अरूको छोरीलाई आफ्नो भन्दै नागरिकता दिलाएको आरोपमा वीरगन्जका मेयरविरुद्ध उजुरी

नेपालभ्युज

अरूको छोरीलाई आफ्नो भन्दै नागरिकता दिलाएको आरोपमा वीरगन्जका मेयरविरुद्ध उजुरी

वीरगन्ज । फर्जीको विवरणको आधारमा रुविना श्रेष्ठलाई छोरी बनाएर नागरिकता दिलाएको भन्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध कारबाहीको उजुरी परेको छ ।

मेयर सिंहविरुद्ध कारबाहीको माग गर्दै प्रधानमन्त्रीको कार्यालयदेखि लिएर गृह मन्त्रालयसम्म उजुरी परेको हो । यसअघि पर्सा जिल्ला प्रशासन कार्यालय, पर्सा प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सीआइबी तथा राष्ट्रिय सतर्कता केन्द्रसम्म उजुरी परेको थियो ।

अरूको छोरीलाई आफ्नो छोरी भन्दै नागरिकता दिलाएको आरोप छ । पर्साका स्थानीय तथा कांग्रेस समर्थकहरूले पहिलोपटक पुस २४ मा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

योसँगै मेयर सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालयमा दर्जनभन्दा बढी उजुरी परेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यही विषयमा छानबिनको माग गर्दै पर्सा प्रहरीमा अर्को जाहेरी परेको छ । मेयर सिंहसहित नागरिकता लिने रुविना श्रेष्ठमाथि कारबाहीको माग गर्दै उजुरी परेको छ ।
मेयर सिंहसहित २ जनाविरुद्ध फौजदारी अपराध अन्तर्गत जाहेरी परेको पर्सा प्रहरी प्रमुख कोमल शाहले बताए ।

यसैगरी नागरिकता प्रकरणबारे यही साताभित्रै सत्य तथ्य छानबिनको माग गर्दै गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालयमा समेत उजुरी दिइएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पर्साका नेताहरूले भेटघाट गर्दै सत्य तथ्य छानबिनको माग गर्दै उजुरी दिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

नागरिकता प्रकरणबारे सञ्चार माध्यममा समाचारहरू आउन थालेपछि पर्साको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले खोजबिन सुरु गरेका बताइएको थियो । नागरिकता बनाउँदाको अनुसूची फर्म नै गायब बनाएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयबाटै अनुसूची फर्म गायब भएपछि यो विषय झन् शंकास्पद रहेको भन्दै प्रजिअ भुसालले सहायक सीडीओ शिव लम्सालको नेतृत्वमा छानबिन समितिसमेत गठन गरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved