अब ‘खाडीमा भेटौँला’ होइन, ‘सहसचिव बनौँला’, को हुन् धेरैले जान्न चाहेका यी किशोरी ? (भिडिओ)

अघिल्लो सालको ‘खाडीमा भेटौँला’ सन्देश रोजगारी नपाएर बिदेसिनुपर्ने लाखौँ युवाको बाध्यताको प्रतिविम्ब थियो । अहिलेको सन्देशमा स्वदेशमै सरकारी सेवामा प्रवेश गरेर काम गर्न सकिन्छ भन्ने आशाको किरण झल्कन्छ । यसैले इन्दिरा धेरैको खोजीमा परेकी हुन् ।

नेपालभ्युज

अब ‘खाडीमा भेटौँला’ होइन, ‘सहसचिव बनौँला’, को हुन् धेरैले जान्न चाहेका यी किशोरी ? (भिडिओ)

काठमाडौं । केही दिनयता एउटा फोटो भाइरल छ, लेखिएको छ— ‘२०८२ मा खरिदार, २०८३ मा नायब सुब्बा, २०८५ मा शाखा अधिकृत, २०९० मा सहसचिव ।’ कलेज पढ्ने एक छात्राको सर्टमा पछाडि लेखिएको यो सन्देश धेरैले मन पराएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएपछि यो फोटो एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत सेयर गर्दै शुभकामना भनेका छन् ।

गत वर्ष भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको ‘खाडीमा भेटौँला’ भन्ने सन्देश लामो समयसम्म चर्चामा रह्यो ।

त्यसको एक वर्षपछि अहिले अर्को बिदाइको फोटो भाइरल बनेको हो, जहाँ खरिदारदेखि सहसचिवसम्मको सपना सार्वजनिक गरिएको छ ।

फोटो भाइरल भएपछि धेरैको चासो छ, त्यो कहाँको हो ? ढाँडमा आफ्नो सहसचिवको सपना सजाउने छात्रा को हुन् ?

त्यो फोटो भक्तपुरको एभरेस्ट आवासीय विद्यालयमा अध्ययनरत इन्दिरा फुयाँलको हो । उनको घर नुवाकोट बेलकोटगढी हो । अहिले भक्तपुर बस्छिन् ।

विद्यालयबाट मंगलबार बिदाइ हुँदै गरेकी उनै इन्दिराको सर्टमा ‘२०८२-खरिदार, २०८३-नायब सुब्बा, २०८५-शाखा अधिकृत र २०९०-सहसचिव’ भन्ने टाइमलाइन लेखिएको थियो ।

कक्षा १२ को परीक्षा सकिएपछि विद्यालयमा आयोजित कार्यक्रममा इन्दिराले खरिदारदेखि सहसचिवसम्मको सपना लेख्न लगाइन् । जुन सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

इन्दिराले भनिन्, “मैलेचाहिँ स्वदेशमै बसेर देशको सेवा गर्ने रहर सुनाएँ । देशमा भ्रष्टाचार तथा अनियमितताका खबर बारम्बार सुनेकी छु । यहीँ बसेर काम गर्ने रहर छ ।”

अघिल्लो सालको ‘खाडीमा भेटौँला’ सन्देश रोजगारी नपाएर बिदेसिनुपर्ने लाखौँ युवाको बाध्यताको प्रतिविम्ब थियो । अहिलेको सन्देशमा स्वदेशमै सरकारी सेवामा प्रवेश गरेर काम गर्न सकिन्छ भन्ने आशाको किरण झल्कन्छ ।

यसैले इन्दिरा धेरैको खोजीमा परेकी हुन् । उनको सर्टमा लेखिएको टाइमलाइनसहितको तस्वीर भाइरल भएसँगै त्यसमा प्रतिक्रिया जनाउने पनि धेरै छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved