कास्कीका तीन पालिकामा मंगलबार ट्होटेँको बिदा

नेपालभ्युज

कास्कीका तीन पालिकामा मंगलबार ट्होटेँको बिदा

कास्की । यहाँका तीन स्थानीय तहले तमु (गुरुङ) जातिको मौलिक एवं परम्परागत पर्व ट्होटेँका अवसरमा मंगलबार स्थानीय बिदा दिएका छन् ।

जिल्लाका मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा बिदा दिइएको हो । गाउँ कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने पालिकाले जनाएको छ । स्थानीय तहले सूचना प्रकाशित गरी बिदा दिँदै ट्होटेँको शुभकामनासमेत दिएका छन् ।

गुरुङ समुदायले प्रत्येक वर्ष चैत र साउन महिनाको अन्तिम मंगलबार सडकमा निस्केर धुमधामका साथ ट्होटेँ पर्व मनाउँदै आएका छन् । गुरुङ भाषामा ‘ट्हो’ भनेको राज्य र ‘टें भनेको धपाउने अर्थात् राज्यबाट शत्रुलाई लखेट्ने भन्ने बुझिन्छ । विशेष गरी गण्डकी प्रदेशका कास्की, लमजुङ, तनहुँ, स्याङजा, पर्वत लगायतका जिल्लामा बस्ने गुरुङले आफ्नो ऐतिहासिक एवं ठूलो सांस्कृतिक चाडका रुपमा ट्होटेँ मनाउने गर्दछन् ।

यसैबीच तमुधिँ नेपालले पोखरामा धुमधामका साथ ट्होटेँ पर्व मनाउने तयारी गरेको छ । तमुधिँका अध्यक्ष हुमबहादुर तमुले पर्वका अवसरमा पोखरामा विगतका वर्षमा झै यस वर्ष पनि बाजागाजा, झाँकीसहित पोखरा नयाँबजारबाट र्‍याली निकालिने र सभागृहमा समारोह आयोजना गरिएको जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved