नागरिक उन्मुक्तिको विवादले सुदूरपश्चिम सरकार सकसमा, राप्रपाले साथ नदिएपछि सरकार ढल्ने निश्चित

नेपालभ्युज

नागरिक उन्मुक्तिको विवादले सुदूरपश्चिम सरकार सकसमा, राप्रपाले साथ नदिएपछि सरकार ढल्ने निश्चित

काठमाडौं ।सुदूरपश्चिम सरकार सकसमा परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सामेल नहुने भएपछि कांग्रेस नेतृत्वको सरकार संकटमा परेको हो ।

नागरिक उन्मुक्ति पार्टी नाउपालाई रिझाएर सरकार जोगाउन आवश्यक दुई सांसद राप्रपा र स्वतन्त्रबाट ल्याउने कसरतमा जुटेका मुख्यमन्त्री कमलबहादुर शाह राप्रपाको निर्णयसँगै अप्ठ्यारोमा परेका हुन् । राप्रपाले सरकारमा नआउने निर्णय गरेको छ ।

सरकारमा रहने विषयमा सत्ता साझेदार नाउपाभित्र अध्यक्ष रञ्जिता श्रेष्ठ र संस्थापक नेता रेशम चौधरीबीच विवाद बढेपछि स्वतन्त्र सांसदले पनि सरकारमा आउने आँट गर्न सकेका छैनन् ।

नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीसहित तीन जना मन्त्री प्रदेश सरकारमा गइसकेका छन् ।

उनीहरु रेशम चौधरीको जोडबलमा सरकारमा गएका थिए । तर यसप्रति आपत्ति जनाउँदै नाउपा अध्यक्ष श्रेष्ठले छलफलबिनै सरकारमा सामेल हुने मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएकी छन् । तर उनकै पति रेशमले शनिबार मन्त्रीहरुलाई फिर्ता नहुन अर्को निर्देशन दिएसँगै सुदुर पश्चिम सरकारको भविष्य अन्यौलमा परेको छ ।

कांग्रेस नेतृत्वको प्रदेश सरकार जोगाउन अन्य दुई सांसद नपुगेका बेला राप्रपा र स्वतन्त्र सांसद पनि नाउपाभित्रको विवादले हच्किएपछि सरकार ढल्ने लगभग निश्चित देखिएको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २७ सांसद चाहिन्छ ।

सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८ र नाउपाका ७ सांसद छन् । राप्रपा र स्वतन्त्र सांसद एक÷एक जना छन् ।

नयाँ गठबन्धनमा आबद्ध नेकपा माओवादीसँग सभामुखसहित ११, नेकपा एमालेसँग १० र नेकपा एकीकृत समाजवादीसँग ४ सांसद छन् ।

यस्तोमा कांग्रेस नेतृत्वको सरकार ढल्दा नयाँ गठबन्धनलाई पनि सरकार बनाउन ३ सांसदको आवश्यकता पर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved