जनताले भोगिरहेका समस्याको समाधान हुनेगरी योजना निर्माण गर्न रक्षामन्त्री खड्काको निर्देशन

नेपालभ्युज

जनताले भोगिरहेका समस्याको समाधान हुनेगरी योजना निर्माण गर्न रक्षामन्त्री खड्काको निर्देशन

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले १६ औँ योजनाका सन्दर्भमा राष्ट्रिय योजनाका पदाधिकारीहरूसँग छलफल गरेका छन् ।

मंगलवार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्काले योजना आयोगका उपाध्यक्ष, सदस्य र सचिवालयका अधिकारीहरूसँग आगामी आवधिक १६ औँ योजनाका बारेमा छलफल गरेका हुन्  । उपप्रधानमन्त्री खड्काले विगतमा बनाएका योजना के कति कारणले पूरा भएनन् ? तिनको समस्या पत्ता लगाई समाधानका उपायसहित १६ औँ योजना तर्जुमा गर्न सुझाव दिए ।

उनले १६ औँ योजना बनाउँदा विभिन्न कारणले विकास निमार्णमा पछि परेका प्रदेशहरूलाई क्षतिपूर्ति सहितको योजना बनाउने विषयमा पनि योजना आयोगका पदाधिकारीहरूको ध्यानाकर्षण गराए । यसरी योजना बनाउँदा सम्बन्धित प्रदेशका जनताले अनुभुति गर्ने र व्यवहारमा लागू हुनेगरी बनाउनेपर्ने उपप्रधानमन्त्री खड्काको सुझाव थियो ।

उनले आगामी योजना तर्जुमा गर्दा देशको भूगोल र मौसमअनुसार कहाँ के उत्पादन हुने हो त्यसको ठोस अनुसन्धान गर्न र किसानको उत्पादनले बजार पाउने सुनिश्चितता गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्न पनि आग्रह गरे ।

अहिले विकास निमार्ण गर्दा देखापरेका धेरैजसो समस्या र तिनको समाधानसहित नयाँ योजना तर्जुमा गर्नुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री खड्काले अहिले विकास निमार्ण गर्दा देखापरिरहेका झन्झटिलो व्यवस्थाको सही विकल्प पहिचान गरी योजना तर्जुमा गर्न आग्रह गरे ।

उपप्रधानमन्त्री खड्काले कुनैपनि योजना बनाउँदा जनताले दैनिक रुपमा भोगिरहेका समस्याको समाधान हुने र जनताले पाउने सेवा सुविधालाई थप सहज बनाउने गरी काम गर्न उनले आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved