मान महन्थ दास निर्दोष ठहर, १४ महिनापछि जेलमुक्त

मान महन्थ दास निर्दोष ठहर, १४ महिनापछि जेलमुक्त

जनकपुरधाम । गत १४ महिनादेखि भैरहवा कारागारमा रहेका राजगुठी मटिहानीका मान महन्थ जगरनाथ दास वैष्णव निर्दोष ठहर भएका छन् ।

जिल्ला अदालत रूपन्देहीले मानमहन्थ दासलाई बुधबार निर्दोष ठहर गरेपछि उनी जेलमुक्त भएका हुन् ।

जिल्ला अदालत रुपन्देहीमा बुधवार भएको मुद्दाको अन्तिम सुनुवाइमा दासले सफाइ पाएका छन् । जिल्ला अदालत रुपन्देहीको १ नम्बर इजलासका न्यायाधीश डा.श्रीप्रसाद उप्रेतीले दासलाई सरकारी कागजात किर्ते जालसाजीको मुद्दामा सफाइ दिएपछि उनी कारागार मुक्त भएका छन् ।

न्यायाधीश उप्रेतीको इजलासले जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको सहीछाप कीर्ते गरी रोक्का गरिएको बैंक खाता खुलाएको मुद्दामा दासमाथिको अभियोग दाबी नपुगेको फैसला बुधबार सुनाएको हो ।

यसअघि सोही मुद्दामा अभियोगपत्र दायर भएपछि अदालतले दासलाई गत २०७९ साल पुस महिनामा भैरहवा कारागार पठाएको थियो ।

२०७९ सालको पुस ३ गते रुपन्देही प्रहरीले उनलाई मटिहानी स्थानबाट पक्राउ गरी लगेको थियो । किर्ते जालसाजी मुद्दामा अदालतले पुर्पक्षका लागि उनलाई थुनामा राख्ने आदेश गरेको थियो । त्यसपछि महन्थ दासले उच्च अदालत र सर्वोच्च अदालतमा थुनामुक्त गर्न अपिल गरेका थिए ।

उच्च र सर्वोच्च अदालतले जिल्ला अदालतकै पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर गरेको थियो । रुपन्देहीका सहायक सीडीओ रामचन्द्र अर्यालको किर्ते जालसाजी हस्ताक्षर गरी जिल्ला प्रशासन कार्यालयको छाप समेत प्रयोग गरी ७० लाख भन्दा बढी रुपैयाँ सिरहा जिल्लाका श्रवण यादवको मेगा बैंकको खातामा ट्रान्सफर गरेका थिए ।

गुठी संस्थानले मटिहानी स्थानको महन्तबाट उनलाई हटाइसकेको छ । गुठी संस्थानको मान्यता प्राप्त महन्त नरहे पनि दासले मटिहानी स्थानमा नै रहेर जग्गा बेचबिखन लगायतका काम गर्दै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved