डेनमार्ककी नयाँ रानी : यस्ता छन् आनी-बानी, यस्तो छ जीवन-कहानी

म्यारी आफूलाई अष्ट्रेलियन भन्न मन पराउँछिन् । तर, उनका मातापिता भने खासमा स्कटिस थिए । मान्छे त्यसै पनि एक ‘ग्लोबल सिटिजन’ बन्दै गएको छ । भूमण्डलीकृत विश्वमा कसको भाग्य कहाँ पुगेर चम्किन्छ, कसले भन्न सक्दछ ? स्कटिस मातापिताबाट अष्ट्रेलियामा जन्मिएकी म्यारी डेनमार्ककी रानी बन्लिन् भन्ने कसले सोचेको थियो ?

नेपालभ्युज

डेनमार्ककी नयाँ रानी : यस्ता छन् आनी-बानी, यस्तो छ जीवन-कहानी

काठमाडौं । राजतन्त्रमा गद्दी त्यागको घटना बिरलै हुन्छ । अक्सर राजारानीको मृत्युपछि मात्रै सिंहासन नयाँ पुस्तामा हस्तान्तरण हुन्छ । तर, जब कुनै राजारानीले आफूखुसी सिंहासन त्याग गर्छन्, त्यस्तो समाचारले धेरैको ध्यान खिच्दछ ।

नयाँ वर्ष सन् २०२४ को शुभकामना सन्देशबाटै डेनमार्ककी महारानी मारर्गेथ द्वितीयाले गद्दी त्यागको घोषणा गरिदिइन् । कारण उनले आफ्नो निजी स्वास्थ्य स्थितिलाई देखाइन् । उनको यो घोषणा जनवरी १४ बाट लागू हुनेछ । जनवरी १४ उनको राज्यारोहणको ५२औं वार्षिक उत्सवको दिन हो ।

रानी मार्गरेथ द्वितीया राजा फ्रेडरिख चौथोकी जेठी छोरी थिइन् । पिताको मृत्युपछि सन् १९७२ जनवरी १४ मा उनी डेनमार्ककी महारानी भइन् । सन् १९६६ मा फ्रान्सेली कुटनीतिज्ञ हेनरी लाबोर्डे दा मोनपेजाटसँग विवाह भयो । उनका दुई छोरा छन् ।

उनका जेठा छोरा राजकुमार फ्रेडरिख अब फ्रेडरिख पञ्चमका नामले डेनमार्कको राजा हुनेछन् । र, उनकी रानी हुनेछिन— म्यारी डोनाल्सन ।

नयाँ रानी म्यारी डोनाल्डसनको कथाको सबैभन्दा रोचक पक्ष के हो भने उनी अष्ट्रेलियन युवती हुन्, तस्मानियामा जन्मिएकी । डेनमार्कका राजकुमार फ्रेडरिखले म्यारी डोनाल्डसनलाई सन् २००० को सेप्टेम्बरमा पहिलोपटक सिड्नीको एक बारमा भेटेका थिए  ।

पहिलो भेटमै उनीहरू एकअर्कालाई देखेर मुस्कुराएका थिए । हात मिलाएका थिए । म्यारी डोनाल्डसनलाई यो थाहा थिएन कि ती युवक डेनमार्कका राजकुमार र हुनेवाला राजा हुन् । केहीबेरपछि कोही आएर उनलाई सोध्यो— के तिमीलाई थाहा छ कि जससँग तिमीले हात मिलायौ, त्यो को हो ?

उनलाई थाहा हुने कुरै भएन । तर, त्यो मानिसले बताएको थियो कि युवक डेनमार्कको राजकुमार हो । राजकुमार फ्रेडरिख सिड्नी ओलम्पिकको क्रममा त्यहाँ पुगेका थिए । उनी त्यो दिन होटल स्लीप इनको पब बारमा थिए । म्यारी राजकुमार फ्रेडरिखको बार पार्टीमा कसरी पुगिन् त ? कथाको भिन्नै लहरो छ ।

राजकुमार फ्रेडरिखले आफ्ना एकजना अष्ट्रेलियन मित्रलाई त्यहाँ बोलाएका थिए । तिनले आफ्नी बहिनीलाई पनि राजकुमारको पार्टीमा सामेल गर्ने मन बनाए । म्यारी भने तिनकी बहिनीकी साथी थिइन् । म्यारी आफ्नी साथीसँग सिडेनीको रुम शेयर गरेर बस्थिन् ।

राजकुमार फ्रेडरिखको ध्यान साथीको बहिनीले हैन, बहिनीकी साथी म्यारीले खिचिन् । पब बारमै दुवैले केहीबेर गफ गरे । छुट्ने बेलामा राजकुमार फ्रेडरिखले म्यारीको फोन नम्बर मागे । अर्कोदिन फ्रेडरिखले उनलाई फोन गरे । उनलाई मन पराउन थालेको बताए । उनीहरूको सम्बन्ध सन् २००४ मा विवाहमा परिणत भयो ।

सिड्नी बारमा राजकुमारसँग पहिलो भेट हुँदा उनी २८ वर्षकी थिइन् । २३ वर्षपछि अब ५१ वर्षको उमेरमा उनी डेनमार्ककी रानी हुँदैछन् । भलै, म्यारी डोनाल्डसन मार्गरेथ द्वितीयझैँ संवैधानिक राष्ट्रप्रमुख हैनन्, त्यो श्रेय र अधिकार उनका श्रीमान्‌सँग रहनेछ । तर, उनी डेनमार्ककी रानी भने हुनेछिन् ।

म्यारी डोनाल्सनको चर्चा भने यसकारण धेरै हुन्छ कि उनी प्रगतिशील सोच भएकी एक भद्र महिला हुन् । उनी जलवायु परिवर्तन, महिला तथा बालअधिकार र दीगो विकासको पक्षमा खुलेरै पैरवी गर्दछिन् । डेनमार्कमा उनलाई धेरैले मन पराउँछन् । तर, उनको जन्मभूमि तास्मानियामा पनि उनको उत्तिकै चर्चा भइरहेको हुन्छ ।

म्यारी आफूलाई अष्ट्रेलियन भन्न मन पराउँछिन् । तर, उनका मातापिता भने खासमा स्कटिस थिए । मान्छे त्यसै पनि एक ‘ग्लोबल सिटिजन’ बन्दै गएको छ । भूमण्डलीकृत विश्वमा कसको भाग्य कहाँ पुगेर चम्किन्छ, कसले भन्न सक्दछ ? स्कटिस मातापिताबाट अष्ट्रेलियामा जन्मिएकी म्यारी डेनमार्ककी रानी बन्लिन् भन्ने कसले सोचेको थियो र ?

म्यारी अहिले धाराप्रवाह डेनिस बोल्छिन् । अष्ट्रेलियाको नागरिकता त्यागेको पनि धेरै भइसक्यो उनले । तर, तस्मानियामा भने उनको चर्चा सेलाउनको साटो बढ्दो छ । तस्मानियाका प्राइमर जेरमी रकफिलले हालै एक अन्तर्वार्तामा भने— म्यारीप्रति हामीलाई गौरवको भावना छ ।

बेलायती सञ्चारमाध्यमले भने उनलाई ‘स्कटिस ओरिजिन’ सँग जोडेर चर्चा गरिरहेका हुन्छन् । त्यसो त बेलायत र अष्ट्रेलिया बीचको राजकीय सम्बन्ध कायमै छ । बेलायतका राजा चार्ल्स तृतिया प्राविधिकरूपमा अष्ट्रेलियाका पनि राजा हुन् ।

म्यारीको खुला दृष्टिकोण, सार्वजनिक बहसमा उत्रिने बानी र आक्रामक विचार भने धेरै राजतन्त्रवादीलाई मन पर्दैन । तिनीहरू ठान्छन् कि रानीले मर्यादामा बस्नुपर्छ, अन्यथा रानीका हैसियतले पाउने राजकीय सुविधा छोड्न पर्दछ । रानी हुनु आफैँमा एक मर्यादा, अनुशासन र बन्धन हो, राजगद्दीमा बसेर सबै वैयक्तिक स्वतन्त्रता उपयोग गर्ने सुविधा हुँदैन ।

तस्मानियाको राजधानी शहर होबार्ट हो । होबर्टमा म्यारीका पिता जोहन डोनाल्डसन विश्वविद्यालयमा गणितका प्राध्यापक थिए । त्यही बेला जन्मिएकी हुन् म्यारी । उनी आफ्ना मातापिताका ४ सन्तानमध्ये सबैभन्दा कान्छी थिइन् । राजकुमार फ्रेडरिखबाट उनले ४ सन्तान जन्माएकी छन्; दुई छोरा, दुई छोरी ।

बाल्यकालमा होबार्टको अध्ययनपछि उनको जीवन मेलबर्न र सिड्नी हुँदै अघि बढ्यो र कोपनहगेन पुग्यो । कलेज जीवनमा उनी ‘कमर्स एण्ड ल’ की विद्यार्थी थिइन् । मेलबर्नमा उनले केही वर्ष एक विज्ञापन कम्पनीमा काम गरेकी थिइन् ।

सन् २००३ मा राजकुमार फ्रेडरिखसँगको ‘इन्गेजमेन्ट’ पछि उनले पत्रकारसँग भनेकी थिइन्— राजकुमारी बन्ने मेरो चाहना थिएन । मैले सपनामा पनि यो सोचेको थिइन् । म एक पशु चिकित्सक बन्न चाहन्थे ।

डेनिस राजतन्त्र र राजपरिवारका आफ्नै परम्परा र मर्यादा छन् । तिनको पालना गर्नु अब उनको रुचि-अरुचिभन्दा बढी कर्तव्य बन्ने छ । महारानीको पदमा बसेर समाजका प्रगतिशील मुद्दाको पैरवी गर्न उनलाई सजिलो हुने छैन । डेनिस राजतन्त्रका पक्षधर ठान्दछन् कि उनले आफ्नो खुलापन र सार्वजनिक भूमिका अब कम गर्नु पर्दछ ।

म्यारीलाई कला, संस्कृति, स्वास्थ्य र विज्ञानसम्बन्धी अनुसन्धानमूलक लेख तथा कार्यपत्र पढ्न खुबै मन पर्छ । उनी सम्बन्धित क्षेत्रका थुप्रै सामाजिक तथा गैरसरकारी सङ्घसंस्थासँग जोडिएकी छन् । सन् २००७ मा उनले म्यारी फाउन्डेसन नामक एक संस्था आफैँ बनाइन् । यसमार्फत् उनी गरिब दुखीको सेवा गर्न चाहन्छिन् ।

राजकुमार फ्रेडरिख र म्यारीको भेट, सम्बन्ध र विवाह एक्काइसौं शताब्दीमा राजपरिवार र सर्वसाधारणबीच हुने रोचक प्रेमकथाको एक उदाहरण बन्न पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved