रुसले युक्रेन आक्रमणविरुद्ध बोल्नेको सम्पत्ति जफत गर्ने

नेपालभ्युज

रुसले युक्रेन आक्रमणविरुद्ध बोल्नेको सम्पत्ति जफत गर्ने

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार क्रेमलिनको युक्रेन आक्रमणविरुद्ध बोलेको अभियोगमा दोषी ठहरिएका व्यक्तिहरूको सम्पत्ति जफत गर्न अधिकारीहरूलाई अनुमति दिने कानूनमा हस्ताक्षर गरेका छन् ।

मस्कोले सन् २०२२ मा युक्रेनमा सेना पठाएपछि कडा कानून लागू गर्दै यसको आलोचनामाथि प्रतिबन्ध लगाएको छ र सार्वजनिकरूपमा यसको विरोध गर्नेहरूलाई कडा कारबाही गरेको छ ।

उक्त कानूनले अधिकारीहरूलाई आपत्तिजनक आलोचना गर्ने दोषी व्यक्तिहरूको धन, सम्पत्ति र बहुमूल्य वस्तुहरू जफत गर्न सक्षम बनाउँछ । कानूनले आफ्नो मुलुक छाडेर भागेका तर अहिले पनि घरमा सम्पत्ति भएका महत्त्वपूर्ण रुसी निर्वासितहरूलाई सम्भावितरूपमा निशाना बनाउँछ ।

रुसको संसद् ड्युमाले विधेयकलाई समर्थन गरेको दुई सातापछि पुटिनले उक्त दस्तावेजमा हस्ताक्षर गरेका हुन् । ड्युमाका सभामुख व्याचेस्लाभ भोलोदिनले गत महिना भनेका थिए, “आफ्नो मातृभूमिसँग विश्वासघात गरेका र अहिले हाम्रा सैनिकहरूको पिठ्युँमा थुक्ने बदमाश र गद्दारहरूलाई यो कानूनले निशाना बनाउँछ ।”

मस्कोले नियमितरूपमा सैन्य अभियानको विरोधमा आफ्नो मुलुक छाड्ने लाखौँ रुसीलाई देशद्रोहीको संज्ञा दिएको छ । उक्त कानून युक्रेन आक्रमणको दोस्रो वर्ष प्रवेश र रुसको राष्ट्रपति निर्वाचनभन्दा एक महिनाअघि लागू भएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved