भारतमा चर्चा मुख्तार अन्सारीको मृत्यु प्रकरण

नेपालभ्युज

भारतमा चर्चा मुख्तार अन्सारीको मृत्यु प्रकरण

काठमाडौं। भारतको उत्तर प्रदेश स्थित बांदा जेलमा सजाय काटिरहेका बाहुबली नेता मुख्तार अन्सारीको हृदयघातका कारण मृत्यु भयो ।

बिहीबार साँझ मुख्तार अन्सारी (Mukhtar Ansari) को हृदयघातका कारण निधन भएको कारागार प्रशासनले जानकारी दियो । उनलाई बिहीबार साँझ रानी दुर्गावती मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

अन्सारीलाई बान्ता भएको र अचेत अवस्थामा अस्पताल पुर्‍याइएको थियो । अस्पतालको बुलेटिनमा अन्सारीलाई ९ चिकित्सकको टोलीले तत्काल चिकित्सा सहायता उपलब्ध गराएको तर, धेरै प्रयास गर्दा पनि ‘कार्डियाक अरेस्ट’ (Cardiac Arrest) का कारण मृत्यु भएको उल्लेख छ ।

अन्सारीको मृत्यु भएसँगै पुरै उत्तर प्रदेशमा धारा १४४ लगाइएको थियो र गृह जिल्लासहित धेरै क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको थियो। उनको निवास बाहिर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

समाचार एजेन्सी पीटीआई (PTI) का अनुसार पुलिसले अलिगढ, फिरोजाबाद, प्रयागराज, कासगञ्जलगायत राज्यका धेरै जिल्लामा अर्धसैनिक बलसँग फ्ल्याग मार्च गरेको थियो।

मुख्यमन्त्री योगी आदित्यनाथले राति नै उच्चस्तरीय बैठक बोलाएका थिए।

गत वर्ष मुख्तार अन्सारीका छोरा उमर अन्सारी बुबाको ज्यान खतरामा परेको भन्दै सर्वोच्च अदालत पुगेका थिए ।

अदालतमा दिएको निवेदनमा उमरले बुवा मुख्तार अन्सारीको ज्यान गम्भीर खतरामा रहेको र बांदा जेलमा मार्ने षड्यन्त्र भएको भरपर्दो सूचना प्राप्त भएको उल्लेख गरेका थिए ।

मुख्तार अन्सारीलाई २०१९ देखि फिरौतीको मुद्दामा पञ्जाबको रुपनगर जेलमा राखिएको थियो । सन् २०२१ मा उत्तर प्रदेश प्रहरीले उनलाई बांदामा ल्यायो, त्यसपछि उनी यहीँ थुनिएका थिए ।

उनको मृत्युमा कांग्रेस आईले प्रश्न उठाएको छ । कांग्रेस नेता सुरेन्द्र राजपुत (Surendra Rajput) ले भने, ‘केही दिन अगाडि मुख्तार अन्सारीले आफूलाई स्लो पोइजन (slow poison) दिइएको आरोप लगाएका थिए। र अहिले प्रशासनले उनको हृदयघात (Heart Attack) का कारण मृत्यु भएको भन्दैछ। यसबारे उच्चस्तरीय छानबिन हुनुपर्छ। कारागारमा के भइरहेको छ भन्ने जनतालाई थाहा होस् भनेर उच्च अदालतका बहालवाला न्यायाधीशको निगरानीमा छानबिन हुनुपर्छ।’

हत्या मुद्दामा सजाय भोग्दै आएका अन्सारी

माफियाबाट राजनीतिज्ञ बनेका उनी उत्तर प्रदेशको पूर्वाञ्चलको मउबाट पाँच पटक विधायक निर्वाचित भएका थिए।

गत वर्ष अप्रिलमा मुख्तार अन्सारीलाई भाजपा विधायक कृष्णानन्द राईको हत्या मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको थियो।

उनका भाइ तथा गाजीपुरका सांसद अफजल अन्सारीलाई पनि यस मामिलामा चार वर्षको जेल सजाय सुनाइएको थियो।

गाजीपुर जिल्लाको मुहम्मदाबाद थानामा अन्सारीविरुद्ध कुल ६५ वटा मुद्दा दर्ता भएका छन्।

अन्सारीले अन्य दुई मुद्दामा पाएको सजाय

अन्सारी परिवार विगत केही वर्षदेखि चर्चामा छ । माउमा अन्सारीको कथित गैरकानुनी सम्पत्ति भत्काइएको थियो ।

सन् १९९९ को एउटा मुद्दामा उनलाई ग्याङ्स्टर ऐन अन्तर्गत पाँच वर्ष कैद सजाय र ५० हजार जरिवाना पनि गरिएको थियो ।

सेप्टेम्बर २०२२ मा, इलाहाबाद उच्च अदालतको लखनउ बेञ्चले मुख्तार अन्सारीलाई जेलरलाई धम्की दिएकोमा सात वर्षको जेल सजाय सुनाएको थियो। यो कुरा सन् २००३ को हो ।

जुलाई २०२२ मा मुख्तार अन्सारीकी श्रीमती अफसा अन्सारी र उनका छोरा अब्बास अन्सारीलाई फरार घोषित गरिएको थियो।

अगस्ट २०२० मा, लखनऊ विकास प्राधिकरणले अफजल अन्सारीको घर भत्कायो। यो घर गैरकानूनी रुपमा बनेको आरोप छ ।

उनीविरुद्ध विभिन्न अपराधका ६५ वटा मुद्दा विचाराधीन छन् । उनीविरुद्ध मकोका (महाराष्ट्र कन्ट्रोल अफ अर्गनाइज्ड क्राइम एक्ट) र गैंगस्टर ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।

यी मध्ये केही महत्वपूर्ण मुद्दामा प्रमाणको अभाव, साक्षीको शत्रुता र सरकारी वकिलको कमजोर वकालतका कारण अदालतले उनीहरूलाई सफाइ दिएको थियो तर केही वर्षभित्रै कतिपय मुद्दा टुंगोमा पुगेर सजाय पनि पाएका थिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved