नेपालभ्युज समाचार प्रभाव: राक्सिराङमा लगाइएको अफिम नष्ट, प्रहरी नपुग्दै स्थानीयको भागाभाग !

अफिम नियन्त्रणका लागि खेती भएको स्थानमा प्रहरी टोली गएपछि स्थानीयको भागाभाग भएको छ । मानिसहरू भागेपछि खेती रेखदेख गर्ने को हो भनेर नखुलेको प्रशासनले बताएको छ ।

नेपालभ्युज समाचार प्रभाव: राक्सिराङमा लगाइएको अफिम नष्ट, प्रहरी नपुग्दै स्थानीयको भागाभाग !

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ स्थित कान्द्राङमा ५ बिगाह क्षेत्रमा लगाइएको अफिम खेती नष्ट गरिएको छ ।

सशस्त्र प्रहरीले सोमबार अफिम खेती नष्ट गरेको सहायक प्रवक्ता समेत रहेका सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताए । त्यो क्षेत्रमा अफिम खेती भइरहेको फोटो कथासहितको न्यूज स्टोरी २ फागुनमा नेपालभ्युजले प्रकाशन गरेको थियो ।

त्यही क्षेत्रको अफिम सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुर, स्थानीय प्रहरी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको संयुक्त टोलीले नष्ट गरेको हो ।

साथै मंगलबार राक्सिराङकै रुन्चेवाङ्ग ईलाकामा समेत अफिम खेती नष्ट गर्ने कार्य भई रहेको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक थापाले बताए ।

राक्सिराङ्गमा मात्र नभई कैलाश गाउँपालिकामा पनि सयौँ रोपनी जमिनमा अफिम लगाइएको छ । त्यहाँको अफिम खेती पनि फाँड्न जाने सशस्त्र प्रहरीले जनाएको छ ।

सबैभन्दा बढी राक्सिराङ्ग गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र ७ मा १ हजार रोपनी भन्दा बढी जमिनमा अफिम लगाइएको छ । कैलाश गाउँपालिकाको वडा नम्बर ७ र ८ मा पनि सयौँ रोपनीमा अफिम खेती भइरहेको छ ।

अवैध अफिमको मौलाउँदो खेती, नेपालको अफगानिस्तान बन्दै ‘राक्सिराङ्ग’

धेरै वर्ष अघिबाट त्यहाँ घातक लागूऔषध अफिमको खेती सुरू भएको देखिन्छ । कानूनीरूपमा प्रतिबन्धित भए पनि राज्यको न्यून उपस्थितिको फाइदा उठाउँदै खेती भइरहेको जानकार बताउँछन् । अझ कतिपयले त यसमा प्रशासनकै मिलेमतो रहेको ठोकुवा गरेका छन् ।

मकवानपुर राक्सिराङ्गको अवैध अफिमखेती । तस्वीर : सरोज बस्नेत

स्थानीयको भागाभाग

लागूऔषध नियन्त्रण ऐनले यस खेती गर्नेलाई बोटको संख्याका आधारमा सजाय हुने व्यवस्था गरेको छ । प्रहरीले अफिम फाँडे पनि खेती गर्ने कसैलाई पक्राउ गरेको छैन ।

अफिम नियन्त्रणका लागि खेती भएको स्थानमा प्रहरी टोली गएपछि स्थानीयको भागाभाग भएको छ ।

मानिसहरू भागेपछि खेती रेखदेख गर्ने को हो भनेर नखुलेको प्रशासनले बताएको छ । एक अधिकारीले भने, ‘‘गाउँघरमा बूढाबूढी मात्रै भेटिएका छन् । युवाहरू भागेर जङ्गलतिर लुक्न गइसकेका छन् । खेती मात्रै फाँडिरहेका छौँ ।’’

अफिम नियन्त्रणको लागि प्रहरी खटाएर फाँड्नु एक मात्र विकल्प बन्दै आएको छ ।

यद्यपि यो अभियान भने प्रभावकारी बन्न नसकेको प्रहरी अधिकारी स्वयं स्वीकार्छन् । नेपालमा अफिम उत्पादन, प्रशोधन, बिक्री–वितरण तथा ओसारपसारमा प्रतिबन्ध छ ।

नष्ट गर्नुअघिको फोटो

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved