कर्मचारीलाई गृहमन्त्री लामिछानेको निर्देशन : पीडकसँगको हिमचिम अन्त्य गर्नुहोस्

नेपालभ्युज

कर्मचारीलाई गृहमन्त्री लामिछानेको निर्देशन : पीडकसँगको हिमचिम अन्त्य गर्नुहोस्
झापामा सुरक्षा अधिकारी र कर्मचारीसँग छलफल गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछाने

झापा । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कर्मचारीहरु स्थायी सरकार भएकाले कानून अनुसारको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् ।

उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार घोषणा गर्न इलाम जाने क्रममा जिल्ला प्रशासन कार्यालय झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछाने (Rabi Lamichhane) ले नागरिकलाई छिटोछरितो रुपमा सेवा दिनु आफुहरुको दायित्व भएको बताए ।

उनले भने, ‘राजनीतिक रूपमा सरकार आउँछन् जान्छन्। स्थायी सरकार (कर्मचारी)ले नागरिकको सेवालाई प्राथमिमकता दिनुपर्छ।’

कानूनभन्दा माथि कसैले काम गर्न दबाब र प्रभाव दिए सिधैं आफुलाई जानकारी गराउन आग्रह गर्दै गृहमन्त्री लामिछानेले नागरिकको गुनासो सम्बोधनलाई प्राथमिकता दिन निर्देशन दिए । उनले भने, ‘गुनासो लिएर तपाईंभन्दा माथि कोही जानू नपरोस्। नागरिकलाई आशा र उत्साह जगाउन सकारात्मक सन्देश जाने गरि काम गर्नुपर्छ। कामका लागि निर्देशन कुर्ने होइन। आइडिया लगाएर काम गर्नु पर्छ।’

आफु प्रश्न सोध्नेबाट जवाफ दिने ठाउँमा पुगेको बताउँदै गृहमन्त्री लामिछानेले आफुलाई नाजवाफ नबनाउन आग्रह गरे । उनले भने, ‘म प्रश्न सोध्नेबाट जवाफ दिने ठाउँमा पुगेको छु। अब तपाईंहरुले गर्ने काम नै मेरो जवाफको आधार हो। मलाई नाजवाफ बनाउनु हुन्छ कि स्पष्ट जवाफ दिने ? तपाईंहरुको हातमा छ।’

घटनापछि पीडितभन्दा पहिला पीडक प्रशासनमा आउने चर्चा गर्दै उनले प्रशासन र प्रहरीसँग पीडकको हिमचिम गर्ने प्रवृत्ति अन्त्य हुनु पर्ने आवश्यकता औंल्याए ।

सोक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्लाको वस्तुस्थिति, सेवा प्रवाह, सुरक्षालगायत विषयमा गृहमन्त्री समक्ष ब्रिफिङ गरेका थिए ।

#रविलामिछाने #कर्मचारी_स्थायी_सरकार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved