मन्त्री ज्वालालाई कारबाही गर्ने कि नगर्ने ? जिम्मा प्रधानमन्त्रीकै 

नेपालभ्युज

मन्त्री ज्वालालाई कारबाही गर्ने कि नगर्ने ? जिम्मा प्रधानमन्त्रीकै 

काठमाडौं । भौतिक पूर्वाधार एवम् यातायातमन्त्री प्रकाश ज्वालाका सन्दर्भमा उनको दल नेकपा (एकीकृत समाजवादी) ले कुनै निर्णय नलिने भएको छ ।

सम्पूर्ण अधिकार प्रधानमन्त्रीकै भएको उल्लेख गर्दै एकीकृत समाजवादीका नेताहरूले मन्त्री ज्वालाका सन्दर्भमा पार्टीले कुनै निर्णय नलिने बताएका हुन् ।

“उहाँ (प्रकाश ज्वाला) बारे बाहिर आएका विषयमा अनौपचारिक छलफलहरू त भएका छन् । तर, कुनै निर्णय भएको छैन । प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गर्दैछु, अध्ययन गरेर आवश्यक निर्णय गर्छु भनेपछि हामीले केही भन्न जरुरी पनि रहेन । आवश्यक निर्णय उहाँले नै लिनुहुन्छ,” एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले भने ।

यसअघि २ जनाको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदनले उक्त घटनामा मन्त्री ज्वाला नै जिम्मेवार रहेको निष्कर्ष निकालेको थियो । यसपछि उनले राजीनामा दिनुपर्ने माग राख्दै व्यापक आलोचना भइरहेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतले संसद्‌मा उनको राजीनामा मागेको-माग्यै छन् । उनीहरूले शुक्रबार मात्रै बसेको प्रतिनिधिसभा बैठकमा पनि मन्त्री ज्वालाको राजीनामा माग गरेका छन् ।

समितिको प्रतिवदेनले मन्त्री ज्वाला नै जिम्मेवार रहेको निष्कर्ष निकालिसक्दा पनि मन्त्री पदमै बसिरहनु लज्जास्पद भएको खासगरी एमालेले टिप्पणी गरेको छ । यसअघि बसेको बैठकमा पनि एमाले सांसदहरूले मन्त्री ज्वालाको राजीनामा माग्दै जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भनेका थिए ।

संसद्‌मा फेरि मागियो मन्त्री ज्वालाको राजीनामा

जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूले प्रतिवदेन अध्ययन गरिरहेको र अध्ययन सकिनासाथ आवश्यक कारबाही लिने बताएका थिए । तर, त्यसपछि कुनै निर्णय नलिइँदा समस्या भएको भन्दै आज बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाकी सांसद डा. चन्दा कार्की भण्डारीले भनिन्, “देशमा रोजगारी नपाएपछि विदेश जान्छु भन्ने निर्णयमा पुगेका दुई/दुईजना मान्छेहरू मारिएका छन् । प्रधानमन्त्रीले निर्णय लिन्छु भन्नुभएको पनि तीन दिन भइसक्यो । तर, केही भएन ।”

यता प्रधानमन्त्री प्रचण्डको सचिवालयले पनि अध्ययन भइरहेको बताएको छ । अध्ययन सकिनासाथ आवश्यक निर्णय लिइने सचिवालयका एक सदस्यले बताए ।

स्रोतकाअनुसार यसबारे प्रधानमन्त्री प्रचण्डले एकीकृत मसाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरूसँग छलफल गरेका छन् । तर, कुनै निर्णय लिने काम भने भइसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved