के केजरीवालको पतन सुरू भएकै हो ?

केजरीवालको उदयले भारतीय राजनीतिलाई मात्र हैन, दक्षिण एसियाभरिको वैकल्पिक राजनीतिलाई प्रेरित गरेको थियो । उनको असफलताले केवल आम आद्‌मी पार्टीलाई मात्र हैन, दक्षिण एसियामा वैकल्पिक राजनीतिको आन्दोलनलाई नै नोक्सानी हुन सक्नेछ ।

के केजरीवालको पतन सुरू भएकै हो ?

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यतिखेर अभूतपूर्व राजनीतिक तथा नैतिक संकट सामना गरिरहेका छन् । त्यसको मुख्य कारण हो— मदिरा अनुमतिपत्र घोटाला प्रकरणमा भारतीय प्रवर्तन निर्देशनालय ईडीको कारबाही ।

ईडी भारतको आर्थिक ऐन, कानून तथा अनुशासन नियामक निकाय हो । यो राजस्व विभागको एक शाखा हो, जसले आर्थिक अपराधविरुद्ध अनुसन्धान तथा कारबाही गर्दछ ।

केजरीवाल नेतृत्वको आम आद्‌मी पार्टीका तीन महत्त्वपूर्ण नेता मनीष सिसोदिया, सञ्जय सिंह र सत्येन्द्र जैन अहिले भ्रष्टाचारको आरोप र छानबिनको क्रममा जेलमा छन् । तीमध्ये दुई सिसोदिया र सिंह सन् २०२१ को मदिरा विक्री निजीकरणसम्बन्धी निर्णयको लागि छानबिनमा छन भने जैनमाथि सम्पत्ती शुद्धीकरणसम्बन्धी मुद्दा छ ।

सिदोदिया आम आद्‌मी पार्टीको दोस्रो नम्बरका नेता मानिन्थे । उनी केजरीवाल सरकारमा उपमुख्यमन्त्री तथा शिक्षामन्त्री थिए । उनको कालमा दिल्लीको सार्वजनिक शिक्षामा उल्लेखनीय सुधार भएको थियो । साथै उनको कार्यक्षमता र लगनशीलताको व्यापक प्रशंसा हुने गर्दथ्यो ।

सिंह पार्टीको तर्फबाट राज्यसभाका सांसद थिए भने जैन केजरीवाल सरकारका स्वास्थ्यमन्त्री ।

भारतीय राजनीतिमा केजरीवाल र आम आद्‌मी पार्टीको उदय नै सुशासनको मुद्दाबाट भएको थियो । केजरीवालले आफ्नो पार्टीलाई ‘कट्टर इमान्दारहरूको पार्टी’ दाबी गर्दै आएका थिए ।

आम आद्‌मी पार्टीको उदय सन् २०१२ को अन्ना हजारे आन्दोलनबाट भएको हो, जसको मुख्य मुद्दा जनलोकपाल विधेयक र भ्रष्टाचारको अन्त्य थियो । सुशासनको मुद्दाबाट उदाएको पार्टीका नेताहरू एकपछि अर्को गर्दै भ्रष्टाचारमा फस्नुले यो दलको छविमा धब्बा लागेको छ ।

हुन त केजरीवालले यसका लागि केन्द्र सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीलाई दोष दिँदै आएका छन् । भाजपा सरकारले राजनीतिक पूर्वाग्रहका कारण आफ्ना पार्टीका निर्दोष नेतालाई फसाएको केजरीवालको आरोप छ ।

यसबीच स्वयम् केजरीवालसमेत पक्राउ पर्नसक्ने हल्ला चलेको थियो । ईडी र सीबीआईले केजरीवालमाथि व्यापक छानबिन गरिरहका छन् । उनीमाथि मुख्यमन्त्री निवास बनाउँदा सरकारी स्रोतसाधनको दुरुपयोग गरेको आरोपसमेत छ।

तर, जनतामा संशय बढ्दै गएको छ । सरल र सादगीपूर्ण जीवनशैलीको पैरवी गर्दै आएका केजरीवालको मुख्यमन्त्री निवास प्रकरणमा जनस्तरबाटै पनि विरोध भएको थियो ।

दिल्लीपछि आम आद्‌मी पार्टीको प्रभाव र उन्नति पञ्जाबमा देखियो । सन् २०२२ को पञ्जाब विधानसभा चुनावमा आम आद्‌मी पार्टीले अनपेक्षित भारी बहुमत ल्यायो । त्यहाँ भगवन्त मानको सरकार छ । पञ्जाबको विजयले आम आद्‌मी पार्टी र यसका मुख्य नेता केरजीवालको छवि फेरि एकपटक आकासिएको थियो ।

कतिपय विश्लेषकले पञ्जाबको सफलतापछि आम आद्‌मी पार्टीको देशभरि तीव्र विस्तार हुने अपेक्षा गरेका थिए । तर, त्यस्तो भएन । त्यसपछि निर्वाचन भएका हिमाञ्चल र गुजरात प्रदेशमा पार्टीले अपेक्षित प्रदर्शन गर्न सकेन ।

हाल चुनाव भइरहेका मध्य प्रदेश, राजस्थान, तेलगंना, छत्तिसगढ र मिजोरममा पनि आम आद्‌मी पार्टीको पक्षमा उभार देखिएन । चुनावी नतिजाले के देखाउँछ, त्यो हेर्न बाँकी नै छ ।

भ्रष्टाचारका अतिरिक्त केजरीवालमाथि थप दुई राजनीतिक आरोप पनि छन् ।

पहिलो— उनी आफूलाई गहिरो लोकतन्त्र र स्वराजका पक्षधर ठान्दछन् । तर, १२ वर्ष यता उनी पार्टीको एकछत्र नेता छन् । अन्तर्पार्टी लोकतन्त्रको दुहाई दिने केजरीवालले स्वयम् आफ्नो पार्टीभित्र त्यसको प्रत्याभूति गराएका छैनन् । पार्टीका निर्णयमा उनको एकल हालिमुहाली र नायकत्व झल्किने गरेको आलोचकको भनाइ छ ।

दोस्रो— उनले आम आद्‌मी पार्टीलाई भाजपा र भारतीय राष्ट्रिय कांग्रेस दुवैको विकल्पमा एक राष्ट्रिय चरित्रको वैकल्पिक राजनीतिक शक्ति बनाउने दाबी गर्दै आएका थिए । तर, पछिल्लो चरणमा उनी विपक्षी गठबन्धनमा सामेल भएका छन् । गान्धी परिवार र राहुल गान्धीमाथि चर्को हमला गर्दै आएका केजरीवालको पार्टी अब कांग्रेस नेतृत्वको ३२ दलीय विपक्षी गठबन्धनको एक घटक हो ।

सम्भवत: आगामी लोकसभा चुनावमा विपक्षी इन्डिया गठबन्धनले देशभरि साझा उम्मेदवारी दिने छ । आम आद्‌मी पार्टी पनि त्यसैको हिस्सा हुनेछ ।

केजरीवाल उनी र उनका सहयोगीमाथि लगाइएका भ्रष्टाचारका आरोपको प्रतिरक्षा गर्ने गर्दछन् । तर, जब मुख्यमन्त्री निवास पुनर्निमाणमा ४५ करोड भारु खर्च गरेको आधिकारिक तथ्यांक सार्वजनिक भयो, उनका कुरा मान्छेले पत्याउन छोडेका छन् । भारतीय सञ्चारमाध्यमले यसलाई ‘शिशमहल घोटाला काण्ड’ भन्ने गरेका छन् ।

राजनीतिक सर्वेक्षणहरूले के देखाउँछन् भने यो काण्डपछि केजरीवालको छविमा व्यापक नोक्सानी भएको छ । उनी अब पहिलोजस्तो लोकप्रिय छैनन् । उनको दाबी जनता र मतदाताले पत्याउन छोडेका छन्।

केन्द्र सरकारले आफूलाई पूर्वाग्रह राख्ने र पक्षपात गर्ने गरेको याचक छवि निर्माण गरेर अहिलेसम्म केजरीवालले जनताको नजरमा आफ्ना कमजोरी लुकाउँदै आएका थिए । अब यो रणनीतिले काम गर्न छोडेको छ ।

केजरीवाल अलोकप्रिय हुँदै जानुको तेस्रो कारण पनि छ । दिल्लीको वायु गुणस्तर र शहरी प्रदुषण । यी मुद्दामा उनले कुनै उल्लेखनीय उपलब्धि हासिल गर्न सकेका छैनन् । उपलब्धि हासिल गर्न त परैको कुरा यी समस्यासँग कसरी लड्नपर्ने हो भन्ने उपाय नै फेला पार्न सकेका छैनन् ।

केजरीवालको उदयले भारतीय राजनीतिलाई मात्र हैन, दक्षिण एसियाभरिको वैकल्पिक राजनीतिलाई प्रेरित गरेको थियो । उनको असफलताले केवल आम आद्‌मी पार्टीलाई मात्र हैन, दक्षिण एसियामा वैकल्पिक राजनीतिको आन्दोलनलाई नै नोक्सानी हुन सक्नेछ ।

अहिले नै उनको राजनीतिक अवसान वा पतन भइसकेको निष्कर्षमा पुग्न त नसकिएला । तर, उनी आरोलो यात्रामा भएको संकेत भने पर्याप्त छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved