आठबीसकोटमा राहतसँगै मृतकका परिवारलाई किरिया खर्च

नेपालभ्युज

आठबीसकोटमा राहतसँगै मृतकका परिवारलाई किरिया खर्च
फाइल तश्वीर

रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले राहतसँगै मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराएको छ । शुक्रबार राति जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परेका आठबीसकोट नगरपालिकाका पीडित परिवारलाई राहत सामग्री तथा मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराइएको हो ।

आठबीसकोटका ११, १२ र १३ नम्बर वडाका पाँच मृतकका परिवारलाई २५ हजारका दरले किरियाखर्च दिएको नगरप्रमुख रवि केसीले जानकारी दिए ।

उनका अनुसार अन्य ५६ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ । सोअन्तर्गत चामल, दाल, नून, तेल, चाउचाउ, बिस्कुटलगायत बस्नका लागि पीडित परिवारलाई त्रिपाल उपलब्ध गराइएको छ । मृत्यु भएका पाँच परिवारलाई आइतबार राहतसँगै किरियाखर्च उपलब्ध गराइएको हो ।

बाँकी मृतकका परिवारलाई आज प्रभावित क्षेत्रमा पुगेर राहतसँगै किरिया खर्च दिइने नगर प्रमुख केसीले जानकारी दिए । मृतकका परिवारको सङ्ख्या आठबीसकोटमा २४ रहेको छ । बाँकी १९ घरपरिवारलाई राहत सामग्री वितरण गरिए पनि किरियाखर्च दिन बाँकी रहेको उनले जानकारी दिए ।

आइतबारबाट सुरु गरिएको राहत वितरण कार्यक्रम जारी छ । नगरपालिकालाई विभिन्न ठाउँबाट सङ्घ संस्थाबाट राहत सामग्री आउने क्रम जारी रहेको नगरपालिकाको जिन्सी शाखा प्रमुख टेकबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार नगरपालिकालाई प्राप्त भएको राहत सामग्री प्राप्त गरेर प्रभावित क्षेत्रमा पठाउने गरिएको छ । राहत वितरणका लागि कर्णाली प्रदेशसभा सदस्य महेन्द्र केसी, जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतम लगायतको समूहले आठबीसकोटको भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गरिरहेको छ ।

भूकम्पले जिल्लाको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा मानवीय क्षतिसँगै भौतिक संरचना ठुलो क्षति पुर्‍याएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved