नेपालको अर्थतन्त्र गतिशील बन्दै, चाँडै दबाबमुक्त हुने अर्थमन्त्रीको दाबी

नेपालभ्युज

नेपालको अर्थतन्त्र गतिशील बन्दै, चाँडै दबाबमुक्त हुने अर्थमन्त्रीको दाबी

काठमाडौं । कोरोना महामारी, विश्व आर्थिक मन्दी, रुस-युक्रेन युद्धले निम्त्याएको विसम परिस्थितलगायत यावत समस्याको पिरलोलाई थेग्न नसकेर खस्किएको नेपालको अर्थतन्त्रले बिस्तारै लय समात्दै गएको छ ।

अर्थतन्त्र सुधारका लागि विभिन्न निकायले गरेका प्रयासहरू सार्थक बन्दै गइरहेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट पुष्टि हुन्छ । नेपाल राष्ट्र बैंकले मंगलबारमात्र चालु आर्थिक वर्षको अर्धवार्षिक वित्तीय समीक्षा सार्वजनिक गरेको थियो। जसमा मुलुकका अधिकांश सूचकहरू सकारात्मक बनेकाे दाबी छ ।

सोअनुसार नेपालका अर्थतन्त्रको अधिकांश बाह्य सूचकहरूमा सकारात्मक सुधार देखिएको छ । यद्यपि, केही आन्तरिक सूचकहरू भने अझै संकुचनको अवस्थामा नै रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को ६ महिनामा कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले कमी आएर ६ खर्ब ९३ अर्ब २० करोड रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो ।

गत पुस महिनासम्ममा विप्रेषण आप्रवाह २५ दशमलव ३ प्रतिशतले बढेर ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव ३ प्रतिशतले बढेको थियो । यो अवधिसम्ममा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा छ ।

कूल विदेशी विनिमय सञ्चिति १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । सरकारको खर्च ५ खर्ब ६६ अर्ब ६२ करोड र राजस्व परिचालन ४ खर्ब ९६ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६ दशमलव ६ प्रतिशतले बढेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४ दशमलव ९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४ दशमलव ९ प्रतिशत रहेको छ ।

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५ दशमलव २६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७ दशमलव २६ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा मूल्यवृद्धि ६.५ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने सरकारको लक्ष्य छ ।

सरोकारवालाको भनाइ 

हुन त अर्थमन्त्री डा.प्रकाश शरण महतले केही महिना अघिदेखि नै देशको अर्थतन्त्रले लय समातेको कुरा बताउँदै आइरहेका थिए । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सोही प्रसंगलाई जोडेका छन् ।

‘विगतका दिनमा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भयो, उक्त खर्चको दायित्व तिर्दा अर्थतन्त्र केही दबाबमा परेको थियो’, उनले भने ‘पुँजीगत खर्च अब बढ्छ, त्यो बिस्तारै समाधान हुँदैछ, अर्थतन्त्र लयमा फर्कँदै छ ।’

उनले अबका दिनहरूमा पनि निजी क्षेत्र, सञ्चारकर्मी, सरकार, नागरिक समाज, समग्र जनता मिलेर मुलुकको अर्थतन्त्रलाई सपार्ने बाटोमा लाग्नुपर्ने बताएका छन् । सरकारले विकास खर्चलाई कार्यान्वयन गर्न नसकेको विषयमा उनी भन्छन्, ‘हामीसँग पुँजी छ, तर खर्च गर्न समस्या भएको छ, आगामी दिनमा विकास खर्च पनि बढ्छ ।’

के भन्छन् निजी क्षेत्र ?

अर्थमन्त्री महतका भनाइहरूमा समर्थन जनाउँदै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल पछिल्लो समय नेपालको अर्थतन्त्र गतिशील बन्दै गएको बताउँछन् ।

यद्यपि, नेपालको बैंक तथा वित्तीय क्षेत्रबाट जुन खालको कर्जा प्रवाह गर्नुपर्ने हो त्यो हुन नसकेको उनको भनाइ छ । अर्थतन्त्रको बाह्य सूचकहरू केही सबल हुँदै गए पनि आन्तरिक सूचकहरूको अवस्था नसुध्रिएको उनको बुझाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रका सूचकांक पछिल्लो समय सकारात्मक गतिमा जाँदा पनि उक्त सकारात्मक कुरा आम जनतामा जान नसकेको बताए ।

राष्ट्र बैंकको तथ्यांकले देशको अर्थतन्त्र सुध्रँदै गरेको देखाए पनि त्यसको महसुस व्यवसायीहरूले गर्न नसकेको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved