प्रसाईंको ओझेलमा युवा संघको प्रदर्शन, एमालेभित्रै असन्तुष्टि

माउपार्टी एमालेले स्वामित्व ग्रहण गरेको एउटा सरकारविरोधी आन्दोलनलाई ‘बेइमान व्यवसायी’को फण्डायुक्त प्रदर्शनसँग तुलना गर्ने स्थिति आउनु बिडम्बनापूर्ण सत्य हो ।

नेपालभ्युज

प्रसाईंको ओझेलमा युवा संघको प्रदर्शन, एमालेभित्रै असन्तुष्टि

काठमाडौं । बुधबार काठमाडौंमा बहुचर्चित दुई प्रदर्शन सम्पन्न भए । ‘नागरिक बचाउ अभियान’का नाममा व्यवसायी दुर्गा प्रसाईंले गरेको आन्दोलन र तीनकुनेमा नेकपा एमालेनिकट युवा संघले गरेको प्रदर्शनले धेरैको ध्यान खिचेको थियो ।

प्रसाईं र एमाले नेता एवम् युवा ईन्चार्ज महेश बस्नेतबीच बढ्दो वाकयुद्धको क्लाइमेक्सका रुपमा लिइएको प्रदर्शन सकिएसँगै धेरै प्रश्नको जवाफ मिलेको छ । खासगरी ‘७ गते के हुन्छ ?’ भन्ने ‘आतंकित प्रश्न’को पनि अन्त्य भएको छ ।

धेरैले प्रसाईं र बस्नेत पक्षबीच ‘खतरानाक घम्साघम्सी’ हुने आकलन गरेका थिए । सोही खतरालाई मध्यनजर गर्दै काठमाडौं जिल्ला प्रशासनले समेत दुई समूहलाई प्रदर्शनका लागि छुट्टाछुट्टै स्थान तोकिदिएको थियो । र, उनीहरुले त्यसैअनुसार प्रदर्शन गरे ।

यति हुँदाहुँदै पनि बल्खुमा दुई पक्षबीच सामान्य झडप हुनपुग्यो । तीनकुनेमा हुने प्रदर्शनमा आइरहेका युवा संघ कर्याकर्तालाई प्रसाईं समर्थकले ढुंगा हानेपछि केहीबेर स्थिति भड्किएको थियो । युवा संघ कार्यकर्ता साइड लागेपछि माहोल स्वतः शान्त भएको थियो ।

तर उक्त शान्तिपूर्ण आन्दोलनको माहोल धेरैबेर टिकेन । जब प्रसाईंका उग्र समर्थकहरु सुरक्षा घेरा तोडेर कालिमाटी छिर्न खोजे तब प्रहरी बल प्रयोग गर्न बाध्य भयो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हान्यो, पानीको फोहोरा फ्याँक्यो । त्यसपछि दिनभरजसो नै प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी चलिरह्यो ।

यता युवा संघको प्रदर्शन भने ‘शान्त’ रह्यो । युवा संघको आन्दोलनमा खासै नेताहरु गएनन् । पार्टीको उर्दी भएका कारण कार्यकर्ताहरुको भने राम्रै उपस्थिति रह्यो ।

यद्यपि, मान्छेहरुले युवा संघको आन्दोलनलाई दुर्गा प्रसाईंको प्रदर्शनसँग तुलना गरेर हेरे । माउपार्टी एमालेले स्वामित्व ग्रहण गरेको एउटा सरकारविरोधी आन्दोलनलाई ‘बेइमान व्यवसायी’को फण्डायुक्त प्रदर्शनसँग तुलना गर्ने स्थिति आउनु बिडम्बनापूर्ण सत्य हो ।

मान्छेको उपस्थितिका हिसाबले दुवैतिर राम्रै थियो । तर, जसरी हल्ला र चर्चा भएको थियो, त्यस्तो भएन । दलसँग रुष्टहरु र प्रसाईंका फ्यानहरुलाई लागेको थियो– लाखौं मानिस सडकमा उत्रने छन् । प्रदर्शनकारीहरु सिंहदरबार, राष्ट्रपतिनिवास शीतलनिवास र प्रधानमन्त्रीनिवास बालुवाटार छिर्नेछन् । नेताहरुलाई बाहिर निकाल्नेछन् । र, पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासबाट ल्याएर नारायणहिटीमा राख्नेछन् । अर्थात्, आजै राजतन्त्र फर्कनेछ ।

तर प्रसाईंको प्रदर्शनमा भएको उपस्थिति कमजोर नै हो । एउटा व्यक्तिले आह्वान गरेको आन्दोलनमा यति मान्छे आउनुलाई ‘राम्रो’ मान्न सकिए पनि हल्लाअनुसारको मास आउन सकेनन् ।

‘बैंकको पैसा तिर्नु पर्दैन’देखि ‘ठूलो एकादशीमा चारनारायणको दर्शन गराइदिने’सम्मको आश्वासन दिएर बटुलेका बुढापाकालाई बल्खुसम्म पुर्याउन प्रसाईंले गरेको मेहनत राम्रै थियो । जे होस्, फ्यानले गरेको अपेक्षाअनुसारको प्रदर्शन नभए पनि प्रसाईंलाई नेपाली राजनीतिमा स्पेस बनाउन यो प्रदर्शन सहयोगीसिद्ध भयो ।

यसरी हेर्दा, बुधबारको प्रदर्शनले प्रसाईंलाई फाइदै भयो । दिनभर भएको झडप र मिडियाका न्यूज अभरेजले पनि प्रसाईंको उचाइ झन् बढायो । तर, युवा संघका लागि उक्त प्रदर्शन हानिकारक भएको छ ।

उपस्थितिका हिसाबले औसत भएको युवा संघको आन्दोलन राजनीतिक हिसाबले ‘ब्याकफायरयुक्त’ भएको छ । युवा संघले एउटा मामुली व्यवसायीसँग टक्कर गर्नु नै लामजमर्दो थियो । तर महेश बस्नेतको जुँगाको साख जोगाइदिन खोज्दा एमाले नै कमजोर सावित भयो ।

अझ प्रसाईंलाई टक्कर दिन युवा संघले आन्दोलन गर्ने कुराले एमालेभित्रै विवाद भयो । धेरै कार्यकर्ताले ‘बस्नेतसँग एमाले सति जान नहुने’ तर्कसमेत गरे । अझ रातिराति महिलाहरु सुतेको ठाउँमा गएर थर्काएपछि त महेश बस्नेत र युवा संघप्रति जनआक्रोश झन् बढ्यो । सँगसँगै एमालेभित्रै पनि उक्त हर्कतको चर्को आलोचना भयो ।

बुधबारको प्रदर्शनका मामलामा एमालेभित्र प्रष्ट दुईधार निर्माण भयो । जसकारण प्रदर्शनमा नाम चलेका ठूला नेताहरु कोही पनि गएनन् । सामाजिक सञ्जालमा पनि कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved