जाजरकोट भूकम्प : कठ्यांग्रिएर मृत्यु हुनेको संख्या १६ पुग्यो, सुत्केरी र वृद्धवृद्धा जोखिममा

तथ्यांकअनुसार भूकम्पपछि अहिलेसम्म चिसोका कारण जाजरकोटका १३ र रुकुमपश्चिमका ३ जनाको मृत्यु भएको छ ।

जाजरकोट भूकम्प : कठ्यांग्रिएर मृत्यु हुनेको संख्या १६ पुग्यो, सुत्केरी र वृद्धवृद्धा जोखिममा

सुर्खेत । जाजरकोटमा भूकम्पपछि त्रिपालमा रात बिताउँदै आएका १६ जनाको चिसोका कारण मृत्यु भएको छ ।

भूकम्पले घर भत्काएर त्रिपालमा बस्दै आएका जाजरकोटको बारेकोट गाउँपलिका–८ सेपुखोलाका ६० वर्षीया ऐभान कामीको गएराति मृत्यु भएको हो । यससँगै भूकम्पपछि चिसोका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

‘भूकम्पले घर भत्काएपछि त्रिपालमा बस्दै आउनुभएको थियो’, मृतक कामीकी भान्जी तारा नेपालीले भनिन्, ‘सामान्य ज्वरो आएको थियो, निधन भयो ।’

तथ्यांकअनुसार भूकम्पपछि अहिलेसम्म चिसोका कारण जाजरकोटका १३ र रुकुमपश्चिमका ३ जनाको मृत्यु भएको छ ।

जाजरकोटको नलगाड नगरपालिका– ८ सिमकी २५ वर्षीया सुत्केरी शर्मिला विक चदाराको शनिबार र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ जंगलगाउँकी ६२ वर्षीया नन्दकली पुनको आइतबार मृत्यु भएको थियो ।

भूकम्पपछिको चिसो कारणले रुकुम पश्चिम आठबिसकोट नगरपालिका– ११ की ८० वर्षीया पद्मी ओली र सोही वडाका ७० वर्षीय दत्ते कामीको पनि ज्यान गएको थियो । ओलीको ५ मंसिर र कामीको ३० कार्तिकमा ज्यान गएको हो ।

त्यस्तै चिसोका कारण जाजरकोटमा भेरी नगरपालिका– २ का हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुता पुन, नलगाड नगरपालिका– ८ टापुकी ७० वर्षीया विष्णुकुमारी खत्री, जुनीचाँदे गाउँपालिका– ४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका– १ रामीडाँडाका ७० वर्षीय डुमे पुन, छेडागाड नगरपालिका– १३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी र भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्कीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार चिसोका कारण बारेकोट गाउँपालिका– ४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपालबहादुर रावल, ४८ वर्षीया पम्फा रावल तथा कुसे गाउँपालिका– ५ की ६५ वर्षीया देवी मल्ल र वडा नम्बर ६ का ५५ वर्षीय गथु शाहीको मृत्यु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved