कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र मतभेद छ : अध्यक्ष लिङदेन

नेपालभ्युज

कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र मतभेद छ : अध्यक्ष लिङदेन
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र दुई मत रहेको बताएका छन‍् ।

शुक्रवार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टी भित्र फरक मत रहेको बताएका हुन् ।  उनले एउटा मत सभामुख लिनु नहुने पक्षमा रहेको र अर्को मत सभामुख लिनु राम्रो हुने पक्षको रहेको उल्लेख गर्दै यस विषयमा पार्टीको आगामी केन्द्रिय कार्यसमितिको बैठकमा छलफल गरिने बताए ।

उनले आफू देश बाहिर भएको बेलामा कोशी प्रदेशले निर्णय गरेर सभामुख लिएको पनि स्पष्ट पारे ।

उनले भने, ‘सभामुखमा हामी कोशीमा मात्रै सहभागि भएको होइन । योभन्दा अगाडी नै वागमतीमा पनि छ हाम्रो सहभागिता । लुम्बिनी प्रदेशमा उपसभामुखको रुपमा हाम्रो सहभागिता छ । यो नौलो कुरा होइन । तर अहिले परिवर्तित सन्दर्भमा कोशी प्रदेशमा सभामुख पदमा हामी जाने कि नजाने भन्ने कुरा छलफलकै विषय थियो ।’

अध्यक्ष लिङदेनले राप्रपाले फागुनबाट राजधानी केन्द्रित आन्दोलन गर्ने बताए । उनले शान्तिपूर्ण ढंगले जनदबाब सिर्जना गर्ने गरी आन्दोलन गरिने बताए ।

अध्यक्ष लिङदेनले गणतन्त्रवादी राजनीतिक दलहरु र राजासमेत एकै ठाउँमा बसेर देशमा नयाँ प्रकारको समझदारी गर्नुपर्ने बताए। उनले देश निरन्तर रुपमा ओरालो लागिरहेको भन्दै देशलाई उठाउने कुनै प्रयत्न नभएको बताए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकिय संस्थाको रुपमा राजा हुने व्यवस्था गर्नुपर्ने बताए। उनले प्रदेशलाई खारेज गर्दै केन्द्र र स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताए ।

उनले राष्ट्रिय सभाको अस्तित्वको सम्बन्धमा पुनःविचार गर्नुपर्ने बताए । जनप्रतिनिधिहरुको संख्यामा व्यापक कटौती गर्नुपर्ने र संवैधानिक निकायमा नियुक्ति दिँदा योग्यता र क्षमताको आधारमा दिनुपर्ने बताए । उनले वर्तमान निर्वाचन प्रणाली भ्रष्ट भएको भन्दै पूर्ण समानुपातिक प्रतिनिधि सभाको व्यवस्था हुनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved