पैदलयात्रा गरी काठमाडौं आइपुगे देशभरका लघुवित्त पीडित

नेपालभ्युज

पैदलयात्रा गरी काठमाडौं आइपुगे देशभरका लघुवित्त पीडित

काठमाडौं । देशभरका लघुवित्त पीडितहरू काठमाडौं आइपुगेका छन् ।

उनीहरूले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै पूर्वपश्चिम पैदल यात्रा गरी काठमाडौं प्रवेश गरेका हुन् । उनीहरू भरतपुरमा एकीकृत भई निर्णायक आन्दोलनका लागि काठमाडौंमा आएका हुन् ।

उनीहरूले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा सुरु गरेका थिए । १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए ।

मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन् । फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत उनीहरुका माग छन् । यसअघि गएको वर्ष चैत १२ गते लघुवित्त पीडितहरू महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आएका थिए ।

पीडितहरुको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा लघुवित्त पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । काठमाडौंमा मंगलवार प्रदर्शनका क्रममा आन्दोलनमा सहभागी रोल्पाका गगन विश्वकर्माले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको हुनाले आन्दोलन गर्नुपरेको बताए । उनले लघुवित्तीय संस्थाहरुले ऋणीसँग चर्को ब्याज असुलेको बताए ।

उनले भने, ‘लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको हुनाले कसैलाई घरबार बिहीन बनाए, कसैलाई जग्गा लुटेर बैंकमा लुटपाट गराइदिने, बढी चर्को ब्याज असुलेका छन् । बढी पीडितलाई दबाब दिएकाले आन्दोलन गरेका हौँ ।’

समाचारमा भएको त्रुटि सच्याइएको छ । – सम्पादक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved