सांसद शेर्पाको प्रश्न : गोष्ठी-सेमिनारहरू विराटनगर र इटहरी मात्रै केन्द्रित किन गरिन्छ ?

नेपालभ्युज

सांसद शेर्पाको प्रश्न : गोष्ठी-सेमिनारहरू विराटनगर र इटहरी मात्रै केन्द्रित किन गरिन्छ ?

विराटनगर । कोशी प्रदेशसभा सांसद गोम्बु शेर्पा ‘कर्ज्याङ’ ले स्थानीय तहका जनप्रतिनिधि एवम् कर्मचारीहरूका लागि सञ्चालन हुने गोष्ठी तथा सेमिनारहरू प्रदेशका अरु जिल्ला केन्द्रित गर्नुपर्ने बताएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसद शेर्पाले यस्तो बताएका हुन् ।

त्यस्ता गोष्ठी, सेमिनार तथा तालिमहरू विराटनगर र इटहरी मात्रै केन्द्रित गरिएको उल्लेख गर्दै सांसद शेर्पाले अब प्रदेशका अरु जिल्ला केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याए । यस्ता कार्यक्रमहरू विराटनगर र इटहरी मात्रै केन्द्रित गरिँदा सोलुखुम्बुलगायतका दुर्गम जिल्लाबाट जनप्रतिनिधि तथा कर्मचारीहरू आइपुग्न समस्या भएको उनले सुनाए ।

“प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधि एवम् कर्मचारीहरूका लागि सञ्चालन गर्ने अभिमुखीकरण, सेमिनार, गोष्ठी तथा तालिमहरू किन विराटनगर र इटहरी मात्रै केन्द्रित गरिन्छ ? ओखलढुङ्गालगायतका जिल्लातिर गरिनुपर्‍यो । विराटनगर र इटहरी मात्रै केन्द्रित हुँदा सोलुखुम्बुलगायतका दुर्गम जिल्लाबाट धाउन मुस्किल भइरहेको छ,” उनले भने ।

कतिपय गोष्ठीहरू टाढा भएकै कारणले छुटाउनुपर्ने बाध्यात्मक अवस्था रहेको र त्यसको प्रत्यक्ष असर स्वयम् जनप्रतिनिधि तथा कर्मचारीहरूले भोग्नुपर्ने समस्या उनले सुनाए ।

फरक प्रसङ्गमा सांसद शेर्पाले सांसदहरूमा हाजिर मात्रै गर्ने तर, छलफलमा भाग नलिने प्रवृत्ति बढेको बताए । त्यसो हुनु सदनको गरिमा र ओजअनुसार नभएको उल्लेख गर्दै उनले सभामुखले बैठकमा अनिवार्य रहनका लागि रूलिङ्ग गर्नुपर्ने बताए ।

यस्तै संसदीय पत्रकार मञ्चले पनि सांसदहरूमाथि कडा निगरानी गर्नुपर्ने माग सांसद शेर्पाको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved