सात महिनामा विद्युत् वितरणतर्फका नौ वटा सबस्टेसन सञ्चालनमा

नेपालभ्युज

सात महिनामा विद्युत् वितरणतर्फका नौ वटा सबस्टेसन सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउनयता विद्युत् वितरणतर्फका ९ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्‍याउन र वितरण सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत् पुर्‍याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र ४०० भोल्टका लाइनहरू पनि निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

साथै, वितरण ट्रान्सफर्महरुपनि जडान गरिएको छ । साउनबाट हालसम्म वितरणतर्फका ३३/११ केभी क्षमताका ९ वटा वितरण सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । यसबाट सबस्टेसन निर्माण क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनुकासाथै चुहावट पनि घटेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् उपलब्ध गराउन देश भरी नै वितरणतर्फका लाइन र सबस्टेसन निर्माण अभियानकै रूपमा चलिरहेको बताउनुभयो ।

‘विद्युत् नपुगेका ठाउँमा विद्युतीकरण गर्न र पुगेका ठाउँको आपूर्तिलाई सुधार गर्न वितरण प्रणालीको विस्तार र सुदृढीकरण व्यापक रूपमा गरिरहेका छौँ’, कार्यकारी निर्देशक घिसिङले भने ।

‘संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरू तथा औद्योगिक क्षेत्रको  विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय र भविष्यमा बढ्ने मागलाई सन् २०५०को समयमीमा निर्धारण गरी उच्चस्तरको भरपर्दो र विश्वसनीय विद्युतीय भार बोक्न सक्ने प्रसारण र वितरणतर्फका लाइन र सबस्टेसनहरु चरणबद्ध रूपमा निर्माण अगाडि बढाइसकेका छौँ ।’

घिसिङले यसका लागि अहिले सञ्चालनमा रहेका प्रसारण तथा वितरण लाइन र सबस्टेसनको स्तरोन्नति तथा सुदृढीकरण र नयाँ प्रसारण लाइन र सबस्टेसनको निर्माण सुरु गरिएको बताए ।

प्राधिकरणले इलामको पश्चिम क्षेत्र र पाँचथरमा विद्युत् आपूर्तिका लागि ३३/११ केभीको चिसापानी सबस्टेसन, मकवानपुरको बागमती तथा बकैया गाउँपालिकामा विद्युत् आपूर्तिका लागि क्षतिवन सबस्टेसन, म्याग्दीको मङ्गला, मालिका तथा धौलागिरि गाउँपालिकामा विद्युत् आपूर्तिका लागि दरबाङ सबस्टेसन र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को बुलिङटार गाउँपालिका क्षेत्रमा विद्युत् आपूर्तिका लागि बोझपोखरी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत सबस्टेसन निर्माण गरिएको हो ।

आयोजनाअन्तर्गत देश भरी २५ वटा नयाँ सबस्टेसनको निर्माण र १२ वटा सबस्टेसनको स्तरोन्नति तथा वितरण सञ्जाल निर्माण अगाडि बढाइएको थियो । २५ वटा सबस्टेसनमध्ये पाँच वटाको निर्माण अन्तिम चरणमा छ भने सबस्टेसनहरुको स्तरोन्नति सम्पन्न भइसकेको छ ।

विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत प्राप्त सहुलियतपूर्ण ऋणमा मकवानपुरको मनहरी, सिन्धुलीको दुधौली, दोलखाको नाम्दु  ललितपुरको उनिचौरमा वितरणतर्फको ३३/११ केभी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै, विश्व बैंककै सहुलियतपूर्ण ऋणमा रामेछापको बाम्तीमा वितरण सबस्टेसन निर्माण गरिएको छ । उक्त सबस्टेसनहरुसम्म पुग्ने ३३ केभी प्रसारण लाइन र त्यहाँबाट विद्युत् आपूर्तिका लागि लाइनहरू पनि निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved