टिआरसी विधेयकबारे सभामुख भन्छन्-सर्वसम्मतिबाट नटुंगिए प्रक्रियागत रुपबाट टुंग्याउनुपर्छ

नेपालभ्युज

टिआरसी विधेयकबारे सभामुख भन्छन्-सर्वसम्मतिबाट नटुंगिए प्रक्रियागत रुपबाट टुंग्याउनुपर्छ

काठमाडौं । सभामुख देवराज घिमिरेले सर्वसम्मतिबाट शान्ति प्रक्रियाका बाँकी काम टुंगिन नसके प्रक्रियागत ढंगबाट टुंग्याएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा भएको संक्रमणकालीन न्यायमा बारुदी सुरुङ र विष्फोटक पदार्थका पीडितहरुको न्याय तथा माइन एक्शनमा समावेशिताको सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका  हुन् । उनले सबैको साझा समस्या भएकाले सकेसम्म सर्वसम्मत रुपमा टुंग्याउनुपर्ने र सर्वसम्मत हुन नसके प्रक्रियागत रुपमा टुंग्याइ कार्यान्वयनको चरणमा लैजानुपर्ने बताए ।

उनले एकले अर्कोलाई दोष देखाएर नभइ जिम्मेवारीमा बसेको बेलामा यसको समाधान खोज्नुपर्ने बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताए । उनले सत्तापक्ष, प्रतिपक्ष सरकार, गैरसरकारी संस्था, बुद्धिजीवि, राजनीतिज्ञहरु सबै मिलेर शान्ति प्रक्रियाका बाँकी काम ढिलो नगरी टुंग्याउनुपर्ने बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम अमुकअमुक नेताहरुको अघि सारेर मात्रै नटुंगिने आशंका व्यक्त गरे।

उनले भने, ‘एकले अर्कोलाई दोष देखाएर होइन, जिम्मेवारीमा बसेको बेलामा यसको समाधान गर्नुपर्‍यो । त्यो गर्दा को सत्तामा छ यो कुराहरु होइन । के गर्नुपर्छ, यो कुरा हुनुपर्छ । के गर्दा यसको आधारभुत समाधान हुन्छ ।’ उनले कसैलाई जिम्मेवारी पन्छाएर होइन की यो जिम्मेवारीलाई पूरा गर्न मेरो भुमिका के हुन्छ भन्नेकुरा राजनीतिक दल र सांसदले सोच्नुपर्ने बताए ।

‘यो टुंग्याउनको लागि निश्चय पनि पार्टीहरुको भुमिका त हुन्छ नै तर अहिले हाम्रोमा परिपाटी के छ भने पार्टीका शिर्ष नेताहरुले सहमति गरे हुन्थ्यो भन्नेछ’ उनले भने, ‘सांसदहरुले यसमा जिम्मेवार भएर सही अडान र दृष्टिकोण राखेर यसको समाधान यसरी गर्नुपर्छ, यो ऐनलाई यसरी पारित गर्नुपर्छ, नत्र यो विधेयकमाथि नमिलेका बुँदालाई यसरी गर्नुपर्छ भनेर घनिभुत रुपबाट छलफल गर्ने र नेताहरुबाट पनि सहमति खोज्ने काम गर्नुपर्छ ।’

सभामुख घिमिरेले टिआरसीसँग सम्बन्धित विधेयक समितिबाटै सबैले टुंग्याउन पहल गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved