प्रधानमन्त्रीद्वारा धनुषा र सिरहा जोड्ने देशकै लामो झोलुङ्गे पुल उद्घाटन

नेपालभ्युज

प्रधानमन्त्रीद्वारा धनुषा र सिरहा जोड्ने देशकै लामो झोलुङ्गे पुल उद्घाटन
फाइल तस्वीर

सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहालाई जोड्ने देशकै सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन गरेका छन् ।

सिरहा नगरपालिका वडा नं. १३ मल्हनीया र धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले शनिबार उद्घाटन गरेका हुन्।

सो झोलुङ्गे पुलको लम्बाई १ हजार ५ सय दशमलव ४४ मिटर र चौडाई १.२ मिटर रहेको इन्जिनियर विनोद कुमार मण्डलले जानकारी दिए ।

धनुषामा बन्यो नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल, प्रधानमन्त्रीले उद्घाटन गर्ने

नेपाल सरकारको ३४ करोडको लगानीमा निर्माण भएको सो झोलुङ्गे पुलको भार क्षमता ५ सय ४० मेट्रिक टन रहेको छ भने एक पटकमा ३ हजार ८६ जना व्यक्ति ओहोर दोहोर गर्न मिल्ने भएको इन्जिनियर मण्डलले बताए ।

यस अघि नेपालको सबै भन्दा लामो पुल दोधारा चाँदनीको रहेकोमा अव कमला नदिमा निर्माण भएको झोलुङ्गे पुल सबै भन्दा ठूलो भएको इन्जिनियर मण्डलले जानकारी दिए । सपना उमा थानी निर्माण सेवाले डेढ वर्ष लगाएर उक्त पुलको निर्माण सम्पन्न गरेको हो ।

झोलुङ्गे पुलको चौडाई ४ फिट रहेकोले मानिस, चौपाया, साइकल र मोटरसाइकलले प्रयोग गर्न सक्ने भएपनि पुलको आयु लम्ब्याउन मोटरसाइकल तार्दा कम गतिमा वा डोर्‍याएर तार्न र टेम्पो तार्नेजस्ता कार्य नगर्न सस्पेन्सन पुल डिभिजनले अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved