा संयुक्त राष्ट्र सङ्घको महासभाद्वारा पारित महासन्धि (सिड) का प्रावधानहरूबारे कार्यपत्र समेत प्रस्तुत गरेकी थिइन् ।

करिव २ घन्टा लामो छलफलमा आदिवासी महिलाहरूले आफूहरूलाई संविधान शंसोधन गरेर आत्मनिर्णयको अधिकारको व्यवस्था गर्नुपर्ने विषयमा तर्क गरेका थिए । प्रतिनिधि मण्डलले समितिका सदस्यहरूसँग अन्तराष्ट्रिय कानुन बाध्यकारी भएको भन्दै त्यसको कार्यान्वयनका लागि पहल गरिदिन समिति समक्ष आग्रह गरे । समितिका सदस्य शोभा ज्ञवालीले अन्तर्राष्ट्रिय कानुनकै आधारमा संसदमा कानुन बनाउन सकिने अवस्था नभएको प्रतिक्रिया दिइन् । उनले महिला अधिकारका लागि अझैं संघर्ष गर्नुपर्ने खाँचो औंल्याइन् ।

छलफलका क्रममा समितिका सदस्यहरूद्वारा उठाइएको प्रश्नको उत्तर दिँदै निफ अध्यक्ष सुनी लामाले अधिकारको एउटै डालोमा सबै महिलालाई राख्न नमिल्ने तर्क गरिन् । लामाले अन्तराष्ट्रिय मञ्चमा नेपाल सरकारका केही प्रतिनिधिले नेपाल पूर्ण समावेसी भएको र महिलाहरूले पूर्ण अधिकार प्राप्त गरेको भन्दै गलत प्रतिवेदन प्रस्तुत गरेको  जुन आपत्तिजनक रहेको बताईन् ।

समितिका सदस्यहरू रोसन कार्की, सिताकुमारी राना, शान्ति विक, हर्कमाया विक लगायतले आदिवासी महिला तथा किशोरीहरूको अधिकारका सवालमा संविधानको संशोधन आवश्यक धारा खुलाएर सुझाव दिन समेत निफ प्रतिनिधि मण्डललाई आग्रह सुझाब दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved