सन्दर्भ भ्यालेनटाइन डे : समाज, प्रेम, विवाह र यौन

सन्दर्भ भ्यालेनटाइन डे : समाज, प्रेम, विवाह र यौन

प्रत्येक वर्ष १४ फेब्रुअरीको दिन धुमधामका साथ युवायुवतीले एक आपसमा प्रेम प्रकट गर्ने आफूले मन पराएको प्रेमी वा प्रेमिकालाई प्रेम प्रस्ताव राख्ने महत्वपूर्ण दिन हो भ्यालेन्टाइन डे ।

१४ फेब्रुअरीका दिन आज फाल्गुन २ गते विश्वका करोडौं प्रेमी/ प्रेमिकाले भव्य रुपमा यो दिवस मनाउदै छन् । टाढा रहेका प्रेमी प्रेमिकाले सञ्चारमाध्यममार्फत प्रेम व्यक्त गर्छन् भने नजिक भएकाले भेटघाट गरी उपहार साटासाट गरि प्रेम अभिव्यक्त गर्ने गर्छन् ।

विवाहित जोडीले पनि दाम्पत्य जीवन थप मजबुत र प्रगाढ बनोेस् भनेर यो दिन विशेष रुपमा मनाउने गर्छन् । भारतबाट आयात हुने करोडौको फूल यो दिवसमा खपत हुने गर्छ ।

मुख्य गरेर आजकै दिन जताततै सहरका गिफ्ट पसलमा प्रेमीप्रेमिकाका लागि उपहार किन्नेको भीड लागेको देखिन्छ । पसलका सञ्चालकहरू गुलाफका थुँगा बेच्नमा व्यस्त देखिन्छन् ।

पहिला नेपालमा प्रेम दिवसको प्रभाव खासै नभए पनि पछिल्लो समय विदेशी प्रभावले प्रेम दिवस मनाउन थालेको देखिन्छ । विशेष गरी प्रेम जोडी, नवदम्पती र प्रेम सम्बन्धमा आउने प्रेमी प्रेमिकाका लागि यो दिवसको आफ्नै महत्व छ ।

यस पर्वले नेपालमा पनि विशेष स्थान बनाउदै गएको छ । आधुनिक युगतर्फ लम्किरहेको हाम्रो नेपाली समाजका युवायुवतीले यो दिवसलाई निकै महत्वका साथ मनाउने गरेका छन् । हुनत प्रेम गर्नेहरुको लागि कुनै विशेष दिनको आवश्यक पनि पर्दैन ।

प्रेम र जीवन एक–अर्काका परिपूरक हुन् । जहाँ जीवन छ त्यहाँ प्रेम हुन्छ । जुन जीवनमा प्रेमको भाव व्यक्त हुँदैन त्यो प्राकृतिक होइन, कृत्रिम हो । कृत्रिमतामा शरीर मात्र हुन्छ, जीवन हुँदैन । जीवनको अर्थ नै जीवन्तता हो । प्रेम शाश्वत सत्य हो । प्रेम जीवनको सबैभन्दा महत्वपूर्ण पाटो हो ।

प्रेमबिनाको जीवन अपूर्ण र अपुरो नै हुन्छ , प्रेमबिनाको जीवनको कल्पना गर्न पनि कठिन छ  ।

प्रेम र यौन

कतिपय मानिस प्रेम र यौनलाई छुट्टा–छुट्टै रूपमा हेर्छन् । प्रेमलाई करुणाको दृष्टिले मात्र हेर्नेहरू यौनलाई प्रेमको विपरीत मान्छन् । यौनलाई मनोवैज्ञानिक आँखाले हेर्न नजान्नेहरू त यौनलाई विकृति पनि भन्छन् । आफू यौन समागमबाटै जन्मिएर पनि यौनलाई छिःछिः र दूरदूर गर्ने विद्वत् वर्ग पनि ठूलै छ ।

यद्यपि यौन र प्रेम फरक विषय होइनन् । प्रेम मानिसको चरित्रगत विशेषता हो भने यौन प्रेमको चरम रूप हो । प्रेमको शारीरिक अभिव्यक्ति यौन हो भने मनको तहमा गरिएको यौन समागम नै प्रेम हो । त्यसैले प्रेम र यौनलाई छुट्टै राख्न सकिँदैन ।

प्रेमबिनाको यौन र यौनबिनाको प्रेम दुवै अपूर्ण हुन् । हामीकहाँ विवाहपूर्वको प्रेम र यौन सम्बन्धबारे खुलेर बहस भएको र निष्कर्ष निकालेको पाइँदैन । जसकारण धेरै समस्या जन्मिएका छन् ।

प्रेम र विवाह

मानव सभ्यताको इतिहासमा सबैभन्दा बढी अनौठा सामाजिक नियम पनि विवाह र यौनसम्बन्धलाई लिएर बनाइएका छन् । समूहमा रहँदाको आदिम युगमा मानिसबीच यौन सम्बन्धमा कुनै नियम थिएन, खुला थियो । क्रमशः यौन सम्बन्धमा प्रतिबन्ध लगाउँदै मानिस आजको अवस्थामा आइपुगेको छ ।

आज विश्वमा सामाजिक न्याय, मानव अधिकार, महिला अधिकारका बारेमा बहस भइरहेका छन् । अझै पनि समाजमा प्रेम, यौन, विवाह र सामाजिक न्यायका विषयलाई लिएर अनेक मतमतान्तर र अन्तर्विरोध कायमै छन् ।

मानव सभ्यताको इतिहासमा यौन र विवाहसम्बन्धी ‘सामाजिक कानुन’ नै प्रधान देखिन्छन् । विश्वका विभिन्न समुदायले यौन र विवाहलाई पवित्रता र अपवित्रताको कसीमा राखेर सामाजिक नियम बनाएको पाइन्छ । प्रेम र विवाह विल्कुलै भिन्न कुरा हुन् ।

प्रेम भनेको भावनाको मिलन हो भने विवाह सामाजिक मिलन । कतिपयले त विवाहलाई मिलन भन्दा पनि सम्झौता भन्छन् । पछिल्लो समय अधिकांश प्रेमसम्बन्ध विवाहमा परिणत भैरहेका छन् ।

विवाहमा परिणत भएका यी प्रेमकहानीहरू सामाजिक दृष्टिमा सुन्दर पनि लाग्छन् । यद्यपि प्रेमजस्तो स्वतःस्फूर्त विषयलाई विवाहजस्तो सम्झौतामा परिणत गर्दा प्रेम कति बाँच्छ र कति मर्छ भन्ने विषयमा चाहिँ कसैले विचार गरेको पाइँदैन ।

विवाहपछिको प्रेम

‘विवाहपश्चात् पतिले पत्नीलाई र पत्नीले पतिलाई मात्र प्रेम गर ।’ विवाहपश्चात्को परपुरुष वा परस्त्री प्रेमलाई हाम्रो समाज पचाउँदैन । सामाजिक आँखाले हेर्दा विवाह पश्चातको परपुरुष/स्त्री प्रेम अनैतिक देखिन्छ, कारण यसले सामाजिक मूल्य–मान्यतालाई ध्वस्त पारिरहेको छ ।

यद्यपि हाम्रो सामाजिक मान्यतालाई थाति राखेर सोच्दा विवाहपछिको प्रेम पनि स्वाभाविक ठहर्छ  । विवाहपछि पतिले पत्नीलाई र पत्नीले पतिलाई मात्र माया गर्नुपर्छ भन्ने कुरा सामाजिक रूपमा जति प्रिय लाग्छ, मनोवैज्ञानिक आँखामा त्यत्तिकै अप्राकृतिक पनि देखिन्छ ।

प्रेम गर्न मनको आकर्षण चाहिन्छ । कुनै व्यक्तिबीच मनको आकर्षण छैन, चाहे ती पति–पत्नी नै किन नहुन्, त्यहाँ करुणा र दयाको प्रेम त बाँकी रहला तर भावनात्मक प्रेम हुँदैन ।

भावनाको प्रेम भनेको जा ेसँग मनको आकर्षण हुन्छ त्यहीसँग हुने कुरा हो । यसकारण पति वा पत्नी दुवैले आफ्नो पति/पत्नीबाट प्रेम प्राप्त गर्न आफ्नो विवाहको लाइसेन्स तेरस्याएर  अधिकार खोजेर हुँदैन भावनात्मक मायाले एक/अर्कालाई जित्न सक्नुपर्छ ।

प्रेम र समाज

कुनै समय थियो, प्रेम गर्नुलाई उत्ताउलोपनको संज्ञा दिइन्थ्यो । प्रेमविवाह गर्नेलाई ‘पोइल गएको’ भन्ने पुस्ताको अवशेष अझै बाँकी छ । नयाँ पुस्ताले प्रेमविवाहलाई ‘पोइल गएको’ त भन्न छोड्यो, तर पनि प्रेमलाई हेर्ने आँखा भने असामजिक नै छ ।

कुनै व्यक्तिले कसैसँग प्रेम गर्यो भने कोसँग प्रेम  गर्यो ?  कस्तो मानिससँग प्रेम गर्यो  ?  प्रेम गरेको मानिस कति धनी हो ?  प्रेम गरेको मानिस प्रतिष्ठित हो कि होइन ? आदि जस्ता प्रश्न अझै पनि उठिरहेका छन्, तर मन त्यस्तो यन्त्र होइन जसले समाजले तोकिदिएको प्रतिष्ठित र धनी मानिससँग प्रेम गरोस् तर मनले त त्योसँग प्रेम गर्छ जोसँग मनको निकटता हुन्छ ।

परिवार र समाजले आफ्नो जात, स्तर, खानदान मिल्नेसँग मात्र प्रेम गर्नु, यौनसम्बन्ध नराख्नु, सम्पन्न खोजेर वा रोजेर विवाह गर्नु भन्छ ।

प्रेम त अझ नापेर जोखेर हुने कुरै होइन । जो पनि मन पर्न सक्छ, के जात के धर्म के स्तर के उमेर के नैतिक के असामाजिक अझ आजकल त के लिङ्ग ? प्रेम र समाज न छुट्ट्याउन सकिने न मिलाउन सकिने जस्ता विषय हुन् । प्रेमलाई सामाजिक धरातलमा न्याय नमिल्ने भएकाले नै प्रेमिप्रेमिकाहरू समाजलाई भुल्छन् ।

हाम्रो जस्तो सामाजिक आँखाले त प्रेमलाई चिन्नै सक्दैन । त्यसैले हाम्रो समाज प्रेमको साधक होइन, बरू बाधक हो ।

प्रेम र लैंगिक भेदभाव

प्रेममा असफलता हुनुका मुख्य कारण लैंगिक भेदभाव मुख्य हो । महिला र पुरुषबीचको स्वतन्त्रतामा बिना भेदभाव हाम्रो समाजमाथि उठ्ने हो भने हाम्रा सम्बन्ध सुमधुर हुँदै जान्थे ।

डिभोर्स, विछोड र टाढा भएर बस्ने अधिकारलाई समाजले अझै पचाउन सकेको छैन । मानिसका जीवनमा यी सबै प्रक्रिया पनि अधिकार हुन् भन्ने समाजले बुझ्न आवश्यक छ ।

विछोडमा पनि प्रेम हुन्छ । तर, सँगै बसेर पनि प्रेम नहुन सक्छ भन्ने समाजले बुझ्न आवश्यक छ । त्यसैले, दुईजनाबीचको समझदारी, विश्वास र प्रेम उच्चकोटिको बनाउन समान अधिकार महत्वपूर्ण विषय हो ।

जसरी पुरुषको स्वतन्त्रतालाई हाम्रो समाजले सहज रूपमा लिने गरेको छ, त्यसरी नै महिलाको स्वतन्त्रतालाई समाजले सजिलै ग्रहण गर्ने हो भने हाम्रा सम्बन्धहरू प्रेममय हुनेछन् ।

प्रेममय समाज निर्माणका लागि संकुचन विचार, कुसंस्कृति, धार्मिक विकृत, पुरातन जडता र अहंकार पुस्तौनी चलन अन्त्य हुन आवश्यक छ । यही कुरालाई सबैले मनन गर्दै हामी सबै ह्याप्पी भ्यालेन्टाइन भनौँ आजैबाट ।

विदेशी संस्कार भनेर भित्रिएपनि सदुपयोग गर्नेको लागि प्रेम दिवस हो । भ्यालेन्टाइन डे विकृतिका रूपमा पनि देखा नपरेको भने होइन । तर सदुपयोग गरे प्रेम प्रकट गर्ने यो भन्दा सुन्दर अवसर के हुनसक्छ ? आफ्नो बाटो आफैले रोज्न पाउने अधिकार सबैलाई छ तर कुन बाटो सही र कुन गलत थाहा पाउन चाहिँ जरुरी छ ।
भ्यालेन्टाइन डे को सुरुवात र भ्लालेन्टाइन डे कुन दिन कसरी मनाउने ?

यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो– अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् ।

त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।

प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

पहिला एक दिनमात्र अर्थात फेबु्रअरी १४ मा भ्यालेन्टइन डे मनाइन्थ्यो । अहिले साताव्यापी रुपमा मनाइन्छ । यसको सुरुवात रोज डेबाट हुन्छ । सुरुवातमा गुलाब दिने, त्यसपछि प्रपोज गर्ने, चकलेट दिने, टेडी दिने, प्रमिस गर्ने,अंकमाल गर्ने र आखिरमा भ्यालेन्टाइन डे मनाइन्छ । भ्यालेन्टाइन डेको ७ फेब्रुअरीदेखि १४ फेब्रुअरीसम्म कुन दिन के पर्छ र कसरी मनाइन्छ भन्ने बारेमा जान्नु आवश्यक छ ।

७ फेब्रुअरी (रोज डे) भ्यालेन्टाइन डेको सुरुवात रोज डेबाट हुन्छ । यो दिन रोज डेको रुपमा मनाइन्छ । आफ्नो भावनाको व्यक्त गर्नको लागि फरक फरक रंगको गुलाबको प्रयोग गर्न सकिन्छ । प्रेमको लागि रातो र साथीको लागि पँहेलो गुलाब दिइन्छ । आफूलाई मनपर्ने मानिसलाई रातो रंगको गुलाब दिएर प्रेम प्रस्तावको रुपमा प्रदान गर्न सकिन्छ । फुल स्वीकार भएमा प्रेम प्रस्ताव स्वीकार गरेको भन्ने बुझिन्छ ।

८ फेब्रुअरी (प्रपोज डे) यो दिन प्रेमी–प्रेमीकाहरु आफूलाई मनपर्ने व्यक्तिलाई प्रेम प्रस्ताव राख्न राख्दछन् । यदि कसैलाई मन पराउन हुन्छ भने यो दिन उसका लागि उर्पयुक्त हुन्छ ।

९ फेब्रुअरी (चकलेट डे) यो दिन चकलेट डेको रुपमा मनाइन्छ । गुलाबको फूल दिएर प्रपोज गरिसकेपछि प्रेमसम्बन्धलाई प्रगाढ बनाउनको लागि चकलेटबाट सुरुवात गरिन्छ । यस दिन आफ्नो प्रेमी–प्रेमीकाको लागि चकलेट दिएर आफ्नो सम्बन्धमा चकलेट जस्तै मिठास भर्न सकिन्छ । मिठाससँगै सम्बन्धलाई अघि बनाउन सकिन्छ । चकलेटको स्वादजस्तै प्रेमलाई पनि मिठासको आवश्यकता हुन्छ ।

१० फेब्रुअरी (टेडी डे) यस दिन सफ्ट र सुन्दर टेडी बियर दिएर आफ्नो प्रेम अझ गहिरो र मजबुत बनाउने दिन हो । चकलेटबाट अघि बढेर तपाईको सम्बन्ध टेडीसम्म आइपुग्छ । यो दिनमा धेरैले आफ्नो मन र मायाको अवस्था अनुसार आफ्नो नजिकको मानिसलाई टेडी उपहार स्वरुप दिन्छन् ।

११ फेब्रुअरी (प्रमिस डे) प्रमिस डे अर्थात वाचा गर्ने दिन । यो दिन धेरै खास हुन्छ । प्रेमी जोडीहरुको लागि यो दिनले धेरै महत्व राख्छ । यस दिन मन परेको व्यक्तिसँग वा आफ्नो प्रेमी–प्रेमिकासँग प्रेम सम्बन्ध निभाउने गर्छन् । आफ्नो प्रेमसम्बन्ध मजबुत बनाउनको लागि एक अर्कासँग प्रमिस गर्छन् । एक अर्कासँग प्रेमसम्बन्ध इमान्दारिताको साथ निभाउने संकल्प गरेका हुन्छन् ।

१२ फेब्रुअरी (हग डे)यस दिन आफ्नो प्रेमी प्रेमीकाको लागि प्रेमले भरिएको हग गरेर आफ्नो प्रेमी–प्रेमीकालाई बिशेष महसुस गराउछन् । यस दिन प्रेम प्रगाढ बनाउने अवसर हुन सक्छ । यो दिन एक प्रेम र आत्मियता महसुस गराउने दिन हो । त्यसैले आफ्नो प्रेमी–प्रेमिकासँग आत्मियताको साथ ‘टाइट हग’ गरेका हुन्छन् ।

१३फेब्रुअरी (किस डे) यस दिन प्रेमी प्रेमी/प्रेमीकालले चुम्वनको माध्यमबाट आफ्नो प्रेम दर्शाउछन् ।

१४ फेब्रुअरी (भ्यालेनटाइन डे) यो दिन प्रेम गर्नेहरुको लागि सबैभन्दा महत्वपूर्ण दिन हो । यस दिन आफ्नो प्रेमी–प्रेमीकासँग सारा दिन विताउने गर्छन् । धेरैले आफ्नो प्रेमी–प्रेमीकालाई गिफ्ट दिन्छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved