मन्त्रिमण्डल हेरफेरको चर्चासँगै एकीकृत समाजवादीमा तनाव, आठ सांसद मन्त्री बन्ने लबिइङमा

किसान श्रेष्ठदेखि राजेन्द्र पाण्डेसम्म मैदानमा

मन्त्रीमण्डल हेरफेर हुँदा अहिले एकीकृत समाजवादीबाट मन्त्री भएका प्रकाश ज्वाला र वेदुराम भुसाललाई फिर्ता बोलाउने निश्चितप्रायः छ । र, उनीहरुको ठाउँमा कसलाई पठाउने भन्नेमा पार्टीभित्र तीव्र विवाद छ ।

नेपालभ्युज

मन्त्रिमण्डल हेरफेरको चर्चासँगै एकीकृत समाजवादीमा तनाव, आठ सांसद मन्त्री बन्ने लबिइङमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहेका मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेसँगै एकीकृत समाजवादीमा तनाव सुरु भएको छ ।

मन्त्रीमण्डल हेरफेर हुँदा अहिले एकीकृत समाजवादीबाट मन्त्री भएका प्रकाश ज्वाला र वेदुराम भुसाललाई फिर्ता बोलाउने निश्चितप्रायः छ । र, उनीहरुको ठाउँमा कसलाई पठाउने भन्नेमा पार्टीभित्र तीव्र विवाद छ ।

अहिले ज्वाला पार्टीका सम्मानीत नेता झलनाथ खनालको कोटाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री छन् भने पार्टी अध्यक्ष माधवकुमार नेपालको कोटाबाट कृषि तथा पशुपंक्षीमन्त्री बनेका छन्– वेदुराम भुसाल ।

ज्वाला र भुसाललाई फिर्ता बोलाउने विषयमा खासै विवाद नभए पनि नयाँ पठाउने मन्त्रीका विषयमा निकै तनाव भएको बुझिएको छ । यद्यपि, पाएसम्म उनीहरु नै मन्त्रीमा कायम रहन चाहिरहेका छन् ।

दुई मन्त्रालयका लागि आठ जना सांसदले मन्त्री हुन खोजेपछि पार्टीभित्र तनाव भएको हो ।

अहिले मन्त्रीका लागि पहिलो चरणमा दौडधुपमा राष्ट्रियसभा सदस्यदेखि प्रतिनिधि सभाका सांसदहरु रहेका छन् । अध्यक्ष माधव नेपालले एक वर्षअघि पहिलो चरणमा मन्त्री बनाउँदा राष्ट्रियसभाका सदस्य बेदुराम भुसाललाई कृषि तथा पशुपंक्षी विकास मन्त्री र नन्दा शर्मालाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाएका थिए । राष्ट्रियसभाबाट त्यतिबेला दुईजनालाई अवसर दिएका कारण प्रतिनिधिसभाका सदस्यहरु आक्रोशित थिए । अहिले भने भरसक प्रतिनिधिसभाबाटै मन्त्री बनाउन अध्यक्ष नेपाललाई दबाब बढेको छ ।

यसअघि बागमती प्रदेशको मुख्यमन्त्री भइसकेका पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे पनि अहिले मन्त्री बन्ने कसरतमा रहेका छन् । पाण्डे अहिले पनि दौडमा लागेपछि पटकपटक एउटै व्यक्तिलाई अवसर दिन नहुने भन्दै अन्य सांसदहरु विरोधमा देखिन थालेका छन् ।

त्यस्तै तनहुँबाट चुनाव लड्न बारा पुगेर पनि जितेका किसान श्रेष्ठले पनि मन्त्री बन्नका लागि व्यापक लबिङ गरिरहेका छन् । पहिला नै मन्त्री बन्न चाहेर पनि नपाएका उनी यसपटक कसैगरी पनि नछाड्ने मनस्थितिमा छन् ।

त्यसैगरी, पहिलादेखि नै आश्वसन पाएका तर मन्त्री हुन नपाएका डोल्पाका सांसद धनबहादुर बुढा पनि मन्त्रीको प्रतिस्पर्धामा रहेका छन् । उनी पहिला पर्यटन राज्यमन्त्री भएका थिए । उनले पर्यटन मन्त्रालयले दाबी गरेर मन्त्री खोजिरहेका छन् । बुढाका लागि सांसद प्रेम आलेले पनि साथ दिएका छन् । आलेले आफू मन्त्री नहुने अवस्थामा विकल्पको रुपमा बुढालाई अगाडि सारेका छन् । अछामका शेरबहादुर कुँवर पनि अहिले मन्त्रीको दाबीमा छन् ।

यसबाहेक अरु प्रतिनिधिसभाका सांसदसँगै राष्ट्रिय सभाका सदस्यहरुले पनि मन्त्रीको रहर गरिरहेका छन् । यसरी पार्टीभित्र बन्नका आकांक्षीको संख्या बढेपछि अध्यक्ष माधव नेपाल तनावमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved