अमेरिकी भिटोले गाजाको अवस्थालाई अझ खतरनाक अवस्थामा धकेल्यो: चीन

नेपालभ्युज

अमेरिकी भिटोले गाजाको अवस्थालाई अझ खतरनाक अवस्थामा धकेल्यो:  चीन

बेइजिङ । गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा पेश मस्यौदा प्रस्तावमा संयुक्त राज्य अमेरिकाले फेरि एकपटक भिटो प्रयोग गरेकामा चीनलगायत विभिन्न पक्षहरूले कडा निराशा र असन्तुष्टि व्यक्त गरेका छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बुधबार अमेरिकी भिटोले गाजाको अवस्थालाई अझ खतरनाक अवस्थामा धकेल्ने बताएका छन् । प्रवक्ता माओ निङले दैनिक प्रेस ब्रिफिङमा अल्जेरियाको मस्यौदा प्रस्तावको विरुद्धमा अमेरिकी मतदान बारे टिप्पणी गर्न सोध्दा सो धारणा राखेका हुन् ।

गाजा द्वन्द्वसँग सम्बन्धित मस्यौदा प्रस्तावमा अमेरिकाले भिटो लगाएको यो तेस्रो पटक हो। माओले लामो समयदेखि प्यालेस्टाइन-इजरायली द्वन्द्वले गाजामा विनाशकारी मानवीय अवस्था निम्त्याएको र क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर असर पारेको बताएका छन्।

अरब राष्ट्रहरूको तर्फबाट अल्जेरियाले पेश गरेको मस्यौदा प्रस्तावमा गाजामा तत्काल युद्धविराम, सबै बन्धकहरूको तत्काल रिहाइ, मानवीय आपूर्तिको सुनिश्चितता पहुँच र जबरजस्ती विस्थापन अस्वीकार गर्न माग गरिएको छ ।

त्यहाँको परिस्थितिले तुरुन्तै आवश्यक कदम चाल्न माग गरेको र मानवताको न्यूनतम आवश्यकताको आधारमा मस्यौदा प्रस्तावलाई सुरक्षा परिषद्का सदस्यहरूको अत्यधिक बहुमतले समर्थन गरेको थियो र चीनले यसको पक्षमा मतदान गरेको माओले बताएका छन् ।

प्रवक्ता माओले सुरक्षा परिषद्लाई थप जिम्मेवार र अर्थपूर्ण कार्यहरू गर्दै गाजामा युद्धविरामका लागि अथक प्रयास गर्न, मानवीय अवस्थालाई सहज बनाउन चीन अन्तरराष्ट्रिय समुदायका सबै पक्षहरूसँग मिलेर काम गर्न तयार रहेको धारणा राखेका छन्  । सिन्ह्रा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved