टिप्पणी

नीतीश कुमारको राजनीतिक यात्रा : ‘सुशासन बाबु’देखि ‘कुर्सी-उस्ताद’सम्म

बिहारी राजनीतिलाई भारतमा मात्र हैन, दक्षिण एशियाभरि नै निम्नकोटीको मानिन्छ । नीतीश कुमारले यस्तो राजनीतिको प्रतिष्ठा उठाउलान् भन्ने अपेक्षा थियो । तर, जीवनको उत्तरार्धतिर उनी आफैँ बिहारी राजनीतिको खेलाडी सावित भएका छन् । बिहारको दुर्भाग्यलाई नीतीशले बदल्न सकेनन् । बरु उल्टै बिहारी राजनीतिले उनलाई बदलिदियो ।

नेपालभ्युज

नीतीश कुमारको राजनीतिक यात्रा : ‘सुशासन बाबु’देखि ‘कुर्सी-उस्ताद’सम्म

काठमाडौं । राजनीतिमा सत्तास्वार्थले ‘राम्रा’ भनिएका व्यक्तित्व पनि कसरी क्षयीकृत, स्खलित र धुमिल हुन्छन्, त्यसको गतिलो दृष्टान्त बन्न पुगेका छन् भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमार ।

कुनै बेला भारतीय राजनीतिमा उनलाई एक राम्रा, स्वच्छ छवि भएका, देश र प्रदेशका लागि केही राम्रो गर्न चाहने, तीव्र इच्छाशक्ति र प्रतिभा भएका असल राजनीतिज्ञका रूपमा हेरिन्थ्यो ।

कतिपयले उनलाई सम्भावित प्रधानमन्त्रीका रूपमा समेत पूर्वानुमान गर्थे । उनी सन् १९७० को दशकको ‘जेपी आन्दोलन’ बाट उदाएका एक युवा राजनीतिज्ञ थिए । सामाजिक न्याय र सुशासनको पक्षमा उनको दृढ अडानको चौतर्फी प्रशंसा हुन्थ्यो ।

‘जेपी आन्दोलन’ मा सहभागिता र त्यसपछिका केही वर्ष नीतीश कुमार र लालुप्रसाद यादव बिहारको राजनीतिमा ‘उम्दा जोडी’ मानिन्थे । जनता पार्टीको विघटन र जनता परिवार दलहरूको व्यापक विभाजनका लागि उनीहरू मात्र जिम्मेवार थिएनन् ।

जयप्रकाश नारायणको जुन निस्कलङ्क छवि थियो, उनको आन्दोलनबाट जन्मिएका ‘चेलाचपेटा’ हरूले भने त्यो आदर्श र नैतिकतालाई कायम राख्न सकेनन् । जेपी आन्दोलनबाट उदित भएको ‘समाजवादी धार’ परिवारवाद, भ्रष्टाचार र गुटतन्त्रमा फस्दै गएपछि भाजपाले उनीहरूलाई राम्रैसँग माथ गर्‍यो ।

त्यसो त यो सङ्कट कथित लोहिया वा जेपीवादीहरूको मात्र थिएन, कांग्रेस-कम्युनिष्टहरू पनि ठीक त्यस्तै समस्यामा फसेका थिए । बिहारको राजनीतिमा जेपीवादीहरू लालुप्रसाद यादवको परिवारवाद, भ्रष्टाचार र गुटबन्दीले थङ्थिलो हुन लागेको बेला सन् १९९४ मा जनता दलको एक हाँगो फुटाएर जर्ज फर्नान्डिज र नीतीश कुमारले समता पार्टी बनाए । यो पार्टी सन् २००३ मा शरद यादव नेतृत्वको गुटसँग मिलेपछि जनता दल युनाइटेड (जेडियू) भयो ।

केन्द्रमा भाजपा नेतृत्वको अटलबिहारी बाजपेयी सरकार हुँदा सन् २००० मा एनडिए गठबन्धनको तर्फबाट नीतीश कुमार पहिलोपटक मुख्यमन्त्री भएका थिए । तर, त्यसबेला उनले ७ दिनमा सरकार छोड्नपरेको थियो । सन् १९८५ मा पहिलोपटक उनले जनता दलको तर्फबाट विधानसभा सदस्यको निर्वाचन जितेका थिए ।

अब उनले नवौंपटक मुख्यमन्त्रीको शपथ लिएका छन् । अनौठो के छ भने उनको दल कहिल्यै बिहार विधानसभामा पहिलो भएको छैन । बहुमत प्राप्त गर्ने त कुरै छोडौँ । त्रिशङ्कु संसद्‌मा तेस्रो दलले यतिधेरै सत्ता सञ्चालनको लाभ पाएको सायद संसारकै एक मात्रै उदाहरण हो ।

पछिल्लोपटक करिब डेढ वर्षअघि भाजपा नेतृत्वको एनडीए गठबन्धन परित्याग गर्दै उनले ‘बरु जीवन त्याग गर्ने तर, अब यो गठबन्धनमा नफर्किने’ बताएका थिए । नीतीशको त्यो भनाइ भाजपा र एनडिए गठबन्धनसँग निर्णायक सम्बन्धविच्छेदजस्तो सुनिएको थियो ।

भाजपा नेता अमित शाहले नीतीश कुमारप्रति कठोर टिप्पणी गरेका थिए । उनका लागि एनडीए गठबन्धनको बाटो सधैँका लागि बन्द भएको उद्घोष गरेका थिए ।

त्यो बेला नीतीश कुमार तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल र अन्य विपक्षीको समर्थनमा आठौँपटक मुख्यमन्त्री भए । लगत्तै उनी केन्द्रीय राजनीतिमा कांग्रेस नेतृत्वको विपक्षी २८ दलीय ‘आइएनडीआईआए’ गठबन्धनमा सक्रिय हुन थाले ।

आइतबारको उलटफेरिपछि ती सबै घटनाक्रम नाटक-नौटङ्की सावित भएका छन् । नीतीश कुमार भाजपाको समर्थनमा नवौंपटक मुख्यमन्त्री भएका छन् । उनलाई अब एक सम्भावनायुक्त राजनेताका रूपमा हैन, सत्तामोहका लागि जता पनि पल्टिन सक्ने ‘पल्टु चाचा’ र ‘कुर्सी-उस्ताद’ को संज्ञा दिन थालिएको छ ।

बिहारको सत्ता राजनीतिमा नीतीश कुमारका प्रारम्भिक कार्य यद्यपि प्रशंसनीय मानिन्छन् । लालु-राबडी युगको गुण्डागर्दी र ‘जङ्गल राज’ अन्त्य गर्न उनले निकै ठूलो योगदान गरेका थिए । यिनै कार्यले उनलाई ‘सुशासन बाबु’ को संज्ञा दिलाएको थियो । तिनै ‘सुशासन बाबु’ अब ‘कुर्सी-उस्ताद’ का रूपमा चित्रित हुन थालेका छन् ।

सन् २०१४ सम्म उनको राजनीतिक छवि राम्रो थियो । २०१४ को लोकसभा निर्वाचनमा शर्मनाक हारपछि त्यसको नैतिक उत्तरदायित्व लिँदै उनले मुख्यमन्त्रीबाट राजीनामा गरेका थिए । साथै, आफ्नो वर्चस्व र बहुमत भएको संसदीय दलबाट ‘महादलित’ समुदायका जितनराम माझीलाई मुख्यमन्त्री बनाएका थिए । यी घटनाक्रमलाई नीतीश कुमारको नैतिक राजनीति मानिएको थियो । त्यसपछिका दिनमा उनी केन्द्रीय राजनीतिमा जाने र प्रधानमन्त्री हुन सक्ने आकलन भएका थिए ।

नीतीशप्रतिका राजनीतिक आकलन त्यो बिन्दुबाट नकारात्मक हुन थाले जब उनले तीनै जितनराम माझीलाई बीचमै हटाएर फेरि आफैँ मुख्यमन्त्री भए । जेडियु, आराजेडी र कांग्रेस मिलेर महागठबन्धन बनाए ।

भाजपा र एनडीए गठबन्धनसँगको सहकार्यले राजनीतिमा नीतीश कुमार विपक्षी नेताका रूपमा चित्रित हुन थालेका थिए । तर, त्यसपछिको दिनमा पनि उनको राजनीतिक कार्यदिशा स्थिर रहेन ।

उनी कहिले यता र कहिले उता गर्दै राजद र भाजपाको बीचमा खेलिरहे । ‘सुशासन बाबु’ छविले उनलाई बिहारको राजनीतिमा टिकायो तर, बलियो भने हुन सकेनन् ।

विधान सभामा नीतीश कुमारको दल जेडियुको ४५ सिट मात्रै छ । पहिलो दल राजदको ७९ सिट छ भने भाजपा ७८ सिटसहित दोस्रो ठूलो दलका रूपमा छ । पहिलो र दोस्रोभन्दा करिब आधा सङ्ख्याको तेस्रो दल भए पनि नीतीशले सत्ता राजनीतिको जोडघटाउ वा सौदाबाजी यसरी गर्दै आएका छन् कि मानौँ उनी ‘किङ मेकर’ नभएर स्वयम् ‘किङ’ हुन् ।

नीतीश कुमारको छवि अब त्यति राम्रो छैन, उनको शासनप्रशासन पनि पहिलेको तुलनामा कमजोर हुँदै गएको छ । तर, भाजपा र राजदको सम्बन्ध यति तिक्त छ कि नीतीशलाई सत्ता सुम्पिन ती हर्दम तयार देखिन्छन् ।

बिहारी राजनीतिलाई भारतमा मात्र हैन, दक्षिण एशियाभरि नै निम्नकोटीको मानिन्छ । नीतीश कुमारले यस्तो राजनीतिको प्रतिष्ठा उठाउलान् भन्ने अपेक्षा थियो । तर, जीवनको उत्तरार्धतिर उनी आफैँ बिहारी राजनीतिको खेलाडी सावित भएका छन् ।

बिहारको दुर्भाग्यलाई नीतीशले बदल्न सकेनन् । बरु उल्टै बिहारी राजनीतिले उनलाई बदलिदियो । नीतीश कुमार शासनकालका केही सफलताका बाबजुद बिहार आज पनि भारतको सबैभन्दा अल्पविकसित र कमजोर प्रदेश हो, जसको प्रतिव्यक्ति आए वार्षिक १ हजार डलरभन्दा कम नै छ । बिहारी जनता ठूलो सङ्ख्यामा अन्य प्रदेशमा गएर रोजगार गर्दछन्, जहाँ उनीहरूले अनेक प्रकारको अपमान भोग्न पर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved