चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक

नेपालभ्युज

चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ ।

चलचित्रका निर्देशक मिलन चाम्सले पोस्टर सार्वजनिक गर्दै छिट्टै नै उपयुक्त रिलिज मिति तय गर्ने बताए ।

पोस्टरमा अञ्जिला र अभिनेता दयाहाङ राईलाई स्थान दिइएको छ । पोस्टरबाट अञ्जिलाको ग्रामीण जीवनको सङ्घर्षदेखि खेल जीवनसम्मको कथा यो चलचित्रमा रहेको अनुमान गर्न सकिन्छ । अभिनेता राईको भूमिकाबारे भने पोस्टरले केही बोलेको छैन ।

अञ्जिलाकै जन्मथलो इलामको आइतबारे सहित झापा र काठमाडौंमा यस चलचित्रको छायाङ्कन भएको छ । यो चलचित्रमा अञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ ।

उनीसँगै यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको पनि अभिनय रहनेछ ।

यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठको पनि यस चलचित्रमा प्रमुख भूमिका रहेको छ । श्रेष्ठले वास्तविक जीवनकै भूमिका निभाएका छन् ।

निर्देशक चाम्सले आफ्नो निर्देशन करियरमा यो चलचित्रले फरक प्रकारको छाप छोड्ने दाबी गरेका छन् ।

अञ्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको सङ्घर्ष र सफलताको कथालाई चलचित्रमा जोड दिएको निर्देशक चाम्सले जानकारी दिए ।

सफल खेलाडी बन्नु अगाडि अञ्जिलाले धेरै दुःखहरू भोगेको र इच्छाशक्ति भएदेखिन् असम्भव भन्ने कुरा नहुने सन्देश चलचित्रले दिने चाम्सले बताए ।

निर्देशक चाम्सले यो चलचित्र ठ्याक्कै अञ्जिलाको बायोपिक भने नभएको बताए । उनले ७५ प्रतिशत अञ्जिलाकै जीवनी हुने तर बायोपिक भने नहुने बताए ।

२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी अञ्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् ।

सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गर्ल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेन्चमै सीमित भइन् । त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved