नेपाल भारत सम्बन्धको नयाँ आयाम- ‘रोटीबेटी’देखि ‘यूथ कनेक्टिभिटी’सम्म

भारतको अभिरुचि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप रहेको युवापुस्तामा बुझाइ छ । यो पनि सम्बन्धमा चिडचिडाहट बढाउने एउटा कारक तत्त्व भएकाले भारतको अबको प्राथमिकता ‘यूथ कनेक्टिभिटी’ मा दिनुपर्ने जानकार बताउँछन् ।

नेपाल भारत सम्बन्धको नयाँ आयाम- ‘रोटीबेटी’देखि ‘यूथ कनेक्टिभिटी’सम्म

काठमाडौं । ‘भारत के चाहन्छ ?’ अझ ठाडै भन्ने हो भने ‘भारतले खोजेको के हो ?’ राजनीतिज्ञ होस् या कूटनीतिज्ञ, स्कुल कलेजका शिक्षक विद्यार्थी हुन् या खेतबारीमा काम गर्दै गरेका किसानबीच यो विषयमा काफी चर्चा हुने गर्छ ।

प्रधानमन्त्री सामेल हुने बैठकदेखि, आम नागरिक भेला हुने चिया चौतारीको चर्चित प्रश्न हो यो । ती सबै ठाउँमा सबैले आ–आफ्नो बर्कतले भ्याएसम्मका निष्कर्ष निकाल्छन् ।

नेपाल भारतबीचको कूटनीतिक सम्बन्धलाई शंका र अविश्वासको घेराबाट हेर्दै कसैको निष्कर्ष हुन्छ, ‘भारत सधैँ नेपाललाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छ ।’ कसैले अनुमान लगाउँछन् ‘सबै कुरामा नेपाल भारतमै निर्भर होस् भन्ने चाहन्छ ।’

अहिले चलनचल्तीका निष्कर्ष यही हुन् । ‘खासमा भारतले चाहेको के हो ?’ भन्ने प्रश्नमा थप अघि बढ्नुअघि नेपाल भारत सम्बन्धबारे थोरै चर्चा गरौँ ।

०००

नेपाल भारतबीचमा ‘रोटीबेटी’को साइनो छ । यो कहावत सदियौँदेखि सुनिँदै आइरहेको छ ।

जनमनमा गढेको छ ‘रोटीबेटी’ को साइनो । शाब्दिक अर्थमा रोटीले रोजगारीको संकेत गर्छ । बेटीले बिहेबारीको । पिठो पारिबाट आएन भने नेपाली भान्सामा रोटी पाक्दैन । नेपालबाट पनि भारततर्फ थुप्रै मालबस्तु निर्यात भइरहेका हुन्छन् ।

भनिरहनु पर्दैन कि नेपाल र भारतबीचको सम्बन्ध यस्तो छ, अरू कुनै देशसँग यस्तो सबन्ध छँदै छैन । ‘रोटीबेटी’ सम्बन्धको परिभाषा रोजगारी, आवतजावत, बिहेबारी, लेनदेन, मेलापात र बसाइसराइसँग सम्बन्धित छ । दुई देशका सरकारबीच जेजस्तो सम्बन्ध भए पनि नागरिकबीच भने ओहोरदोहोर र व्यवहारले रोटीबेटी सम्बन्ध चलिरहेको छ ।

नेपालको संविधान २०७२ ले रोटीबेटी सम्बन्धलाई थप मजबुत बनाउन पारिबाट बिहे गरी आएकालाई अङ्गीकृत नागरिकता दिने प्रक्रिया थप खुकुलो बनाइसकेको छ ।

केही महिनाअघि पास भएको नागरिकता विधेयकबाट यसले पूर्णता पाइसकेको छ । यससँगै नेपाल र भारतको सम्बन्ध प्राकृतिक, धार्मिक, सामाजिक र सीमा सम्बन्धको महत्वसँग पनि गाँसिएको छ ।

नेपाल भारत छिमेकी र मित्र राष्ट्र हो । दुईबीचको पारस्परिक लाभकारी सहकार्य थप बलियो बनाउन दुवै देश लाग्नुपर्छ । पछिल्लो समय कनेक्टिभिटी र विशेष गरी ऊर्जा क्षेत्रलगायत दुईदेशका पारस्परिक लाभकारी विषयमा सहकार्य अघि बढेको छ ।

विश्वको उदीयमान अर्थतन्त्र भएको देश भारतले नेपालको आर्थिक विकासका लागि सहयोग गरिरहेको छ । खेर जाने पानीबाट भारतले बिजुली किन्ने सम्झौता गरेको छ ।

यसले नेपालको अर्थतन्त्रमा ठुलो फड्को मार्ने अपेक्षा लिइएको छ । नेपालको पूर्वाधार निर्माणमा सहयोग गरिरहेको छ । नेपालको आर्थिकदेखि सामाजिक र पर्यटन विकासका भारतले सहयोग गरिरहेको छ ।

तै पनि नेपाल भारतबीचको कूटनीतिक सम्बन्धलाई अधिकांश नेपालीले शंका र अविश्वासको घेराबाट हेर्दै आएका छन् ।

औसत नेपालीको बुझाइमा भारतको नेपाल–नीति नेपाललाई सधैँ आफूमा आश्रित बनाइराख्ने सोचबाट सञ्चालित छ । अन्तर्राष्ट्रिय व्यापार होस् वा वैदेशिक प्रत्यक्ष लगानी, विकास सहायता जुनसुकै क्षेत्रमा भारतले सहयोग गरे पनि नेपाली युवापुस्ता भारतप्रति सकारात्मक देखिँदैनन् ।

प्राथमिकता – ‘यूथ कनेक्टिभिटी’

अहिलेका नेपाली युवा पुस्ता आफ्नो देशकोभन्दा भारतीय सिनेमामा रमाएका छन् । भारतीय सिनेमाले करोडौंको व्यापार गर्छ, जबकि नेपाली फिल्म लाग्दा हल खाली हुने गर्छ । भारतीय फिल्ममा अभिनेता अभिनेत्री भनेपछि नेपाली युवापुस्ता हुरुक्कै हुन्छन् ।

हिन्दी टिभी सिरिज र सिरियलमा रमाएका छन् । भारतीय गीतसङ्गीतको पारखी पनि नेपालमा धेरै नै छन् । दुई साताअघि भारतीय गायक अरिजित सिंह नेपाल आएका थिए ।

काठमाडौंमा भएको कन्सर्टमा उनको प्रस्तुति हेर्ने नेपाली युवाको थामिनसक्नुको भीड लाग्यो । उनीप्रति नेपाली युवापुस्तामा यति क्रेज देखियो कि अटोग्राफ लिने भीडको कारण राम्रोसँग गीत गाउन समेत पाएनन् ।

केही साताअघि सम्पन्न विश्वकप क्रिकेटमा भारतीय टीमको समर्थन गर्ने नेपालीको संख्या कम थिएन । यति हुँदा हुँदैपनि तीनै युवापुस्ता किन भारतलाई सराप्छन् ? उनीहरूमा भारत विरोधी भावना कसले हाल्यो ? यो विषय भारतीय वृत्तमा चर्चामा छ र चिन्ता पनि ।

यो प्रश्नमा मन्थन गरिसकेपछि भारतले अब दुईदेशबीचको सम्बन्धको आयाममा ‘रोटीबेटी’बाट ‘यूथ कनेक्टिभिटी’तर्फ जोड दिने रणनीति अख्तियार गर्नुपर्ने जानकार बताउँछन् ।

किनकि दुई देशका जनता–जनताबीचको सम्बन्ध असाध्यै राम्रो छ भनेर व्याख्या गरिँदै आइए पनि युवा पुस्तामा भारतप्रतिको दृष्टिकोण समान नभएको उनीहरुको निष्कर्ष छ ।

भारतको अभिरुचि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप रहेको युवापुस्तामा बुझाइ छ । यो पनि सम्बन्धमा चिडचिडाहट बढाउने एउटा कारक तत्त्व भएकाले भारतको अबको प्राथमिकता ‘यूथ कनेक्टिभिटी’ मा दिनुपर्ने जानकार बताउँछन् ।

जनता–जनताबीचको सम्बन्धको आधार पक्ष हो— कनेक्टिभिटी । सीमा क्षेत्रका बासिन्दाहरूको सहजतालाई ख्याल गरेर बनाइएको खुला सीमाबाट सबैलाई लाभ मिलेको छ । ‘कनेक्टिभिटी’ अन्तरगत रेलमार्गदेखि सडकमार्ग छन् । तर, ‘कनेक्टिभिटी’को प्राथमिकतामा युवालाई राख्नुपर्ने बहस भारतमा चलेको छ ।

सम्बन्धको आयाम – ‘रोटीबेटी’बाट ‘यूथ कनेक्टिभिटी’तर्फ

अब पुराना दृष्टिकोण र अविश्वास हटाइ नेपाल–भारत सम्बन्धमा नवीनतम धरातलबाट विकास गर्न भारतको प्राथमिकतामा ‘यूथ कनेक्टिभिटी’ मा हुनुपर्ने जानकार  बताउँछन् ।

‘स्वतन्त्र युवा प्रजातान्त्रिक संघ’को पहलमा अध्यक्ष अरविन्द महतोको नेतृत्वमा भारत भ्रमणमा गएका नेपाली पत्रकारको टोलीसँग छलफलका क्रममा कूटनीतिज्ञहरूले नेपालप्रतिको भारत नीतिको निर्धारणमा ‘यूथ कनेक्टिभिटी’ प्राथमिकतामा रहनुपर्ने तर्क राखे ।

स्वामी विवेकानन्द अन्तर्राष्ट्रिय फाउन्डेसनमा भएको छलफलमा ‘रोटी–बेटी’को सम्बन्ध कहिल्यै नबिग्रने र बिगार्न नहुने भन्दै थप मजबुत बनाउन ‘यूथ कनेक्टिभिटी’ले भूमिका खेल्ने निचोडमा भारतका नेपाल मामिला जानकार पुगेका हुन् ।

नेपाल मामिला विज्ञ तथा अवकाशप्राप्त भारतीय लेफ्टिनेन्ट जनरल डा. राकेश शर्माले भने,‘‘ कुनै जमानादेखि हामीले रोटीबेटीको सम्बन्ध छ भनेर भन्दै आएका थियौँ । त्यो शब्द क्लिसे भइसक्यो ।

डा राकेश शर्मा, नेपाल मामिला विज्ञ तथा अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल

अब त्यो जमाना छैन । धेरै अघि बढिसक्यो । यसैले दुईदेशको सम्बन्ध रोटीबेटीभन्दा अर्कै आयामबाट विश्लेषण गर्नुपर्ने भएको छ । ‘यूथ कनेक्टिभिटी’सँग जोडेर सम्बन्धलाई थप अगाडी बढाउनुपर्छ ।’’

नेपालमा संविधान जारी हुनुअघि भारतले देखाएको असन्तुष्टि र त्यसपछि भारतले लगाएको नाकाबन्दीले नेपाली युवामा भारत विरोधी भावना ह्वात्तै बढाएको उनको विश्लेषण थियो ।

भारतसँगको सीमा समस्या खासगरी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई लिएर नेपाली युवामा भारतप्रति असन्तुष्टि चुलिएको डा. शर्माको विश्लेषण थियो ।

यस्तो अवस्थामा दुई सार्वभौम राष्ट्रबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन युवाहरूले भूमिका खेल्नुपर्ने आवश्यकता रहेको उनको तर्क छ ।

उनले भने, ‘‘हामी दुवै भाइभाइ हौँ । कहिलेकाहीँ मनमुटाव हुनसक्छ । तर, सबै समस्या समाधान गरेर अघि बढ्नुपर्छ । नेपालमा चीन रेल्वलाईनबाट अघि बढ्न खोजेको छ । दिल्लीबाट भारतले पनि रेल लाइन दिन सक्नुपर्छ । हामीबीचमा राम्रो सम्बन्ध छ । राम्रो बनाइराख्नुपर्छ ।’’

अवदेश माथुर, प्रधानमन्त्री कार्यालयका पूर्व सचिव

भारत अब नेपाली युवासँग प्रत्यक्ष ‘कनेक्ट’ हुनुपर्ने राष्ट्रिय सुरक्षा सल्लाहकार सदस्य भएर काम गरेका प्रधानमन्त्री कार्यालयका पूर्व सचिव अवदेश माथुरले बताए । नेपाली राजनीतिमा युवापुस्ता अगाडी बढेको कारण पनि अब नेपाल नीतिमा भारतले हेरफेर गर्नुपर्ने उनको तर्क छ ।

‘‘नेपाली युवाहरू आइटी क्षेत्रमा प्रगति गरिरहेका छन् । नेपालको क्रिकेट टिमले राम्रो प्रगति गरिरहेको छ । शिक्षा क्षेत्रमा भारतले धेरै युवालाई स्कलरसिपमा अवसर दिइरहेको छ । भारतले नेपाली युवाहरूको लागि अझ धेरै क्षेत्रमा काम गर्दैअघि बढ्नुपर्छ’’ उनले भने ।

भारतका युवा र नेपाली युवाबीच सम्पर्क बढाउनुपर्ने उनको भनाइ थियो । नेपाली युवामा भारतबिरोधी भावना बढ्नुमा नेपालमा भारतको बढी चलखेल भएको भन्ने बुझाइले काम गरेको उनको विश्लेषण थियो ।

उनले भने, ‘‘नेपाली युवालाई लाग्छ भारतको प्रभाव बढेको छ । तर, नेपालमा चीनको धेरै प्रभाव छ। अमेरिकाको पनि धेरै प्रभाव बढिरहेको छ । नेपालमा ‘भारत–चीनसँगको सम्बन्ध सन्तुलित गर्नुपर्ने’ मान्यता छ । तर चीन र अमेरिकाभन्दा पनि नेपालको हित भारतसँगको सम्बन्धले मात्र हुन सक्छ । हामी भने पुरानो र घनिष्ठ सम्बन्धलाई थप मजबुत बनाउन मात्र चाहन्छौँ ।’’

दुईदेशबीचमा युवायुवाबीच थप सहकार्य गर्दै अघि बढ्नुपर्ने नेपाल जानकार तथा स्वामी विवेकानन्द इन्टरनेशनल फाउन्डेसनका निर्देशक डा अरभिन्द्र गुप्ताले बताए । नेपाल भारतसमबन्ध अझै मजबुत बनाउन दुईदेशको अर्थतन्त्रमा सहयोग बनाउने परियोजनादेखि युवाहरूबीच सहकार्य गराउनुपर्ने उनको तर्क थियो ।

डा अरभिन्द्र गुप्ता, नेपाल जानकार तथा विवेकानन्द इन्टरनेशनल फाउन्डेसनका निर्देशक

उनले भने, ‘‘भारतले १० हजार मेगावाट बिजुली किन्ने सम्झौता गरेको छ । जब भारतमा बिजुली आउन सुरु हुन्छ तब नेपालको अर्थतन्त्रमा चमत्कार हुनेछ । भारत नेपालबीचको आठ मिलियन डलरको व्यापार बढ्छ । यो धेरै ठुलो प्रगति हो । हाम्रो बीचमा बोर्डर खुला छ, भिषाको कुनै समस्या छैन । अब दुईदेशबीचमा युवायुवाबीच थप सहकार्य गर्दै अघि बढ्नुपर्छ ।’’

भारतीय सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल आरके स्वहान्यले भारतले नेपाली युवालाई अवसर दिइरहेको र थप सहकार्य गर्न तयार रहेको बताए ।

आरके स्वहान्य, अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल

‘‘कुनै पनि देशको अर्को देशको ८० हजार युवालाई आफ्नो देशमा राख्दैन । त्यो नेपाली नागरिकलाई हामीले सेनामा राखेको थियौ, त्यो पनि तीन लेफ्टिनेन्टसहित । उनीहरूले कोर कमान्ड गरेका थिए । किनकि हामीलाई विश्वास थियो नेपाली युवाप्रति’’ उनले भने, ‘‘ अहिले पनि लाखौँ नेपाली भारतमा काम गरिरहेका छन् । हामीले नेपालीलाई जति अवसर दिएका छौँ अरू देशले दिएका छैनन् । अझै हामी धेरै नेपाली युवासँग जोडिन चाहन्छौँ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved