भारतमा कांग्रेसको बैंक खाता रोक्का भएपछि राहुल भन्छन् : प्रचार सामग्री छाप्ने पैसा पनि छैन

नेपालभ्युज

भारतमा कांग्रेसको बैंक खाता रोक्का भएपछि राहुल भन्छन् : प्रचार सामग्री छाप्ने पैसा पनि छैन

काठमाडौं । सरकारले आफ्नो दलको बैङ्क खाता रोक्का गरेपछि आगामी महिना सुरू हुने आम चुनावमा प्रचारप्रसारका लागि भारतको विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेससँग पैसा नभएको नेताहरूले बताएका छन् ।

कर विवरण दाखिल गर्न ढिला भएको भन्दै गत फेब्रूअरीमा पार्टीका धेरै बैंक खाता रोक्का गरिएको थियो ।

“हाम्रो दलको सम्पूर्ण आर्थिक आधार रोकिएको छ,” स्वतन्त्रतापछि दशकौंसम्म भारतीय राजनीतिमा प्रभुत्व जमाएका परिवारका वंशज तथा काङ्ग्रेस नेता राहुल गान्धीले भने ।

५३ वर्षिय गान्धीले भने, “हामीसँग प्रचारका लागि पैसा छैन, हामी हाम्रा उम्मेदवारलाई सहयोग गर्न नसक्ने भएका छौँ । सरकारको नीतिका कारण चुनाव लड्ने हाम्रो क्षमतामा क्षति पुगेको छ ।”

प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)लाई चुनौती दिन कर विभागको प्रतिबन्धले समस्या पारेको र प्रतिबन्ध राजनीतिबाट प्रेरित भएको काङ्ग्रेसको जिकिर छ ।

“गत हप्ता हामीलाई कर अधिकारीहरूबाट सन् १९९५ देखि सन् १९९६ सम्मको ‘फाइलिङ’को अर्को सूचना प्राप्त भएको छ,” गान्धीले नयाँ दिल्लीमा पत्रकार भेटमा भने ।

“हामीसँग प्रचार सामग्री छाप्ने पैसा पनि छैन,” उनल थपे ।

यसैबीच काङ्ग्रेसकी पूर्व अध्यक्ष तथा राहुलकी आमा ७७ वर्षीया सोनिया गान्धीले पार्टीलाई पङ्गु बनाउने प्रणालीगत प्रयासको हिस्साका रूपमा कर जरिवाना गरिएको बताएकी छन् ।

विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास अप्रिल १९ देखि सुरू हुने डेढ महिना लामो चुनावमा करिब एक अर्ब भारतीयले नयाँ सरकार चयनका लागि मतदान गर्नेछन् ।

सरकारले न्याय प्रणालीलाई राजनीतिकरण गरेको आरोप लगाउँदै भारतको लोकतान्त्रिक साखमाथि प्रश्न चिन्ह खडा गरेको आलोचकहरूले बताएका छन् ।

भारतको मुख्य वित्तीय अनुसन्धान निकाय ‘इन्फोर्समेन्ट डाइरेक्टोरेट’ले कम्तीमा पाँच राज्यका मुख्यमन्त्री वा उनीहरूका परिवारका बारेमा अनुसन्धान सुरू गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved