जिम्मेवारी बाँडफाँटपछि रास्वपामा रडाको, रविले लीमालाई कोषाध्यक्ष बनाएपछि स्वर्णिम र तोसिमा रुष्ट

पार्टी स्थापनाको ६ महिनमै मुलुकको चौथो ठूलो दल बन्न सफल रास्वपामा पछिल्लो जिम्मेवारी बाँडफाँटपछि रडाको मच्चिएको हो ।

नेपालभ्युज

जिम्मेवारी बाँडफाँटपछि रास्वपामा रडाको, रविले लीमालाई कोषाध्यक्ष बनाएपछि स्वर्णिम र तोसिमा रुष्ट

काठमाडौं । उन्नत र आधुनिक राजनीति गर्ने भन्दै अनायास उदाएर रातारात चम्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा रडाका मच्चिएको छ । पार्टी स्थापनाको ६ महिनमै मुलुकको चौथो ठूलो दल बन्न सफल रास्वपामा पछिल्लो जिम्मेवारी बाँडफाँटपछि रडाको मच्चिएको हो ।

जलेश्वरमा हालसालै सम्पन्न रास्वपाको केन्द्रीय समिति बैठकले ‘पार्टीको वैचारिक लाइन क्लियर’ गर्दै नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको थियो । लोकतन्त्र अंगालेर संघीयतालाई अस्वीकार गर्ने नीति अपनाएको रास्वपाले पार्टीको संगठानात्मक संरचना भने भद्दा बनाएको छ ।

तीन–तीनजना सहमहामन्त्री र सहप्रवक्ता राखेर पदाधिकारीको भाग मिलाएको रास्वपामा अहिले तनाव छ । ‘पद केही होइन, काम ठूलो कुरा हो’ भनेर आदर्शवादी भाषण छाँट्ने रास्वपाका नेताहरुमा जिम्मेवारी बाँडफाँटपछि चुलिएको असन्तुष्टि र विवाद सितिमिति साम्य हुनेवाला छैन ।

अहिले रास्वपामा सभापति, महामन्त्री र कोषाध्यक्ष मात्रै एक–एकजना छन् । यहाँ उपसभापति र सहकोषाध्यक्षसमेत दुई–दुईजना बनाइएको छन् ।

पार्टी महामन्त्री मुकुल ढकाल यसअघि नै पार्टी प्रवक्ताको जिम्मेवारीमा थिए । अहिले उनको जिम्मेवारी अरु नेतालाई पनि बाँडिएको छ । नेताहरु कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री नियुक्त गरिएको छ । कोषाध्यक्षमा लिमा अधिकारी चुनिएकी छिन् ।

त्यस्तै ढकाललाई प्रवक्ताको जिम्मेवारी पनि बाँडिएको छ । केन्द्रीय सदस्यहरु रमेश प्रसाईं, मनिष झा र प्रतिभा रावललाई सहप्रवक्ता तोकिएको छ । सामान्यतया सहप्रवक्ता राख्ने चलन हुँदैन । तर रास्वपामा तीनजना सहप्रवक्ता राखिएको छ ।

त्यस्तै उपसभापति र सहकोषाध्यक्ष पनि दुई–दुईजना बनाइएको छ । उपसभापतिको पहिलो वरीयतामा डोलप्रसाद अर्याल छन् भने दोस्रोमा स्वार्णिम वाग्लेलाई राखिएको छ ।

त्यस्तै सहकोषाध्यक्षमा दीपक बोहोरा र बसुमाया तामाङलाई नियुक्त गरिएको छ ।

रविले लीमा च्यापेपछि तोसिमा र सोविता रुष्ट

पछिल्लो समय रास्वपामा निकै सक्रिय दुई नेतृ हुन्, तोसिमा कार्की र सोविता गौतम । काठमाडौं र ललितपुरबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित उनीहरुलाई रास्वपा सभापतिले पदाधिकारीमा चयन गरेनन् ।

पार्टी स्थापनादेखि नै सक्रिय उनीहरुलाई किन यसरी उपेक्षा गरियो ? रास्वापाभित्र मात्रै होइन, आमजनताले पनि चासोपूर्वक हेरेका छन् । पार्टी सभापति रवि लामिछानेले पार्टीमा धेरै सक्रिय नभएकी लीमा अधिकारीलाई कोषाध्यक्ष बनाएर आफूहरुलाई जिम्मेवारीविहीन बनाएपछि सोविता र तोसिमा रुष्ट भएका हुन् ।

पार्टी बैठकले जिम्मेवारी बाँडफाँट गरेपछि रिसाएकी तोसिमाले सामाजिक सञ्जाल फेसबुकमा ‘विधिको शासन ?’ भनेर लेखिन् । उनको स्टाटसमा हजारौंले कमेन्ट गरेका छन् । कतिले उनीमाथि अन्याय भएको भन्दै सान्त्वना दिएका छन् त कतिले उल्टै उनको आलोचना गरेका छन् ।

उनको अभिव्यक्तिले प्रष्ट पार्छ कि– उनी नेतृत्वप्रति नराम्ररी रुष्ट छिन् । उनको स्टाटसले भन्छ– अन्त विधिको शासनको ठूलो कुरा गर्ने तर आफ्नै पार्टीभित्र चाहिँ लागू गर्नु पर्दैन ?

त्यस्तै, पार्टीको जिम्मेवारीप्रति तोसिमासँगै नेतृ सोविता गौतम पनि असन्तुष्ट छिन् । कुनै जिम्मेवारी नपाएसँगै चिडिएकी उनले कुनै सार्वजनिक अभिव्यक्ति त दिएकी छैनन्, तर उनले पार्टीभित्रै केही मित्रहरुसँग असन्तुष्टि व्यक्त गरिरहेकी छन् । पार्टी जिम्मेवारीको सन्दर्भलाई उत्साहपूर्वक सार्वजनिक नगर्नुले पनि उनको असन्तुष्टिलाई संकेत गर्छ ।

वरीयता नमिलेकोमा स्वर्णिम पनि असन्तुष्ट

तोसिमा र सोविता मात्रै होइनन्, पार्टीको जिम्मेवारी बाँडफाँटप्रति उपसभापति स्वार्णिम वाग्ले पनि असन्तुष्ट छन् । यसअघि नै ‘घुमाउरो पारामा आफू पार्टी सभापति हुन तयार रहेको’ अभिव्यक्ति दिएका वाग्लेलाई दोस्रो वरीयताको उपसभापति बनाइएको छ ।

पार्टी स्थापनादेखि नै आर्थिक सहयोग गर्दै आएका डोलप्रसाद अर्याललाई पहिलो वरीयताको उपसभापति बनाएपछि कांग्रेसबाट आएर प्रतिनिधिसभाको प्रत्यक्ष चुनाव जितिसकेका वाग्ले असन्तुष्ट भएका हुन् ।

महत्वाकांक्षी वाग्लेले पार्टी नेतृत्वसँग रिस उठे पनि सार्वजनिकरुपमा व्यक्त गरेका छैनन् । तर अहिले उनी पार्टीभित्रका असन्तुष्टहरुसँग छलफल भने गरिरहेका छन् । किनकि, जिम्मेवारी बाँडफाँटपछि रास्वपामा असन्तुष्टहरुको संख्या ह्वात्तै बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved