धुलिखेल ‘स्मार्ट नगर’ : सेवाग्राहीलाई घरबाटै सेवा दिँदै नगरपालिका

धुलिखेलका आठ वडामा क्यूआर–कोडसहितको घर नम्बर प्रणाली जडान गर्न थालिएको छ भने अन्य वडामा सम्पूर्ण कार्य सकिएको छ । जडान थालिएको वडामा चालु आर्थिक वर्षभित्र सक्ने योजना बनाइएको छ ।

नेपालभ्युज

धुलिखेल ‘स्मार्ट नगर’ : सेवाग्राहीलाई घरबाटै सेवा दिँदै नगरपालिका

काभ्रेपलाञ्चोक । ‘स्मार्ट नगर’उन्मुख पर्यटकीय नगर धुलिखेलका स्थानीयले नगरका सेवा घरबाटै लिन थालेका छन् । नगरपालिका कार्यालयले सूचना, सञ्चार तथा प्रविधि (आइसिटी)मा आधारित सेवा प्रवाह गरी नागरिकलाई घरबाटै सेवा दिलाउन थालेको छ ।

नगर विकास कोषबाट ईयू (एसिया प्यासिफिक अन्तर्राष्ट्रिय साझेदार)को सहयोगमा स्मार्ट सहरको अवधारणाअनुसार हरेक कार्यलाई प्रविधिसँग जोडिरहेको धुलिखेल नगरमा वित्त क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत सूचना प्रविधिमा आधारित सेवा प्रवाहका लागि सहकार्य सम्झौता भई सेवा सुरु गरिएको हो । आइसिटीमा आधारित नगर सेवा प्रणाली सञ्चालन गर्न स्थानीय नागरिकलाई घरमै बसेर सबै सेवा लिन सकिने प्रणाली कार्यान्वयनमा ल्याइएको छ ।

स्मार्ट सहरका रुपमा विकास गर्न नगरपालिकाले प्रदान गर्ने हरेक सेवालाई प्रविधीमैत्री बनाउने अभियानमा उक्त कार्यक्रम थप प्रभावकारी र सहयोगी बन्ने नगर प्रमुख अशोक ब्याञ्जूले बताए । ब्याञ्जूका अनुसार राजस्व तथा अन्य सेवामासमेत डिजिटल सेवा भइसकेको छ । यस्तै धुलिखेलले हाल डिजिटल घर नं प्रणालीलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

ब्याञ्जूले डिजिटल घर नम्बर प्रणालीमा रहने ‘क्यूआर–कोड’मा सम्बन्धित घर कहाँ छ, घर केबाट बनेको छ, कति तलाको छ भन्नेलगायतका सम्पूर्ण विवरण उपलब्ध हुने जानकारी दिए । “यो प्रविधि लागू भएपछि आगलागी हुँदा, चोरी हुँदा र मानिस बिरामी परेको समयमा दमकल, प्रहरी र एम्बुलेन्सलाई ‘लोकेशन’का लागि पटकपटक सोधिरहनु पर्दैन”, उनले भने ।

यस्तै क्यूआर–कोडमार्फत नगरपालिकामा कति घर बनेका छन, कस्तो प्रकारको घर बनेको छ, राजरुव तिरे–नतिरेकोसमेत थाहा पाउन सकिन्छ । ब्याञ्जू भन्छन्, “डिजिटल घर नम्बर प्रणालीले नागरिकले घरमा नै बसेर सहज रूपमा सेवा प्राप्त गर्नेछन्, यसले समयको समेत बचत हुनेछ ।”

धुलिखेलका आठ वडामा क्यूआर–कोडसहितको घर नम्बर प्रणाली जडान गर्न थालिएको छ भने अन्य वडामा सम्पूर्ण कार्य सकिएको छ । जडान थालिएको वडामा चालु आर्थिक वर्षभित्र सक्ने योजना बनाइएको छ । कार्यालयबाटै ड्रोन सर्भे गरेर घर नम्बर उपलब्ध गराइएको छ ।

धुलिखेलको वडा नं ४ का वडासचिव सङ्गीता चौलागाईँले घर नम्बर प्रणालीसहित प्रविधिमैत्री सेवा प्रवाह गरिरहेको बताइन् । उनका अनुसार व्यक्तिगत घटना तथा पञ्जीकरणसम्बन्धी सम्पूर्ण काम अनलाइनबाट भइरहेको छ ।

यस्तै नक्सापास, सम्पत्ति कर तिर्नेलगायतका काम पनि अनलाइनबाटै भइरहेको छ भने वडाबाट प्रवाह हुने सेवाको भौचर अनलाइनबाट काट्ने व्यवस्था गरिएको छ । “एकीकृत नगर सेवा प्रणाली पनि सञ्चालन हुँदैछ, यसले नागरिकलाई घरमै बसेर आफूलाई आवश्यक सेवा प्राप्त हुनेछन्”, चौलागाईँले भनिन् । उनले जीआइएस् प्रणालीअन्तर्गत रहने यो प्रणाली आफैँ अपडेट हुने बताइन् ।

नगरपालिकाले हाल १२ वडामा १५ स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छ भने सबै नागरिकलाई स्वस्थ बनाइ आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलोमै पुर्याउने कामसमेत सकेको जनाएको छ । नागरिकको अवस्था के छ, के–कस्तो उपचार आवश्यक छ पत्ता लगाउन नगरपालिकाले सर्वेक्षण गरेको हो । केन्द्रमा निःशुल्क उपलब्ध गराइने ६५ थरिका औषधि पर्याप्त बनाइएको छ ।

यस्तै नगरपालिकाले सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली सहर’ कार्यक्रमको समेत योजना बनाएको छ । वैज्ञानिक माध्यमबाट नगरपालिकालाई दिगो रूपमा खाद्य हरियाली सहर बनाउन नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरबीच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको थियो । प्रमुख ब्याञ्जूका अनुसार नगर क्षेत्रभित्र एक वर्षदेखि कोइला प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved