धादिङ खाल्टेमा मिनिट्रक दुर्घटनामा घाइते भएका थप एकजनाको मृत्यु

नेपालभ्युज

धादिङ खाल्टेमा मिनिट्रक दुर्घटनामा घाइते भएका थप एकजनाको मृत्यु

मलेखु । धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा घाइते भएका बालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएका १२ वर्षे प्रितम मजकोटीको काठमाडौंस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यससँगै आइतबार बिहान बा ३ ख ८९४७ नम्बरको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

नीलकण्ठ नगरपालिका–५ खाल्टेमा भएको मिनिट्रक दुर्घटनामा परी पाल्पाली टोलका ११ वर्षीय बालक सन्तोष रम्तेलको घटनास्थलमै र सन्तोषका बुबा रामबहादुर रम्तेलको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएका ६ जना घाइतेको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार जारी छ ।

दुर्घटनाकै कारण मृत्यु भएका बालक सन्तोष र प्रितम दुवैजना स्थानीय पतेनी आधारभूत विद्यालयका विद्यार्थी हुन् । विद्यालय बिदा भएको बेला बारीमा काम गर्न हिँडेका अभिभावकसँग खेल्न गएका बालकहरूको मृत्युले गाउँ नै शोकमा परेको छ ।

साँघुरो ओरालो घुम्ती कच्ची सडकमा ब्रेक फेल भएर दुर्घटनामा परेको मिनिट्रकमा एकै परिवारका पाँचसहित नौजना सवार थिए । घाइतेमध्ये अहिले ३५ वर्षीय हिरा रम्तेल, ४० वर्षीय बिष्णु रम्तेल, ११ वर्षीय सुजन रम्तेल, १४ वर्षीय सुजित मजकोटी, ११ वर्षीय बिमल मजकोटी र १३ वर्षीय कृष्ण रम्तेलको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको प्रहरीको भनाइ छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved