राप्रपालाई सत्तामुखी बनाउन उक्साउने प्रवृत्ति अहिले राष्ट्रवादीलाई एक हुन नदिन लागिपरेका छन् : कमल थापा

नेपालभ्युज

राप्रपालाई सत्तामुखी बनाउन उक्साउने प्रवृत्ति अहिले राष्ट्रवादीलाई एक हुन नदिन लागिपरेका छन् : कमल थापा

काठमाडौं ।   राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतमा राप्रपालाई सत्तामुखी बनाउन उक्साउने प्रवृत्ति अहिले पनि राष्ट्रवादीहरुलाई एक हुन नदिन लागिपरेको बताएका छन् । सोमबार सामाजिक संजालमा स्टाटस लेख्दै थापाले यस्तो बताएका हुन् ।

सम्पूर्ण राष्ट्रवादीहरुको साझा पार्टी राप्रपा नेपाल भएको भन्दै उनले २०६३ को परिवर्तन पछि संघीयता, धर्मनिरपेक्ष गणतन्त्र नेपालको निम्ति उपयुक्त हुँदैन भन्ने मान्यताका साथ हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना तथा संघीयताको खारेजीलाई मुख्य एजेन्डा बनाएर राप्रपा नेपाल स्थापना भएको स्मरण गरेका छन् ।

जनताको विश्वासबाट २०७० सालको चुनावमा राप्रपा नेपाल देशको चौथो ठूलो शक्ति बनेको भन्दै थापाले २०७३ पछि पार्टी ठूलो बनाउने नाउँमा गलत प्रवृत्तिसँग सम्झौता गर्दा आफूले बाटो बिराएको समेत स्विकार गरेका छन् । सिद्धान्तनिष्ठ र जुझारु दलको पहिचान बनाएको राप्रपा नेपाल सत्तामुखी र जुनसुकै सरकारमा जाने अवसरवादीमा परिणत भएकोमा दुख ब्यक्त गर्दै थापाले पार्टी अध्यक्षको नाताले ती गल्तीहरुको नैतिक जिम्मेवारी आफ्नो भएको समेत बताए ।

“ती सबै गल्तिहरु सच्याएर अघि बढ्न खोज्दा हामी नै विस्थापित भयौँ। राष्ट्रवादी शक्ति छिन्नभिन्न भयो ” थापाले भने, “अहिले संघीय धर्मनिरपेक्ष गणतन्त्रप्रति जनतामा वितृष्णा बढिरहेको बेला हामी भने विभाजित भयौं ।”

संघीयता, धर्मनिरपेक्षता गणतन्त्र असफल भएको, जनता विकल्पको खोजीमा रहेको चर्चा गर्दै थापाले जनता हिन्दुराष्ट्र र राजसंस्था स्थापना होस्, संघीयता खारेज होस्, भष्ट्रचारीलाई कारवाही होस् भन्ने चाहिरहेको बताए । थापाले यदी सम्पूर्ण राष्ट्रवादीहरु एकजुट हुने हो भने केही महिनाभित्रै हिन्दुराष्ट्र र राजसंस्था स्थापना हुने समेत दाबी गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved