भारतद्वारा नेपाललाई राहत सामग्री हस्तान्तरण

नेपालभ्युज

भारतद्वारा नेपाललाई  राहत सामग्री हस्तान्तरण

 

काठमाडौं । गत शुक्रबार जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई सहयोगस्वरुप भारतले पठाएको १० करोड भारतीय रुपैयाँ बराबरको आपतकालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज आइपुगेको छ ।

भूकम्पपछि नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धताअनुरुप आज उक्त सामग्री नेपालगञ्ज आइपुगेको हो ।

भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यी राहत सामग्री कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा नेपालका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरे ।

आगामी दिनमा राहत सामग्रीका थप खेपहरु नेपाल आइपुग्ने अपेक्षा गरिएको छ । घनिष्ट मित्र र छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरुलाई हर सम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको दूतावासले जनाएको छ ।

संकटका बेला छिमेकी या अन्य मुलुकलाई सहयोगको हात बढाउन भारत सदैव अगाडि रहेको भन्दै दूतावासले २०७२ सालको भूकम्पपछि पनि भारतले नेपाललाई सहयोग गरेको स्मरण गरेको छ । त्यसबेला भारत सरकारले सहयोगका लागि सबैभन्दा सुरुमा तत्परता देखाएको भन्दै अपरेशन मैत्री नामक सबैभन्दा ठूलो विपद राहत कार्य सञ्चालन गरेको दूतावासले उल्लेख गरेको छ ।

भारतले आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा दीर्घकालीन सहकार्यको एक हिस्साको रुपमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो जसमा नेपालका गोरखा र नुवाकोट जिल्लाका ५० हजार घरहरुको पुनर्निर्माण कार्य समावेश थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved