गाजामा ‘मानवताविरुद्धको अपराध’ रोक्न युद्धविराम गर : एर्दोगान

नेपालभ्युज

गाजामा ‘मानवताविरुद्धको अपराध’ रोक्न युद्धविराम गर : एर्दोगान

अस्ताना । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गाजामा ‘मानवताविरुद्धको अपराध’ भइरहेको भन्दै इजरायल र हमासबीच तत्काल युद्धविराम गर्न आह्वान गरेका छन् ।

इजरायलसँगको युद्धको सामना गरिरहेका प्यालेस्टिनीहरूप्रति एर्दोगानले कडा समर्थन   जनाउँदै आएका छन् । अक्टोबर ७ मा युद्ध सुरु भएदेखि नै आफूलाई मध्यस्थकर्ताको रूपमा प्रस्तुत गरेका छन् ।

कजाकिस्तानको राजधानी अस्तानामा आयोजित तुर्क भाषी राष्ट्रहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै एर्दोगानले भने, “अक्टोबर ७ देखि हामीले देखेको क्रूरताको व्याख्या गर्न वा क्षमा गर्न सक्ने कुनै अवधारणा छैन ।”

उनले भने, “स्पष्ट शब्दमा भन्नुपर्दा गाजामा २८ दिनदेखि मानवताविरुद्धको अपराध भइरहेको छ ।”

“हाम्रो प्राथमिकता मानवीय युद्धविराम चाँडै स्थापित गर्नु हो,” उनले भने । “टर्कीले चाहे उनीहरू मुस्लिम, इसाई वा यहूदी नै किन नहुन् सबैको सुरक्षाको सुनिश्चितता गर्नेछ र यसका लागि नयाँ संयन्त्र बनाउने काम गरिरहेको छ ।

“अन्तर्राष्ट्रिय शान्ति सम्मेलनका लागि आधार तयार पार्ने हाम्रो प्रयास जारी छ,” उनले भने ।

गत अक्टोबर ७ तारिखमा हमासका लडाकुहरू एक्कासी इजरायलमा प्रवेश गरी गरेको आक्रमणमा एक हजार ४०० जनाको मृत्यु भएको र २४० भन्दा बढीलाई अपहरण गरेको इजरायली अधिकारीहरूले बताएका छन् ।

हमासद्वारा सञ्चालित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले प्यालेस्टिनी क्षेत्रमा भएको आक्रमणमा तीन हजार ७६० बालबालिकासहित नौ हजार ६१ जनाको मृत्यु भएको जनाएको छ ।

इजरायलले नागरिकलाई निशाना नबनाएको र अक्टोबर ७ मा भएको आक्रमणका लागि जिम्मेवार हमास लडाकू समूहलाई परास्त गर्न प्रयास गरिरहेको बताएको छ ।   एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved