धनगढीमा अनलाईन ठगी गर्ने गिरोहबाट ४७ लाख बरामद

नेपालभ्युज

धनगढीमा अनलाईन ठगी गर्ने गिरोहबाट ४७ लाख बरामद

 धनगढी । कैलालीस्थित धनगढीमा कार्यालय नै सञ्चालन गरेर अनलाईन ठगी गर्ने गिरोहबाट करिब ४७ लाख रुपैयाँ बरामद गरिएको छ । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ का विशाल सुनारको घरमा प्रहरीले छापा हानेकोमा ४६ लाख ९१ हजार ६८० रुपैयाँ बरामद गरिएको हो ।

बुधबार सुदूरपश्चिम प्रदेश प्रहरी अन्तर्गत प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) का प्रहरी सहायक निरीक्षक अनिल विष्ट र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायव निरीक्षक प्रकाश कडायत तथा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालको कमाण्डसहितको संयुक्त टोलीले सो गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख भरतबहादुर बोहराले धनगढीमा केही समय यता आई टी सेक्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरीङ, बीमा दुर्घटना लगायत प्रलोभवनमा पारी वैदेशिक रोजगारीमा गएका नागरिकहरु बाट ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।

नेपाल राष्ट्र बैँक, धनगढी नजिक कार्यालय नै स्थापना गरेर उनीहरूले बैँकका खाताहरू ह्याक गर्ने र विभिन्न ठगीका कामहरू गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । ठगी धन्दामा पक्राउ पर्नेमा मुख्य नाइके वर्षीय विशाल सुनार, डोटी सिखर नगरपालिका–१० का २१ वर्षीय प्रसान्त बलायर, भारतको दिल्ली पालङ्गाका ३२ वर्षीय अमित कुमार, भारत उत्तमनगर दिल्लीका २६ वर्षीय कुनाल शर्मा, भारत करोलबाग दिल्लीका २४ वर्षीय निखिल कुमार, भारतकै दिल्लीका १९ वर्षीय प्रियंसु टापु रहेका छन् ।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का २९ वर्षीय मिनबहादुर सुनार, २८ वर्षीय कमल सुनार र २२ वर्षीय जयराम सुनार रहेका प्रदेश प्रहरी प्रमुख बोहराले जानकारी दिए । अनलाईन ठगी गर्ने गिरोहका मुख्य योजनाकार भारतको दिल्ली बस्ने सूर्य सरदारले कञ्चनपुरका विशाल विकलाई चार महिनादेखि धनगढीको जिम्मा दिएका थिए । विकले धनगढीमा कार्यलय संञ्चालन गरी अन्य ८ जना लाई कर्मचारीमा नियुक्त गरेको पाईएको छ ।

प्रहरीले ४६ लाख ९१ हजार ६८० रुपैयाँसहित विभिन्न कम्पनीका ल्यापटप र मोबाइलसमेत बरामद गरेको छ । लेनोभो कम्पनीको ल्यापटप ९ थान, डेल कम्पनीको ल्यापटप २ थान, विभिन्न कम्पनीका मोबाइल ८ थान, हेडफोन १२ थान, किबोर्ड १ थान र वर्डलिङ्क कम्पनीको वाईफाई र राउटर १ थान बरामद गरेको जनाएको छ । नियन्त्रणमा लिएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भईरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved