चिनियाँ पलायनले कम्बोडियामा पाँच सयभन्दा बढी भूतबङ्गला

चिनियाँ पलायनले कम्बोडियामा पाँच सयभन्दा बढी भूतबङ्गला

कम्बोडिया । चिनियाँ रियल स्टेट कम्पनीहरू कम्बोडियाबाट व्यापकरूपमा पलायन भएका छन् । कम्बोडियाली समुद्र किनार क्षेत्रमा चिनियाँ कम्पनीले छोडेका सयौं अर्धनिर्मित रिसोर्ट परियोजना अलपत्र परेका छन् ।

यस्ता कंक्रिट-कङ्कालमध्ये एक भवन पान सोम्बो स्वामित्वको टुक्रा जग्गामा छ । ५१ वर्षीय सोम्बो स्थानीय प्राथमिक विद्यालय शिक्षक हुन् । उनले पूरा हुने सम्भावना नभएको अग्लो भवनलाई हेर्दै भने— यो त बिल्कुलै अकल्पनीय भयो ।

सन् २०१९ मा कम्बोडियामा अभूतपूर्व घरजग्गा कारोबार थियो । त्यही बेला एक चिनियाँ लगानीकर्ताले १० तले अपार्टमेन्ट निर्माणको प्रस्ताव राखे । लगानीकर्ताले ती शिक्षकको ७५० वर्ग मिटर खाली जग्गा प्रयोग गर्न चाहेका थिए ।

लगानीकर्ताले यो वचन दिएका थिए कि भवन सन् २०२१ मा पूरा हुनेछ । जग्गाको प्रयोगबापत् शिक्षकले प्रतिमहिना ५ हजार डलर पाउनेछन् । यो शिक्षकको तलबभन्दा १० गुणा धेरै थियो । त्यसैले पान सोम्बोले सहमति जनाएका थिए ।

कोभिड १९ पछि लगानीकर्ता कम्बोडियामा बस्न नसक्ने भन्दै चीन फर्किए । त्यसपछि कुनै सूचना आएन । शिक्षक पान सोम्बोले स्थानीय निकायमा सम्झौता भङ्ग गर्ने प्रक्रिया सुरु गरे ।

सिहानोकभिलमा अहिले यस्ता भूतबङ्गलाहरूको कुनै कमी छैन । नगर सरकारका अनुसार करिब ३६० अधुरा र १७० निर्माण कार्य सम्पन्न भएका भवन खाली छन् ।

सिहानुकभिलको ‘लोकेसन’ ईर्ष्यालाग्दो छ । यो थाइल्याण्डको खाडी तटमा छ । सन् २०१० मा यहाँ चिनियाँ रकमको बाढी नै आयो । यो ठाउँ अचानक ‘बूमटाउन’ बन्यो । कम्बोडियालीले चिनियाँ रोड एन्ड बेल्ट परियोजनामार्फत आर्थिक विकासको नयाँ बाटो खुल्ने अपेक्षा गरे ।

कोम्बोडियाली डेभलोपर कम्पनी प्रिन्स रियल स्टेट समूहले निर्माण कार्यको लहर सुरु गर्‍यो । विलासी होटल र ठूला-ठूला सपिङ मल बनाउने परियोजना अघि बढे । सिहानुकभिलमा दर्जनौं क्यासिनो खुल्ने र दोस्रो मकाओ बन्ने कुरा पनि भए । त्यसपछि सुरु भयो कोभिड १९ को महाप्रहार र अर्कै दृश्य देखिन पुग्यो ।

पर्यटन मन्त्रालयअनुसार सन् २०१९ अघिको तुलनामा गत वर्ष ७७ प्रतिशतले चिनियाँ पर्यटक घटे । गत वर्ष ५ लाख ५० हजार चिनियाँ पर्यटक मात्र कम्बोडिया पुगे । सिहानुकभिल अन्तर्राष्ट्रिय विमानस्थलमा १५ हजार ७५४ यात्री मात्रै ओर्लिए । सन् २०१९ अघिको तुलनामा यो ९८ प्रतिशतले कम हो ।

कम्बोडियाको अङ्कोर प्राचीन मन्दिर परिसर युनेस्को सम्पदा सूचीमा छ । यसको सियम रिप क्षेत्रमा पर्यटन आप्रवाहको पुनरुत्थान नाटकीय छ । तर, सिहानुकभिलको ठीकविपरीत ।

क्यासिनो र घरजग्गा कारोबारमा चिनियाँ लगानीमाथि कम्बोडिया सरकारले केही दमनकारी प्रावधान राख्यो । जसले गर्दा सिहानुकभिलमा चिनियाँ पैसाको खोलो फर्किन सकेन । सरकारी अनुमानअनुसार अधुरा भवन पूरा गर्न थप १ अर्ब भन्दा धेरै डलर चाहिन्छ ।

सिहानुकभिलमा निर्माण कामदार चिनियाँ कम्पनीका टोपी लगाएर घुमिरहेका हुन्छन् । तर, काम र पैसा भने छैन । यस वर्ष जनवरीमा प्रधानमन्त्री हुन मानेटले सिहानुकभिलका भूतबङ्गालको उद्धारका लागि लगानीकर्तालाई प्रोत्साहित गर्न कर छुट र अनुमति आवेदनको घोषणा गरे । तर, विश्व अर्थतन्त्र सुस्त हुने बुझाइले गर्दा ती मापदण्डले पनि खासै काम गरेनन् ।

कम्बोडियाली रोयल एकेडमीका चिनियाँ अनुसन्धान संस्थानका निर्देशक के सेरेबाथका अनुसार कम्बोडियाली सरकारका मानकले प्रभावकारी काम गर्न निक्कै ठूलो सङ्घर्ष गर्नुपर्ने छ ।

चिनियाँ लगानीकर्ता कम्पनी छिमेकी एसियाली देशमा पनि पैसा खन्याएर बाहिरिएका छन् । कम्बोडिया मात्र यस्तो देश भने हैन । चिनियाँ अर्थतन्त्रको सबलता उजागर गर्न ती आउँछन् र काम अधुरै छोडेर हिँड्छन् ।

मलेसियामा त्यही हालत छ । त्यहाँ चिनियाँ घरजग्गा कारोबार कम्पनी कन्ट्री गार्डेन होल्डिङसको ऋण सङ्कट चर्किएको छ । जोहरमा त्यसको १ खर्ब डलर बराबरको मिश्रित उपयोग लगानी विकास योजना थियो, त्यो अहिले अनिश्चित भएको छ ।

कम्बोडिया चिनियाँ पैसामा अत्यधिक निर्भर छ । सन् २०२२ मा कोम्बोडियाली विकास परिषद्ले १ अर्ब ९ करोड डलर बराबरको विदेशी लगानी स्वीकृत गरेको थियो । करिब ९० प्रतिशत चीनबाट मात्रै आयो ।

कम्बोडियाली निर्माण कम्पनीका एक प्रबन्धक भन्दछन्— चीनले छोडेको खाडल अन्यत्रको लगानीबाट पुर्न हामीलाई धेरै गाह्रो छ, लगभग असम्भव जस्तै !

सिहानुक प्रदेशका उपगवर्नर लङ दिमान्चेका अनुसार देशको अर्थ व्यवस्थालाई गतिशील बनाउन सिहानुकभिलले उद्योग र लगानीकर्ता दुवैतर्फ विविधिकरण गर्न आवश्यक छ । हुन मानेटको सरकारले विदेशी लगानीकर्तालाई आकर्षित गर्न खुलापन देखाएको छ ।

अर्को एक सम्भावना जापान हुन सक्दछ । थाइल्याण्ड र भियतनामको तुलनामा कम्बोडियामा जापानी कम्पनीको उपस्थिति कम छ । तर, जापानले सिहानुकभिलको बन्दरगाहका लागि सहयोग गरेको छ । कम्बोडियामा तीन दशक यताको सबैभन्दा ठूलो सामुद्रिक बन्दरगाह यही हो ।

(निक्केइ एसियाबाट) 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved