धनुषामा बन्यो नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल, प्रधानमन्त्रीले उद्घाटन गर्ने

धनुषामा बन्यो नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल, प्रधानमन्त्रीले उद्घाटन गर्ने

जनकपुरधाम । धनुषामा नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ ।

धनुषा तथा सिरहालाई जोड्ने नेपालकै सबैभन्दा लामो उक्त झोलुङ्गे पुलको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ धनुषा आउने कार्यक्रम रहेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले फागुन १२ गते शनिबार प्रधानमन्त्रीले सो झोलुङ्गे पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए । प्रधानमन्त्री दाहालले सोही दिन सबैला–४ पटेरवा र सिराहा जोड्ने कमला नदीमा मोटरेबल पुल शिलान्यास गर्ने कार्यक्रम समेत रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल र सिराहा नगरपालिका–१३ मलहनियाँ जोड्ने कमला नदीमा निर्माण गरिएको सो झोलुङ्गे पुलको लम्बाई १ हजार ५ सय दशमलव ४४ मिटर र चौडाई १.२ मिटर रहेको निर्माणमा विना पारिश्रमिक लिएर प्राविधिक सहयोग गरेका इन्जिनियर विनोद कुमार मण्डलले जानकारी दिएका छन् ।

नेपाल सरकारको ३४ करोडको लगानीमा निर्माण भएको सो झोलुङ्गे पुलको भार क्षमता ५ सय ४० मेट्रिक टन रहेको छ भने एक पटकमा ३ हजार ८६ जना व्यक्ति ओहोर दोहोर गर्न मिल्ने भएको इन्जिनियर मण्डलले बताए ।

यस अघि नेपालको सबै भन्दा लामो पुल दोधारा चाँदनीको रहेकोमा अव कमला नदिमा निर्माण भएको झोलुङ्गे पुल सबै भन्दा ठूलो भएको इन्जिनियर मण्डलले जानकारी दिए । सपना उमा थानी निर्माण सेवाले डेढ वर्ष लगाएर उक्त पुलको निर्माण सम्पन्न गरेको हो ।

कमला नदिमा झोलुङ्गे पुलको निर्माण भएपछि धनुषा तथा सिरहा जिल्लाका लाखौँ व्यक्ति लाभान्वित भएका छन् । मोटरसाइकल, साइकल, पैदल यात्री ओहोर दोहोर गर्न मिल्ने भएपनि मझौला तथा ठूला सवारी साधन चल्ने अवस्था रहेको छैन ।

कमलामा १३ वर्षदेखि निर्माण भएको पक्की पुल निर्माण नभएपछि वैकल्पिक रुपमा सर्वसाधारणले झोलुङ्गे पुलको प्रयोग गर्ने भएको छ ।

२०८० माघ १८ सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुरको टोलीले पुलको परीक्षण गरी सर्वसाधारणको लागि खुला गरिएको छ । अहिले पुल हेर्नका लागि मात्रै पनि यहाँ दैनिक सयौं मान्छेहरु आउने गरेका छन् ।

धनुषा जनकनन्दनी गाउँपालिका ६ कठालका रामसेवक यादवले पुल निर्माणपछि यस क्षेत्रका किसानहरुलाई कृषिउपजको बजारीकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले यस क्षेत्रका उत्पादनहरुलाई सजिलै जनकपुरधाम र सिरहाको बजारमा पुर्याउन सजिलो भएको बताए ।

सिरहा नगरपालिका-७ का शिक्षक जय चन्द्र यादवले लामो दूरीका कारण यस भेगका बासिन्दालाई स्वास्थ्योपचारका लागि जनकपुरधाम नपुगेर कोशी प्रदेशको बिराटनगर पुग्ने गरिएकामा अब त्यो बाध्यता हटेको बताए ।त्यसैगरीले उनले उच्च शिक्षा हासिल गर्नको लागि पनि पुल बनेपछि मधेस प्रदेशको राजधानी जनकपुरधाम पुग्न सजिलो भएका बताए ।

यो झोलुङ्गे पुलले आफ्नै प्रदेश राजधानी जनकपुरधाम पुग्न भारत भएर जानुपर्ने र त्यहाँ जाँदा भोग्नुपरेको सास्तीबाट आंसिकरुपमा भए पनि छुटकारा मिलेको छ ।

“राजमार्गको बाटो जाँदा धेरै दूरी पार गर्नुपर्छ। भारतीय बाटो प्रयोगगर्दा समयको बर्बादी त थियो नै भारतीय पक्षबाट अपमान पनि भोग्नुपर्ने हुन्थ्यो । अब कमलामा झोलुंगे पुल बनेपछि पैदलयात्रु र मोटरसाइकलमा जानेहरुले त्यो समस्यामा मुक्ति पाएका छन्”, पुलको परिकल्पनाकार मध्येका ईन्जिनियर बिनोदकुमार मण्डल भने ।

सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुर अन्तर्गत विसं २०७८ फागुन २७ गतेको बोलपत्रअनुसार सपना, उमा एण्ड कम्पनी,थानी जेभी कन्सट्रक्सन बतीसपुतली काठमाडौँले यो पुल निर्माण गरेको हो ।

सो कम्पनीसँग विसं २०७९ असार ४ गते भएको ठेक्का सम्झौताअनुसार विसं २०८१ असारमसान्तसम्म पुल निर्माण गरिसक्नुपर्ने शर्त थियो।

सोहीअनुसार विसं २०७९ मंसिर २ गतेबाट पुल निर्माण सुरु गरेको कम्पनीले सम्झौता अवधिभन्दा ६ महिना अगावै माघ १८ गते नै सम्पूर्ण कार्यसम्पन्न गरिएको कम्पनीका सब ईन्जिनियर उपेन्द्र देवकोटाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved