गण्डकी सरकारविरुद्ध सर्वोच्च अदालत जाँदै कांग्रेस

नेपालभ्युज

गण्डकी सरकारविरुद्ध सर्वोच्च अदालत जाँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वोच्च अदालत जाने तयारी थालेको छ ।

नेकपा (एमाले) का संसदीय दलका नेता अधिकारी आइतबार मुख्यमन्त्री नियुक्त भएका छन् । उनी सभामुख कृष्णप्रसाद धितालको सहित समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सभामुखको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भन्दै कांग्रेस सांसदहरू सर्वोच्च अदालत जाने तयारीमा जुटेका हुन् । सांसद जितबहादुर शेरचनले नेपालभ्युजसँग भने, “हामी कानूनी लडाइँमा उत्रिन्छौँ, सर्वोच्च अदालत जान्छौँ । त्यसको तयारीमा छौँ ।”

कोशी प्रदेश प्रकरण स्मरण गर्दै सांसद शेरचनले भने, “असंवैधानिक तरिकाबाट मुख्यमन्त्री नियुक्त हुनु हुँदैन भनेर हामीले सचेत गराएकै हौँ तर, सुनिएन । अब यसपछि हामी न्यायिक लडाइँमा नै जानुपर्छ ।”

सभामुखसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी, संविधानविद् भन्छन्- सभामुख दलको सङ्ख्यामा जोड्नु असंवैधानिक हो

यसअघि कोशी प्रदेशमा सभामुख बाबुराम गौतमको समेत समर्थनमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका थिए । पछि सभामुख गौतमले राजीनामा मात्रै दिनुपरेन, मुख्यमन्त्री थापासमेत सर्वोच्च अदालतद्वारा बर्खास्तीमा परे ।

गण्डकीमा कोशी-घटनाकै पुनरावृत्ति देखिएको संविधानविद्हरूले बताएका छन् । संविधानविद् डा. भीमार्जुन आचार्य भन्छन्, “सरकार बनाउने प्रक्रियामा सभामुखको सङ्ख्या जोड्नु नै गलत हो । यो असंवैधानिक हो ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved