नागढुङ्गा–नौबिसे सुरुङ मार्गको ‘ब्रेक थ्रु’ आज

सुरुङ मार्गको ब्रेक थ्रु भएपनि यो सडक सञ्चालनमा अझै एक वर्ष लाग्ने छ ।

नेपालभ्युज

नागढुङ्गा–नौबिसे सुरुङ मार्गको ‘ब्रेक थ्रु’ आज

काठमाडौं । नागढुङ्गा–नौबिसे सुरुङ मार्गको ‘ब्रेक थ्रु’ अर्थात् सुरुङ छिचोल्ने काम आज सोमवार गरिने भएको छ ।

आयोजना प्रमुख नवीनमान श्रेष्ठले सोमवार मध्यान्ह पौने १२ बजे सुरुङको ब्रेक थ्रु गर्ने तयारी रहेको लोकान्तरलाई जानकारी दिए । सुरुङ छेड्न २ मिटर मात्र बाँकी रहेको उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको उपस्थितिमा सुरुङ मार्गको ब्रेक थ्रु गरिने छ ।

फागुन २८ गते नै ब्रेक थ्रु गर्ने तयारी रहे पनि स्थानीयको विरोधका कारण ढिला हुन गएको थियो । नागढुङ्गा–नौबिसे सुरुङ मार्गको आपतकालीन मार्गको ब्रेक थ्रु २०८० साउन २२ गते नै भइसकेको छ ।

४२ महिना भित्र सम्पन्न गर्ने लक्ष राखेर २०७६ कात्तिक ४ गते सुरुङ मार्गको शिलान्यास गरिए पनि कोभिड महामारीका कारण निर्माणकार्य रोकिएको थियो । २ दशमलव ६८ किमी लामो सुरुङ मार्ग बनेपछि राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा सवारी जाम कम हुनेछ ।

काठमाडौंको बलम्बुदेखि धादिङको सिन्ने खोला जोड्ने सुरुङ मार्गको पहुँच सडकको काम पनि तीब्र गतिमा भइरहेको छ । झण्डै २२ अर्ब लागत रहेको यो आयोजना निर्माणको काम जापानीज ठेकेदार कम्पनी हाजमा कर्पोरेसनले पाएको थियो ।

सुरुङ मार्गको ब्रेक थ्रु भएपनि यो सडक सञ्चालनमा अझै एक वर्ष लाग्ने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved