मुख्यमन्त्री शाह भन्छन् : राजीनामा दिन्नँ, विश्वासको मत पाउँछु

नेपालभ्युज

मुख्यमन्त्री शाह भन्छन् : राजीनामा दिन्नँ, विश्वासको मत पाउँछु

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आफूले विश्वासको मत पाउने दाबी गरेका छन् ।

आफूले विश्वासको मत पाउनका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको मुख्यमन्त्री शाहको भनाई छ ।

बाहिरी रुपमा राजीनामा दिने हल्ला विपक्षीले चलाए पनि आफूले प्रदेश सभाबाट विश्वासको मत पाउने शाहले दाबी गरे ।

उनले भोलि बस्ने प्रदेश सभामा विश्वासको मत लिन आफूले सभामुखलाई पत्राचार गरिसकेको जानकारी दिए ।

अहिलेकै गठबन्धनका दलहरु नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य दलका प्रदेशसभा सदस्यबाट विश्वासको मत पाउने मुख्यमन्त्री शाहले बताए ।

विश्वासको मत लिने कुरामा शंका उपशंका हुनु स्वभाविक रहेपनि यही गठबन्धनबाट विश्वासको मत लिने कुरामा कुनै शंका नरहेको उनले बताए ।

सुदूरपश्चिममा मुख्यमन्त्री शाहले विश्वासको मत पाउन ५३ जना प्रदेशसभा सदस्यमध्ये २७ जनाको मत आवश्यक पर्छ ।

अहिले शाहसँग कांग्रेसका १८ जना, नागरिक उन्मुक्तिका ७ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन कायम छ ।

राप्रपाको एक जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहलाई विश्वासको मत पाउने सुनिश्चित भए आफू बाधक नहुने र मत दिने बताइसकेका छन् ।

अब मुख्यमन्त्री शाहलाई बहुमत प्राप्त गर्न एक प्रदेशसभा सदस्यको मत आवश्यक छ ।

तर, नागरिक उन्मुक्तिमा देखिएको विवादले मुख्यमन्त्री शाहले विश्वासको मत पाउँछन् भन्नेमा शंका कायमै छ ।

स्रोतका अनुसार सुदूरपश्चिममा माओवादी केन्द्रभित्र पनि आन्तरिक किचलो छ ।

यसअघि सुदूरपश्चिम संसदीय दलका नेताबाट हटाइएका माओवादीका खगराज भट्ट प्रदेश संसदीय दलप्रति रुष्ट छन् ।

उनी सम्भवतः नयाँ बनेको गठबन्धनलाई भन्दा पनि शाहलाई विश्वासको मत दिने पक्षमा रहेको स्रोतको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved