श्री एयरलाइन्सले भित्र्यायो शक्तिशाली हर्सपावर भएको ८० सिटे जहाज

नेपालभ्युज

श्री एयरलाइन्सले भित्र्यायो शक्तिशाली हर्सपावर भएको ८० सिटे जहाज

काठमाडौं । श्री एयरलाइन्सले अरूभन्दा दोब्बर शक्तिशाली हर्सपावरयुक्त ८० सिट क्षमताका दुईवटा जहाज नेपालमा ल्याएको छ ।

क्यानडाको दि हाभिल्याण्ड अफ क्यानडा (तत्कालीन बम्बार्डियर) ले निर्माण गरेका अत्याधुनिक जहाज नेपालमा भित्राएको हो ।

अमेरिकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेका जहाज श्रीले नेपालमा ल्याएको हो । जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजहरूभन्दा दोब्बर शक्तिशाली ५४ सय साफ्ट हर्सपावरयुक्त छन् ।

उक्त जहाजहरू श्री एयरलाइन्सका पाइलटहरूले नै उडाएर ल्याएका हुन् ।

अमेरिकाको अरेगन राज्यको पोर्टल्याण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजबे, आइसल्याण्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको काइरो, संयुक्त अरब इमेरिटसको दुबई तथा भारतको इन्दौर हुँदै करिब २५ घण्टाको उडान तथा तीन रात्रि बिसानपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण भएका छन् ।

कम्पनीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरू यथाशीघ्र पूरा गरी उक्त विमानहरूबाट श्री एयरलाइन्सले आफ्ना आन्तरिक सेवाको गन्तव्यहरूमा उडान थप गरी भरपर्दो सेवा सुचारु रूपले सञ्चालन गर्दै जाने उल्लेख गरेको छ ।

श्री एयरलाइन्सले सन् २०१७ बाट ५० सिट क्षमताको २ वटा सी आर जे २०० तथा ७० सिट क्षमताको २ वटा आर जे ७०० जेट विमानहरूबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन सुरु गरेको थियो ।

सुरुमा काठमाडौँ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी विमानस्थलहरूमा र पर्वतीय उडानहरू नियमित रुपमा हवाई सेवा सञ्चालन गरेको थियो ।

सन् २०१९ देखि २ वटा र सन् २०२२ मा थप २ गरी ४ वटा ८० सिट क्षमताको क्यानडा निर्मित क्वी४०० ड्यास ८ विमानहरूबाट थप पोखरा, सुर्खेत, जनकपुर तथा सिमरा मा समेत सेवा विस्तार गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved