काठमाडौं। हनुमानढोका दरबारस्थित नाशल चोकमा रूद्रायणी देवीको १२ वर्षे शिकाली जात्राको नाच प्रदर्शन गरिएको छ। गत मङ्सिर १३ गते ललितपुरको खोकनाबाट सानो खोकना हुँदै बाहिरिएको यो जात्राको नाच माघ १९ गते ललितपुरको पाटनमा देखाइएको थियो।
पाटनको विभिन्न स्थानमा प्रदर्शन गरिएपछि माघ २० गते यो जात्रा खोकना फर्केको थियो। जात्रा काठमाडौं उपत्यकाको दक्षिणमा अवस्थित ऐतिहासिक पुरानो नेवा: बस्ती खोकनामा मनाउने चलन छ। सो बस्तीमा हरेक १२ वर्षमा मनाइने यो जात्रा खोकनाबाहिर पनि मनाउने गरिएको छ।
सोही क्रममा श्री रुद्रायणी देवी १२ वर्षे जात्राको क्रममा चैत्र २२ गते शिकाली देवगणहरू काठमाडौंको पचली आइपुगेका थिए। पचलीबाट मुकुट र वस्त्र लगाई काठमाडौँको विभिन्न स्थानहरू पचली, मचली, पुखुसि, चल्खु, स्वताःमुगः, सिकाली, ह्युमत, तुकंबहाः, प्याफः लगायतका स्थानमा पुगी मखन महादेव हनुमानढोका हुँदै चैत २३ गते शुक्रवार नासलचोकमा नचाइएको छ।
यो नाच चैत २९ र ३० गते तलेजु भवानीको प्राङ्गण त्रिशुलचोकमा दुई दिन नचाइने छ। यस क्रममा २०८१ साल वैशाख ९ र १० गते हनुमानढोका स्थित काल भैरवको पछाडि नचाहिसकेपछि श्री रुद्रायणी देवीको नाच सम्पन्न गरिनेछ।
यो नाच, नेवारी सांस्कृतिक तान्त्रिक नाच मध्येको एक हो।
Facebook Comment
Comment