राष्ट्रिय सभामा एमाले समेट्न किन चाहँदैन एकीकृत समाजवादी ?

२०७८ भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भएको एकीकृत समाजवादीलाई एमालेले पार्टीका रूपमा ‘बाइपास’ नै गर्दै आएको छ । एकीकृत समाजवादी पार्टीका रूपमा दर्ता भएपछि ३ महिनापछि भएको एमालेको दशैं महाधिवेशनमा पनि एकीकृत समाजवादीलाई बोलाइएन ।

नेपालभ्युज

राष्ट्रिय सभामा एमाले समेट्न किन चाहँदैन एकीकृत समाजवादी ?

काठमाडौं । माघ ११ गते सम्पन्न हुने आसन्न राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नकेपा (एमाले) लाई पनि समेट्ने विषयमा सत्तारूढ गठबन्धनमा छलफल भइरहेको छ ।

यसमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहल लिइरहेका छन् । उनले गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मनाइसकेका छन् ।

तर, गठबन्धनको चौथो ठूलो दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भने एमालेलाई समेट्न नहुने अडानमा छन् । नेपालकै कारण यस सम्बन्धमा छलफल गर्ने ध्येयले बसेका गठबन्धनका बैठकहरू बिनानिष्कर्ष टुङ्गिने गरेका छन् ।

एमालेलाई पनि समेटेर अघि बढ्ने विषयमै छलफल गर्नका लागि धेरै चरण गठबन्धनको बैठक बसिसकेका छन् । तर, सहमति जुटिसकेको छैन । यसअघि बिहीबार मात्रै पनि गठबन्धनका चार ठूला दलको बैठक बसेको थियो । बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले भने, “एमालेलाई समेट्ने विषयलाई नै केन्द्रमा राखेर छलफलहरू भइरहेका छन् । तर, सहमति जुटेको छैन ।”

स्रोतकाअनुसार नेपालकै अडानका कारण बिहीबार बिहानको बैठक पनि बिनानिष्कर्ष सकिएको थियो । स्रोतले भन्छ— अरु दलका नेताहरू मत्थर नै सुनिए पनि उहाँ (माधवकुमार नेपाल) कडैरूपमा प्रस्तुत हुनुभयो, एमालेलाई समेट्नुको कारण खोज्नुभयो ।

त्यसो त नेपालको एमालेसँग राम्रो सम्बन्ध छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अझै सम्बन्ध सुध्रिसकेको छैन । १४ वर्ष एमालेको नेतृत्व गरेका नेपालले २ वर्षअगाडि एकीकृत समाजवादी गठन गरे । नेपालले एकीकृत समाजवादी गठनको पूर्वसन्ध्यामा ओलीको नामै किटेर ‘बालुवा पेलेर तेल निस्किँदैन’ भन्ने गर्थे । ९औं महाधिवेशनमा ओली अध्यक्ष भएपछि वरिष्ठ नेताका रूपमा एमालेमै रहेका नेपालले नयाँ पार्टी गठन गर्ने सन्दर्भ पटक-पटक आइरहन्थ्यो ।

तर, २०७७ पुस ५ र २०७८ जेठ ८ गते दुईपटक ओलीले दुईतिहाइको शक्तिशाली प्रधानमन्त्रीका रूपमा प्रतिनिधिसभा विघटन गरेपछि त्यही निहुँ बोकेर नेपालले एकीकृत समाजवादी गठन गरे । गठन भएयता ओलीले एकीकृत समाजवादीलाई औपचारिकरूपमा पार्टीका रूपमा स्वीकारेका छैनन् ।

२०७८ भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भएको एकीकृत समाजवादीलाई एमालेले पार्टीका रूपमा ‘बाइपास’ नै गर्दै आएको छ । एकीकृत समाजवादी पार्टीका रूपमा दर्ता भएपछि ३ महिनापछि भएको एमालेको दशैं महाधिवेशनमा पनि एकीकृत समाजवादीलाई बोलाइएन । जबकि त्यहाँ एकीकृत समाजवादीको भन्दा सानो हैसियत भएका पार्टीहरूलाई पनि बोलावट भएको थियो ।

त्यसो त त्यसअघि पनि ओलीले एकीकृत समाजवादी पार्टी नभइ ‘सानो गुट’ मात्रै भएको बताउँथे । अहिले पनि उनी यही भन्छन् ।

त्यसपछि भर्खरै मात्रै दशैंको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा पनि नेपाललाई एमालेले एकीकृत समाजवादीको अध्यक्षको रूपमा बोलाएको थिएन । बोलाइएको थियो तर, पूर्वप्रधानमन्त्रीका रूपमा मात्रै । यसपछि उनी गएनन्, तर एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने गए ।

एमाले र एकीकृत समाजवादीको सम्बन्ध अहिले पनि राम्रो भइसकेको छैन । यत्तिसम्म कि ओली र नेपाल कुनै सार्वजनिक मञ्चमा सँगै भएपनि सम्बोधन गर्दैनन्, राम्रोसँग बोलचाल हुँदैन ।

यही मेसोमा एमालेलाई पनि आफूसम्बद्ध गठन्धनले सघाएर जाने कुरा नेपाललाई कुनै पनि हालतमा सह्य भएको छैन । बैठकमा सहभागी नेताहरूका अनुसार गठबन्धन बैठकहरूमा नेपालले ‘एमालेले कुन हिसाबले मिलेर जाउँ भनेको हो, त्यसको स्पष्टीकरण चाहिन्छ’ भन्ने गरेका छन् ।

यसमा प्रधानमन्त्री प्रचण्डले मनाउने कोसिस गर्दैछन् । तर, नेपाल ‘कन्भिन्स’ भएका छैनन् । एमाले फुटाएर एकीकृत समाजवादी गठन गरेका नेपाललाई एमाले नेताहरूले फुटको औचित्य पुष्टि गर्न नसकेको भनेर आलोचना गर्छन् । त्यसपछि अझ चिढिएका नेपाल एमालेलाई सिट दिन नहुने कुरामा अडिग छन् । एमालेलाई कमजोर पार्न चाहने नेपालका लागि प्रधानमन्त्री प्रचण्डको प्रस्ताव असह्यखाले भएको बताइन्छ ।

प्रधानमन्त्री प्रचण्डलाई भने राष्ट्रिय सभामा एमालेलाई पनि समेटेर जानुपर्ने बाध्यता छ । सङ्क्रमणकालीन न्यायको मुद्दा टुङ्ग्याउने विषयमा एमालेको साथ खोजिरहेका प्रधानमन्त्री प्रचण्ड केही सिट भएपनि एमालेका लागि छुटाउने प्रयासमा छन् । तर, एमालेलाई पनि भाग छुटाउने विषयका कारण गठबन्धन विभाजित भइसकेको छ ।

एमालेले पनि राष्ट्रिय सभामा आफूलाई समेटे सङ्क्रमणकालीन न्यायको मुद्दा टुङ्ग्याउने विषयमा सघाउने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved