आलेख

मान्यवर ! देश हिजैदेखि बर्बाद थियो

जतिबेला युरोपमा प्रजातन्त्रको लहर चल्दै थियो, हामी क्रमश: जहाँनिया शासनतिर जाँदै थियौँ । जतिबेला पश्चिममा औद्योगिक विकासको जग सुदृढ हुँदै थियो, हामी वर्ण व्यवस्थालाई प्रवर्द्धन गर्दै थियौँ । यसरी हाम्रा अनमोल सयौं वर्ष बर्बाद भए । के यो दूर्भाग्यका लागि हामी शाहवंशलाई त्यति सजिलै माफ दिन सक्छौँ ?

मान्यवर ! देश हिजैदेखि बर्बाद थियो

दशैं सकियो । यो सालको दशैंमा पनि एकथरिले पूर्वराजाको हातबाट टीका थापे, अर्कोथरिले राष्ट्रपतिको । हिजो नारायणहिटीको मखमली सत्तामा बसेर लुटको साम्राज्य चलाउनेहरू ख्वामित ज्ञानेन्द्रकहाँ पुगे । आज गणतान्त्रिक सत्ताको सिंहासन वरिपरि हुनेहरू पुगे शीतल निवास ।

त्यसो त मान्छेहरू शीतल निवास र निर्मल निवासमात्र पुगेनन् । पुगे अरु अनेक दरबार । ओली दरबार, देउवा दरबार, खनाल दरबार आदि इत्यादि । कोही भ्रमले पुगे, कोही सत्ताको साइनोले । कोही चाकडी गर्न पुगे, कोही षड्यन्त्र गर्न ।

यसरी, दरबारको दलान धाउनेहरूमा एउटा समान मनोविज्ञान थियो— आफ्ना ख्वामितको स्तुति ।

जस्तो पूर्वराजाको आँगनमा पुग्नेहरूले भक्तिगान गाउँदै भने, “मौसुफको निगाहमा हिजो देश स्वर्ग थियो, आज चौपट भयो ।” उता राष्ट्रपतिको आशीर्वाद लिनेहरू गुनगुनाउँदै थिए, “हिजो राजाहरूले देश नर्क बनाएका थिए, अहिले प्रभुको कृपाले सर्वत्र चंचलासिरी छ ।”

खासमा उनीहरू सबैको एउटै नारा थियो— प्रभुको जय हो ।

कुरा के हो ? के हाम्रो देश शाहकालमा स्वर्ग थियो र अहिले नर्क हुँदैछ ? अथवा के हाम्रो देश अहिले स्वर्ग छ र हिजो नर्क थियो ? के यो देश ओलीकालमा गजब थियो र देउवाकालबाट बेहाल भएको हो ? अथवा के प्रचण्डकालमा यो देश जगमग हुँदैछ र उहिले सत्यानास भएको थियो ?

तथ्य र सत्यको जगमा उभिएर हेर्दा लाग्छ, खासमा स्वर्ग र नर्कको यो भ्रम फगत सेवकहरूको हो । वस्तुतः नेपाल २६० वर्षयताबाट कहिल्यै स्वर्ग थिएन । यहाँको सत्ता राजनीति २६० वर्षदेखि निरन्तर चरित्रहीन, भ्रष्ट र पतित छ । र, त्यसैको अविच्छिन्न निरन्तरता अहिले हामीले भोगिरहेका छौँ ।

के शाहकाल स्वर्ग थियो ?

निश्चय नै अहिले देश असफलताको दुश्चक्रमा छ । त्यसोभए के शाहकालमा देश स्वर्ग थियो ? राजावादीहरूले दाबी गरेजस्तो यो देश न त शाहकालमा स्थिर, संस्थागत र सुदृढ थियो, न त शान्त र संयमित । न त उज्यालो थियो, न त उदार र सुशासित ।

तथ्यहरूले स्वयम् भन्छन्, “त्योबेला दरबारको स्तुतिबाहेक अन्यथा न त बोल्न पाइन्थ्यो, न त सपना देख्न । त्यो बेला एक हुल मान्छेहरू सत्ताको शिखरमा बस्थे र अरु सबै थिए रैती । अहिले हामी सत्ता राजनीतिको जस्तोखाले सामन्ती अहंकार देखिरहेका छौँ, यो हामीले शाहकालबाटै प्राप्त गरेको ऐतिहासिक विरासत हो ।”

चाहे शिक्षा, चाहे स्वास्थ । चाहे पूर्वाधार, चाहे जनजीविका । चाहे पछौटेपन, चाहे संरचनागत सिमान्तिकरण । अहिले हामी जुन गरिबीमा छौँ, यो हामीले शाहकालबाट प्राप्त गरेको ऐतिहासिक दुःख हो । तथ्यहरूले भन्छन्— शाहकाल नेपाली इतिहासको अँध्यारोकाल हो ।

संसारका प्राचीनतम् सहरहरू हजार वर्षको इतिहास बोकेर भव्यतापूर्वक उभिएका छन् । हाम्रा सहरहरूलाई सुकुम्बासी वस्तीजस्तो अव्यवस्थित र साँघुरा बनाउने काम कसले गर्‍यो ?

जस्तो अहिले संसारका अनेक विश्वविद्यालय एक हजार वर्षको इतिहास बोकेर उभिएका छन्, हामी सयवर्ष पनि पुगेका छैनौँ । शाहहरूलाई कसले रोक्यो २०० वर्ष अगाडि विश्वविद्यालय बनाउन ? विकास क्षेत्रैपिच्छे बडे-बडे दरबार बनाउने शाहहरूलाई कसले रोक्यो, त्यहाँ नाट्याशाला र सांस्कृतिक केन्द्रहरू बनाउन ? अथवा, कस्ले रोक्यो राम्रो अस्पताल बनाउन ? कसले रोक्यो राम्रो पार्क, पुस्तकालय र संग्रहालय बनाउन ?

संसारका प्राचीनतम् सहरहरू हजार वर्षको इतिहास बोकेर भव्यतापूर्वक उभिएका छन् । हाम्रा सहरहरूलाई सुकुम्बासी वस्तीजस्तो अव्यवस्थित र साँघुरा बनाउने काम कसले गर्‍यो ?

पृथ्वीनारायण शाहको (विसं १७७९-१८३१) राज्य विस्तार अभियान (युद्ध) ७२ वर्ष चल्यो । त्यो अभियानले हामीलाई भौगोलिकरूपमा एकीकृत देश दियो । अवश्य नै यो महत्त्वपूर्ण उपलब्धि थियो । तर, त्यसले न त हामीलाई सुदृढ, संस्थागत र जनमुखी सत्ता दियो, न त उदार, सुसंस्कृत र उत्तरदायी राजनीति ।

विसं १८२५ मा काठमाडौं उक्लिएको शाहवंश आफैँ अनेक षड्यन्त्रको रचना गर्दै गयो र स्वयम् षड्यन्त्रमा फस्दै गयो । इतिहासले भन्छ, “पृथ्वीनारायणपछिको हाम्रो पूरै शताब्दी युद्धकर, युद्ध रणनीति र भारदारी षड्यन्त्रमै बिते । कहिले राजा र उत्तराधिकारीको मनमुटाव, कहिले सौतेनी संघर्ष, कहिले भाउजू-देवर खटपट, कहिले भारदारहरूको काटमार ।

दरबारले न त आफूलाई निष्ठा र नैतिक सत्ताको केन्द्र बनायो, न त ज्ञानको । शाहकालमा विद्या, ज्ञान र निष्ठालाई यसरी अपमानित गरी सत्ताच्यूत गरियो कि सत्ताको केन्द्रमा गजधम्म बस्यो षड्यन्त्र । परिणाम त्यो समयका सबै देवान, काजी र चौतारियाहरू सत्ता संघर्षमा परे र सत्यानास भए ।”

अर्थात, कोत पर्व, भण्डारखाल पर्वको रचना उनीहरूले नै गरे ।

तथ्यहरू भन्छन्—जंगबहादुर स्वयम् शाही षड्यन्त्रको एउटा मोहरा थियो । जसले जहाँनिया शासनको सुत्रपात गर्‍यो । परिणाम, देशमा निर्मम र निकृष्ट सामन्तवादले फँडा उठायो । विश्वमा नागरिक अधिकार सुनिश्चित हुँदैगर्दा, हामी भने रैती बन्यौँ र अँध्यारोमा फस्यौँ ।

राजावादीहरू राजसंस्थाले देशलाई जगमग बनाएको चर्चा गर्दछन् । तर तथ्यहरूले भन्छन्, “त्यस्तो कहिल्यै भएन । उल्टो राजसंस्थाले एकीकरणपछिको सग्लो देशलाई भावनात्मकरूपमा एकताबद्ध, संस्थागत, सभ्य र सबल बनाउन कहिल्यै प्रयत्न गरेन । बरु फुटाउने र शासन गर्ने अनेक षड्यन्त्र भए ।

राजावादीहरू राजसंस्थाले देशलाई जगमग बनाएको चर्चा गर्दछन् । तर तथ्यहरूले भन्छन्, “त्यस्तो कहिल्यै भएन । उल्टो राजसंस्थाले एकीकरणपछिको सग्लो देशलाई भावनात्मकरूपमा एकताबद्ध, संस्थागत, सभ्य र सबल बनाउन कहिल्यै प्रयत्न गरेन । बरु फुटाउने र शासन गर्ने अनेक षड्यन्त्र भए ।

निश्चय नै एकीकरणले गोर्खाली वीरगाथा निर्माण गर्‍यो । राष्ट्रवादको गाथा रच्यो । पृथ्वीनारायण र बहादुर शाहको गाथा इतिहासमा अंकित भयो । तर, यो गाथा विस्तारै वंशवादको चाकरीमा फेरियो । ‘राजा नै देश, देश नै राजा’ । क्रमश: कुलिनहरूको रजगज चर्को हुँदै गयो ।

नागरिकलाई एकताबद्ध बनाउने, राज्यलाई संस्थागत गर्ने र विकासको जग हाल्ने काममा कुनै पनि राजाहरूको रुचि थिएन । रुचि थियो– फगत भोगविलास, सत्ता र षड्यन्त्रमा । त्यसैले एकीकृत नेपाल फगत भूगोलमा एकीकरण भयो, जनजनमा भावनात्मक एकता, विश्वास र सामाजिक सद्भाव प्रवर्द्धन गरिएन ।

परिणाम जतिबेला युरोपमा प्रजातन्त्रको लहर चल्दै थियो, हामी क्रमश: जहाँनिया शासनतिर जाँदै थियौँ । जतिबेला पश्चिममा औद्योगिक विकासको जग सुदृढ हुँदै थियो, हामी वर्ण व्यवस्थालाई प्रवर्द्धन गर्दै थियौँ । यसरी हाम्रा अनमोल सयौं वर्ष बर्बाद भए ।

के यो दूर्भाग्यका लागि हामी शाहवंशलाई त्यति सजिलै माफ दिन सक्छौँ ?

कतिपय मान्छेहरू राजा त्रिभुवनलाई प्रजातन्त्रका हिमायती ठान्दछन् । तर, के उनी साँच्चै प्रजातन्त्रप्रेमी थिए ? राजा त्रिभुवन प्रजातन्त्र चाहन्थे कि स्वयंको सर्वोच्चता ? अन्यथा, शक्तिशाली राजा त्रिभुवनले अर्को चुनाव गराउन ८ वर्ष किन लगाए ? त्योबीचमा किन राज्य र राजनीतिलाई स्थायित्व दिन मेहनत गरेनन् ? के दलहरूसँग मिलेर लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने उनको थोरै पनि जिम्मेवारी थिएन ?

केही मान्छेहरू राजा महेन्द्रलाई दूरदर्शी मान्दछन् । उनीहरू बिर्सिन्छन् कि पञ्चायत स्वयं षड्यन्त्र, राज्य दोहन र अस्थितरताको जननी थियो । उनकै कार्यकाल हो, जतिबेला चीन, भारत, सिंगापुर, मलेसियाहरू विकासको सगरमाथा चढ्दै थिए, हामी अक्करमा झर्दै थियौँ । जतिबेला संसारले स्वतन्त्रताको ढोका खोल्दै थियो, उनी यता ढोका बन्द गर्दै थिए ।

केही मान्छेहरू राजा महेन्द्रलाई दूरदर्शी मान्दछन् । उनीहरू बिर्सिन्छन् कि पञ्चायत स्वयं षड्यन्त्र, राज्य दोहन र अस्थितरताको जननी थियो । उनकै कार्यकाल हो, जतिबेला चीन, भारत, सिंगापुर, मलेसियाहरू विकासको सगरमाथा चढ्दै थिए, हामी अक्करमा झर्दै थियौँ । जतिबेला संसारले स्वतन्त्रताको ढोका खोल्दै थियो, उनी यता ढोका बन्द गर्दै थिए ।

महेन्द्रले निर्माण गरेको राज्य पञ्चहरूका लागि लुटको स्वर्ग थियो । परिणामत: त्यो स्वर्गमा रजगज गर्न स्वयं पञ्चहरूको मारामार थियो । त्यसैले लगभग ३० वर्षमा १६ वटा सरकार बने र ढले । दरबार स्वयंले गुट र गिरोह चलायो । प्रजातन्त्र चाहनेहरू अराष्ट्रिय तत्व भए । हाम्रो क्षमता औसत स्तरमै खुम्चियो । हामीले ज्ञान, विज्ञान, चेतना र सभ्यताको आफ्नै स्वतन्त्र आकास बनाउन सकेनौँ ।

०४६ सालमा प्रजातन्त्र आयो । तर दुखद् कुरा त के भने प्रजातन्त्रसँगै आउनुपर्ने थियो नयाँ सत्ता । आयो पुरानै विरासत । उही षड्यन्त्र, उही भ्रष्टाचार, उही अस्थिरता । परिणाम १७ वर्षमा (०४६-०६२) १६ वटा सरकार बने र ढले । ०६३ देखि आजसम्म आइपुग्दा थप १३ वटा सरकार बने र ढले ।

निश्चय नै हिजो परिवर्तनका आन्दोलनहरू भए । हिजो हामीले प्रजा हुन इन्कार गर्‍यौँ । तर, दुःख यो छ कि नेपालका सबैजसो जनआन्दोलनहरूले बेइमानहरूको विरासत तोड्न सकेनन् । अतः आज हामी जे भोगिरहेका छौँ, यो हिजो पनि थियो र आज पनि छ । यो ऐतिहासिक दूर्भाग्य हो र हामी पुस्तौंपुस्ता त्यसको सिकार भइरहेका छौँ ।

किन यस्तो भयो ?

किन यस्तो भयो ? हामी किन निरन्तर अस्थिरतामा फस्यौँ ? हामी किन निरन्तर दिशाहीनतामा फस्यौँ ? हामी किन निरन्तर भ्रष्टाचारमा फस्यौँ ? हामी किन निरन्तर अविकासमा फस्यौँ ? कसरी यस्तो भयो कि हामी बितेका २६० वर्षदेखि निरन्तर अन्धकारमा फस्यौँ ?

यो यसकारण भयो कि सत्ताको पाठशालामा पाठ्यक्रम थिए पुरानै । गुरु थिए इतिहासका उनै बादशाहहरू । मात्र समय फेरियो तर, सत्ताको रंग फेरिएन । हिजो सत्ताको केन्द्रमा थियो रक्तपात, आज छ अंकगणित । हिजो राजाका दरबारहरू षड्यन्त्रका केन्द्र थिए, आज दलका दरबारहरू षड्यन्त्र गर्दैछन् ।

यसको अर्थ के भने सत्ताको रूप फेरियो, चरित्र फेरिएन । हाम्रो लोकतन्त्रले षड्यन्त्रको परम्परागत विरासत भत्काउनै सकेन । कुनै पनि सत्ताको केन्द्रमा ‘पिपूल’ भएनन् । सत्तालाई राजनीतिको लक्ष्य ठान्नेहरूले आफ्नो लक्ष्य त पुरा गरे तर, नागरिकका सपनाहरू कहिल्यै पूरा भएनन् ।

उदाहरणका लागि नेपालमा सन् १९६३ बाट अर्थमन्त्रालयले काम गरिरहेको छ । यो ६० वर्षको अवधिमा अर्थले ४६ जना अर्थमन्त्री पायो । तर अर्थतन्त्र न त हिजो राम्रो थियो, न त आज । नेपालमा योजनाबद्ध विकासको अवधारणा सन् १९६५ बाट सुरू भयो । योजना आयोग बन्यो । तर, न त हिजो योजनाबद्ध विकासको प्रारम्भ भयो न त आज ।

नेपालमा भूमिसुधार हेर्ने मन्त्रालय छ । नाम छ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय । तर, हिजो झोडा फाड्नेहरू सत्ताको सिकार हुन्थे, आज सुकुम्बासीहरू । विसं १८७१ मा लाल ढड्डा र १८७९ मा मोठ ढड्डा बनाइ श्रेस्था व्यवस्थापन थालिएको हाम्रो भूमि अड्डामा सयवर्ष पुग्दा पनि श्रेस्ता अझै मिलेको छैन ।

विसं १९९७ मा खुलेको न्याय सेवामा (प्रधान न्यायालय) हिजो पनि न्याय पाउन मान्छेले अर्को जुनी कुर्नुपर्थ्यो, अवस्था आज पनि उस्तै छ । हामीसँग त्यसबेलादेखि नै शिक्षा मन्त्रालय थियो, तर विद्यालय थिएनन् । स्वास्थ मन्त्रालय थियो, अस्पताल थिएनन् । कृषि मन्त्रलयले कहिल्यै किसानको कुरा गरेन । र, सहकारी तथा गरिबी निवारण मन्त्रालय खुलेसँगै गरिबहरू सहकारीको फन्दामा पर्दै गए ।

अवश्य नै मान्छेलाई इतिहास नपढ्ने र विगतमा रमाउने छुट छ । तर, इतिहासलाई बंग्याउने छुट छैन । यसको अर्थ यो होइन कि हिजोका कमजोरीहरू देखाएर आजका कमजोरीलाई माफ दिनुपर्छ । अथवा आजका कमजोरीहरू देखाएर हिजोलाई स्वीकार गर्नुपर्छ । कुरा हो, अविछिन्न स्खलनको ।

हामीसँग विगत ६०/७० वर्षदेखि काम गरिरहेका अनेकौं मन्त्रालय र विभागहरू छन् । विश्वविद्यालय छ । परियोजनाहरू छन् । तर अवस्था उही छ, हिजो यावत् संरचनाहरूमाथि दरबारले हस्तक्षेप गर्थ्यो, आज दलले । हिजो राजाहरू गरिबी निवारणको कविता लेख्थे, आज नेताहरू भाषण गर्दैछन् । तर, ऋणको फन्दामा परेर बसाइ सर्नेहरू हिजो पनि थिए, आज पनि छन् ।

अवश्य नै मान्छेलाई इतिहास नपढ्ने र विगतमा रमाउने छुट छ । तर, इतिहासलाई बंग्याउने छुट छैन । यसको अर्थ यो होइन कि हिजोका कमजोरीहरू देखाएर आजका कमजोरीलाई माफ दिनुपर्छ । अथवा आजका कमजोरीहरू देखाएर हिजोलाई स्वीकार गर्नुपर्छ । कुरा हो, अविछिन्न स्खलनको । जो निरन्तर हाम्रा सपनाहरूमाथि सत्ताको अनियन्त्रित घोडा दौडाइरहेको छ ।

अतः आजका संकटहरू अगाडि राखेर झट्ट हेर्दा लाग्छ, आजका नेताहरू निकै खराब छन् । उनीहरू ठान्दछन्, “आफू स्वयं सम्राट हुँ ।” अर्थात, अहिले सत्ताको शिरमा जो बसेको छ, ऊ स्वयं सम्राटको नयाँ अवतार हो । तर यस्तो किन भयो ? कसले रोप्यो यो विषवृक्ष ? कुनैबेला काजी, चौतारिया र राजा साहेबहरूले त्यसलाई रोपे । राणहरूले मलजल गरे । पञ्चहरूले त्यसलाई हुर्काए । अहिले दलहरू त्यसलाई स्याहार्दै छन् ।

अर्थात, फोहोर हिजै थियो तर, कसैले सफा गरेन । शिरको फोहोर फाल्ने संकल्प गरेर उदाएको लोकतन्त्र स्वयं फोहोर हुँदै गयो । त्यसैले आजको मुख्य प्रश्न हो लोकतन्त्रलाई कञ्चन र उन्नत बनाउने प्रश्न ? अन्यथा, आजको फोहोर फाल्न हिजोको फोहोर थुपारेर कसरी हुन्छ । इतिहासको दुर्गन्ध छर्केर वर्तमान कसरी मगमगाउँछ ?

परिवर्तनको संकथन

माथि तर्क र तथ्यहरूमा उभिएर हेर्दा नेपाली राजनीतिमा आज तिनखाले प्रवृत्तिगत संकटहरू देखिन्छन् । पहिलो, व्यक्तिगत । दोश्रो, सम्वर्द्धनवाद र तेश्रो सर्वोच्चतावाद ।

आफ्नो स्तुतिगान सुनेपछि नेतालाई आफू ईश्वर वा पालनहार भएको भ्रम पर्छ । विष्णुको अवतार । त्यसपछि ऊ आफ्नो ईश्वरीय सत्ता जोगाउन आफ्ना दोष, दलाल र चम्चाहरूसहित षड्यन्त्रमा निस्कन्छ । त्यो परम्परा बन्छ । त्यो संस्कृति बन्छ । त्यो राजनीतिको धर्म बन्छ । त्यो सम्वर्द्धनवाद बन्छ ।

व्यक्तिवादको सबैभन्दा ठूलो कमजोरी नै यही हो कि मान्छेले आफूलाई शक्तिको केन्द्रमा स्थापित गर्दछ । स्वयंको अहंकारलाई जोगाइराख्न उसले आसेपासेहरू बनाउँछ । आसेपासेले उसलाई ईश्वर बनाउँछन् । उसको धुपधुवाँर सुरू हुन्छ । आशीर्वादले व्यापार चल्छ । दशैंमा टीका हुन्छ । र, तिनै मालिकको स्तुतिगान देश भक्तिको गीत बन्छ ।

आफ्नो स्तुतिगान सुनेपछि नेतालाई आफू ईश्वर वा पालनहार भएको भ्रम पर्छ । विष्णुको अवतार । त्यसपछि ऊ आफ्नो ईश्वरीय सत्ता जोगाउन आफ्ना दोष, दलाल र चम्चाहरूसहित षड्यन्त्रमा निस्कन्छ । त्यो परम्परा बन्छ । त्यो संस्कृति बन्छ । त्यो राजनीतिको धर्म बन्छ । त्यो सम्वर्द्धनवाद बन्छ । यो यस्तो विकृत अवधारणा हो, जसले पुनः जनताको अस्तित्वलाई ईन्कार गर्छ । जसले समयको गतिलाई अस्वीकार गर्छ । जसले आधुनिक सभ्यतालाई अस्वीकार गर्छ ।

सर्वोच्चतावादले स्वयंलाई सबैभन्दा माथि राख्छ । अर्थात संविधानभन्दा माथि । कानूनभन्दा माथि । प्रश्नभन्दा माथि । आलोचनाभन्दा माथि । ईश्वरसँगै । यसले जनमत, सामूहिकता र संस्थागत प्रणालीलाई अस्वीकार गर्छ । अर्थात् नागरिकको सार्वभौमिकता र सर्वोच्चता अस्वीकृत हुन्छ । राजनीति र सत्ताबाट नागरिक हराउँछन् । र, प्रभु पालनहारको अवतारमा उपस्थित हुन्छन् नयाँ ईश्वर ।

यसरी हेर्दा स्पष्ट छ, अहिले राजा वा नेताको नाममा जे भइरहेको छ, त्यो नयाँ ईश्वरको आविस्कार गर्ने प्रयत्न हो । त्यसपछि के हुन्छ, राजनीतिमा लोकतन्त्र सकिन्छ । पार्टी सदस्यहरू पुजारी बन्छन् । र, पार्टीहरू बन्दछन् मठमन्दिर । त्यसले विपरीत दुईटा प्रवृतिहरूलाई प्रवर्द्धन गर्दछ । पहिलो सत्ताधारीहरू अझ भ्रष्ट, निर्मम र निरंकुश बन्दै जान्छन् । दोश्रो जनतामा निराशा थपिँदै जान्छ ।

भन्न पर्दैन; निराश मान्छे या त पलायन हुन्छ, या त अराजक, या त विद्रोही हुन्छ । आज एकातिर सत्तामा लोकतान्त्रिक नैतिकता हराउनु र अर्कोतिर सामाजिक जीवनमा अराजकता देखापर्नु यो फगत संयोग मात्र होइन । यो हो हाम्रो असफलता । हो हामीले २६० वर्षदेखि प्राप्त गरेको ऐतिहासिक विरासतको एक भद्दा परिणाम ।

आजको बहस हो, ख्वामितको आँगनमा पुगेर स्तुतिगान गर्नेहरूबाट हाम्रो लोकतन्त्रलाई कसरी बचाउने ? यसलाई स्वयं आलोचनात्मक, परिणाममुखी र अग्रगामी कसरी बनाउने ? आजको बहस लोकतन्त्र कि राजतन्त्र हुँदै होइन । किनभने लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।

अतः आजको बहस ०८४ मा कसले निर्वाचन जित्ला भन्ने होइन । यो त सस्ता यूट्युबरहरूले गरेकै छन् । आजको बहस हो राजनीति कसरी गतिलो होला ? यो सत्ताको अनवरत दुश्चक्रबाट कसरी निस्केला ? राजनीति कसरी फेरिएला ? र, राजनीतिको केन्द्रमा जनता कहिले आउलान् ?

आजको बहस हो, ख्वामितको आँगनमा पुगेर स्तुतिगान गर्नेहरूबाट हाम्रो लोकतन्त्रलाई कसरी बचाउने ? यसलाई स्वयं आलोचनात्मक, परिणाममुखी र अग्रगामी कसरी बनाउने ? आजको बहस लोकतन्त्र कि राजतन्त्र हुँदै होइन । किनभने लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । आजको बहस हो सवल लोकतन्त्र । बन्धनरहित पूर्ण लोकतन्त्र ।

अथवा आजको प्रश्न ०८४ मा कुन पार्टीको सरकार बन्ला भन्ने पनि होइन । आजको बहस हो, सुसंस्कृत राजनीति, जनमुखी सत्ता र न्यायपूर्ण राज्य । जसले सत्ता, शक्ति र सम्पत्ति आर्जनको २६० वर्ष पुरानो दुश्चक्रबाट राजनीतिलाई बाहिर निकालोस् । जसले नागरिकमा नवीन आशा जागृत गरोस् । अन्यथा यो देश निराशहरूको भीड बन्नेछ । र, त्यसपछि यो फेरि रचनात्मक लयमा फर्किन अरु अनेक वर्षहरू लाग्नेछन् ।


Comment

One thought on “मान्यवर ! देश हिजैदेखि बर्बाद थियो

  1. तथ्य तथ्याङ्कको वुश्लेषण त देखिएन के आधार हो प्रष्ट गरे मानिसमा रहेको दुविधामा निराकरण हुन्थ्यो होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved